भेनेजुएलाका विपक्षी नेता गुएइदोको परिवारलाई धम्की

भेनेजुएला– भेनेजुएलाका विपक्षी नेता हुवाँ गुएइदोले राष्ट्रपति निकोलास मदुरोप्रति बफादार विशेष प्रहरीले आफ्ना परिवारजनलाई सोधपुछ गरेर मानसिक तनाब दिइरहेको बताएका छन् । गत हप्ता आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका ३५ वर्षीय नेता गुइएदोले आफूलाई पनि सुरक्षा चुनौती रहेको बताए । 

प्रहरीको विशेष टोलीले विपक्षी नेता गुइएदोको घरमा गएर उनकी श्रीमतीसँग सोधीखोजी गरेको बताइएको छ । गुइएदोले काराकास विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेकै वेला प्रहरी टोलीले उनकी श्रीमती फावियाना रोजालेससँग सोधीखोजी गरेको हो । 

राष्ट्रिय सभाका नेता गुइएदोको घोषणाले राष्ट्रपति मदुरोलाई ठूलो चुनौती भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । युरोपेली देशका सांसदले यसअघि नै गुइएदोलाई देशको कार्यबाहक प्रमुखको मान्यता दिँदै अगाडि बढ्न भनेका थिए । चीन, रुसलगायतका देशले भने निकोलासलाई नै मान्यता दिँदै विद्रोही नेता गुएइदोको विपक्षमा उभिएका छन् । 

विदेशी समुदायको समर्थन रहेकाले राष्ट्रपति मदुरोका विरुद्धमा विपक्षीहरुले भेनेजुएलामा देशव्यापी प्रदर्शन गरिरहेका छन् । मंगलबार मात्रै सर्वोच्च अदालतले गुएइदोलाई देश छाड्न प्रतिबन्ध लगाउँदै सम्पत्ति रोक्का पनि गरिएको जनाएको छ । 

लामो राजनीतिक संघर्षका कारण चरम आर्थिक संकट भोगिरहेको भेनेजुएलामा राजनीतिक द्वन्द्व थप बढेकाले पछिल्ला केही साता हिंसात्मक घटना पनि धेरै भएका छन् । विपक्षीले बहिष्कार गरेको निर्वाचनलाई नै वैध मानेर निकोलास मदुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेपछि विवाद थप चर्किएको हो । 





  • प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार १५:४४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया