शेखर समूहको धर्नामा सहभागी नेताहरू कसले के भने ?

नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षीय समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ । पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति भन्दै कोइराला पक्षधर नेता कार्यकर्ताहरूले बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका हुन् । 

धर्नामा सहभागी नेताहरूले आसन्न प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि समानुपातिकको बन्द सूचीमा संस्थापन पक्षले एकलौटी गरेकाले धर्नामार्फत खबरदारी गर्नुपरेको बताएका छन् । नेपाली कांग्रेसका नेता जगदीश नरसिंह केसीले पार्टीभित्र सबैलाई न्याय र समान अवसर हुनुपर्ने आफूहरूको मनसाय रहेको बताए । 

‘किनभने समानुपातिक सूचीमा जसरी नाम राखिएको छ । निर्वाचित नहुने गरी केही साथीहरूको नाम छ । त्यसको अर्थ नाम झुन्ड्याइदिएको छ, तर त्यो नाम निर्वाचित हुन सक्दैन,’ केसीले भने,‘त्यसको अर्थ के हो भने शेखर समूहको अथवा पार्टीको इतर समूहको समानुपातिकमा पनि कोही पनि निर्वाचित नहोस् र भोलि प्रत्यक्ष टिकट दिँदा पनि हरेक ठाउँमा त्यही ढङ्गले अन्यायपूर्वक निर्णय हुन थाल्यो भने त्यसलाई हामीले पार्टीका नेताहरूलाई सचेत गराएका हौँ ।’

उनले शेखर कोइराला पक्षका नेताहरूको नाम समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित नहुने गरी बन्द सूचीमा राखिएको बताए । उनले समानुपातिक बन्द सूचीमा रहेका नामहरू सच्याउनुपर्ने र प्रत्यक्ष मा टिकट दिँदा पनि संस्थापन इतर समूहलाई समान अवसर दिनुपर्ने आफूहरूको माग रहेको उल्लेख गरे । 

‘पार्टीभित्र त्याग, तपस्या, बलिदानी, निष्ठा, आदर्श, लोकप्रियता, जनप्रियता, जनताको बिचमा रहेका, टिकट दिँदा त्यस्ता मान्छेले पाउनुपर्छ । टिकट दिँदा कोही समूहका नाममा, आफ्नो मान्छेका नाममा बलजफती थोपर्नु हुन्न । टिकट दिँदा जनप्रिय मान्छे, चुनाव जित्न सक्ने मान्छे चाहिन्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने,‘समानुपातिक सूची नसच्याउने संस्थापन पक्षको एक भए हाम्रो दुई हुनुपर्‍यो । उहाँहरूको तीन भए हाम्रो चार हुनुपर्‍यो । यसरी सच्याउनुपर्छ भन्ने हाम्रो पार्टीलाई आग्रह हो । अनुरोध हो ।’

नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले समानुपातिक निर्वाचन प्रणालीको बन्द सूची हेर्दा संस्थापन इतर समूहलाई बाहिर राख्ने प्रयास गरेको देखिएको बताए । उनले बन्द सूचीको नाम नसच्याइएमा पार्टी सक्किने बाटोमा जाने बताए । उनले भने, ‘निर्णय प्रक्रियाबाट एउटा पक्षलाई बाहिर राख्ने प्रयास जस्तो देखियो । समानुपातिकको बन्द सूचीको लिस्टबाट । यसमा आम कार्यकर्ताको दबाब सच्याउनुपर्छ भन्ने छ । सच्याइएन भने यसले पार्टीलाई सकाउने बाटोमा लान्छ ।’



कांग्रेस नेता भूपेन्द्रजंग शाहीले नेपाली काँग्रेस कसैको व्यक्तिगत पार्टी नभएको टिप्पणी गरे । उनले पार्टीको अधिवेशनमा अरूलाई भोट दिएको आधारमा नेताहरूको राजनीतिक हत्या गर्न खोजिएको भन्दै यस्तो कामले पार्टीलाई कमजोर बनाउने बताए ।

‘समान अवसर र न्यायको खाँचो छ । यो कसैको व्यक्तिगत पार्टी होइन । यो पार्टीमा लाग्ने हरेकको यो पार्टीमा उत्तिकै अधिकार छ र हरेक कार्यकर्ताको मूल्याङ्कन हुन जरुरी छ । मापदण्ड बनाउनु जरुरी छ,’ शाहीले भने,‘हिजो त्याग गरेका मानिसहरूले अधिवेशनमा कसलाई भोट दिए, कसलाई भोट दिएनन् भन्ने आधारमा उनीहरूको राजनीति सक्न खोज्ने, उनीहरूको राजनीतिक हत्या गर्न खोज्ने, उनीहरूलाई किनारामा लाउन खोज्ने काम भइरहेको छ । यो कुराले नेपाली काँग्रेसलाई थप कमजोर बनाउँछ । पार्टीलाई बलियो बनाउन सक्दैन भन्ने हाम्रो कुरा हो ।’



उनले पार्टी भित्र हरेक कार्यकर्ताहरूको मूल्याङ्कन गर्ने मापदण्ड बनाउनु जरुरी रहेको बताए ।

  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार १६:२०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया