राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दसैंको शुभकामना दिँदै राजेन्द्र लिङ्देनले देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता थेग्न नसक्ने बताएका छन् ।
दसैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै उनले आगामी निर्वाचनबाट देशलाई असफल नीति, असफल मार्गचित्र र असफल नेतृत्वको चक्रव्यूहबाट मुक्त गराउनुपर्ने बताएका छन् ।
‘निर्वाचन विगतका त्रुटि, कमीकमजोरी सच्याउने र नवीन नेपाल निर्माणको बाटो तय गर्ने अवसर पनि हो । देशलाई असफल नीति, असफल मार्गचित्र र असफल नेतृत्वको चक्रव्यूहबाट मुक्त गराउनैपर्छ,’ अध्यक्ष लिङ्देनले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
उनको शुभकामना सन्देश :
आजबाट नवरात्र प्रारम्भ भएको छ, असत्यमाथि सत्यको विजयको रुपमा मनाइने उल्लासमय पर्व बडा दशैंको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
हामी हाम्रा महत्त्वपूर्ण चाडपर्वसँगै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको माहौलमा प्रवेश गरिरहेका छौं । आगामी निर्वाचन केवल एउटा पार्टीको बिजय वा पराजयसँग मात्रै सम्बन्धित छैन । यो निर्वाचन विगतका त्रुटि, कमीकमजोरी सच्याउने र नवीन नेपाल निर्माणको बाटो तय गर्ने अवसर पनि हो । देशलाई असफल नीति, असफल मार्गचित्र र असफल नेतृत्वको चक्रव्यूहबाट मुक्त गराउनैपर्छ । हामीले हाम्रा सुनौला डेढ दशक सुधारको आशा र अपेक्षामा गुजार्यौं, अब देश र जनताले अर्को एउटा खराब परिस्थितिको प्रतिक्षा गर्नुहुँदैन । जनता जनार्दन निर्णायक हुने निर्वाचनका माध्यमबाट शान्तिपूर्ण परिवर्तन र सकारात्मक रुपान्तरणको फराकिलो राजमार्ग निर्माण गर्नैपर्छ ।
देवी भवानीले सबैलाई शक्ति, सामर्थ्य र विवेक प्रदान गरून् । सबैमा बडा दशैंको शुभकामना, सबैको जय होस् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।