बझाङमा हुलाक बचत बैंकबाट पीडित भएकाहरूले जम्मा गरेको रकम फिर्ता पाउँदै

बझाङका हुलाक बचत बैंकबाट पीडितहरुले तीन वर्ष पछि आफ्नो जम्मा गरेको रकम पाउने भएका छन् । तत्कालीन जिल्ला हुलाक कार्यालयका प्रमुख रणबहादुर कडायत र खरिदार शिवराज उपाध्यायले बचत कर्ताको रकम हिनामिना गरेपछि बचत कर्ताहरूमा साँवा नै गुम्ने चिन्ता थियो । आर्थिक वर्ष २०७०/०७१ बाट आफ्नो सेवा सुरु गरेको बचत बैंकमा बझाङ जिल्लाका होटल व्यवसायी, महिला समूह, विभिन्न सहकारी, विद्यालय र व्यक्तिगत गरी १ हजार ७ सय १ जना बचत कर्ताहरूले झन्डै ५ करोड बढी जम्मा गरेका थिए । 

तत्कालीन कार्यालय प्रमुख रणबहादुर कडायत र खरिदार शिवराज उपाध्यायले कार्यालयको बचत किताबमा बचतकर्ताले जम्मा गरेको देखाउने तर रकम आफैँ चलाउने गरेका कारण रकम हिनामिना भएको थियो । रकम हिनामिना भएपछि बचत कर्ताहरूमा साँवा गुम्छ कि भन्ने चिन्ता थियो ।

बचत कर्ताहरूको बचत गरेको पैसा हुलाकको खातामा आई सकेको र अबको केही दिनमै उनीहरूको खातामा जम्मा गरिने जिल्ला हुलाक कार्यालयका प्रमुख राजेन्द्र बोहराले बताए । आर्थिक वर्ष २०७५/०७६ हिनामिना भएको साँवा ४ करोड ९५ लाख र हाल सम्मको ब्याजसहित ५ करोड ५९ लाख १४ हजार रुपैयाँ हुलाक कार्यालयमा आइसकेकाले दसैंपछि वितरण गरिने बोहराले बताए । हुलाक कार्यालयले एक सूचना जारी गर्दै बचत कर्ताहरूलाई चेक बुक, पास बुक, र खाता वालाको नागरिकताको प्रतिलिपिसहित साथमा ल्याउन अनुरोध गरेको छ । 

लामो समयपछि आफ्नो गुमेको रकम पाउने भएपछि बचत कर्ताहरू खुसी भएका छन् । डडेलधुराको अमरगढी नगरपालिका–५ का शिवराज पन्त लामो समयदेखि बझाङ सदरमुकाम चैनपुरमा होटल व्यवसाय गर्दै आएका छन् । होटलबाट भएको आम्दानीबाट बेलाबेला गरी ११ लाख बढी रकम हुलाक बचत बैंकमा जम्मा छ । पैसा पाउने खबर सुन्दा आफूलाई सपना जस्तै लागेको पन्तले बताए । 

जयपृथ्वी नगरपालिका–१० चैनपुरकी जानकी रोकाया पनि रकम पाउने भएपछि  खुसी भएकी छन् । ‘दूध बेचेर जम्मा गरेको पैसा धन्न डुबेको । चेक बुक लिएर पैसा लैजान आउनु भन्ने खबर पाएको छु’ उनले भनिन् । उनी मात्र हैन बचत गरेको रकम पाउने भएपछि बचत कर्ताहरू परिश्रमको पैसा कसै गरी खेर जाँदैन भन्नेमा विश्वस्त छन् । 

सरकारले आर्थिक वर्ष ०७५/७६ को बजेट सार्वजनिक गर्दै हुलाक बचत बैंकलाई खारेज गर्ने निर्णय गरेको थियो । साथै बैंकमा जम्मा भएको रकम खातासहित वाणिज्य बैंकमा सारिने निर्णय गरेको थियो । तर बझाङ हुलाक बचत बैकका बचत कर्ता भने बचत रकम नभएपछि साँवा गुम्ने चिन्तामा थिए ।



के हो हुलाक बचत बैकको रकम हिनामिना काण्ड ?

आर्थिक वर्ष २०७०/०७१ मा हुलाक बचत बैंकले बझाङमा आफ्नो सेवा सुरु गरेको थियो । तत्कालीन समयमा जिल्लामा कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक बाहेक अन्य बैंकहरू नभएको र आकर्षक ब्याज पाउने भएपछि बचत कर्ताहरू हुलाक बचत बैंकतर्फ आकर्षित भए । सेवा सुचारु भएसँगै बचत बैंकमा बचत कर्ताको भीड लाग्न थाल्यो । हुलाक बचत बैंकले बझाङमा आफ्नो सेवा सुरु गरेकै वर्ष करिब एक करोड भन्दा बढी रकम जम्मा भयो । बचत कर्ताहरू बढेसँगै तत्कालीन कार्यालय प्रमुख रणबहादुर कडायत र खरिदार शिवराज उपाध्यायको नजर बचत कर्ताको बचतमा पर्न थाल्यो । 



दुवै जना मिलेर कार्यालयको बचत किताबमा बचतकर्ताले जम्मा गरेको देखाउने तर रकम आफैँ चलाउने गरेका कारण रकम हिनामिना भएको हो । बैंकले सेवा सुरु गरेकै पहिलो वर्षमा उनीहरूले झन्डै ७५ लाख रुपैयाँ अपचलन गरेको देखिन्छ । बचतकर्ताले जम्मा गरेको रकम हरेक दिन बैंकमा जम्मा गर्नुपर्ने भए पनि दुवै जना मिलेर बाहिरका मानिसहरूसँग चर्को ब्याजमा लगाउने, घरजग्गा खरिद बिक्री गर्ने र बचत कर्ताहरू बचत फिर्ता वा ऋण माग्न बैंकमा आए व्यक्तिगत रूपमा खल्ती बाटै दिएर बैंक चलाउने गर्दै आएका थिए ।

कार्यालय प्रमुख र खरिदारको यो चर्तिकला थाहा पाएपछि बचतकर्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरे । अख्तियारमा उजुरी परेपछि अख्तियारको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले हुलाकका कार्यालय प्रमुख कडायत र खरिदार उपाध्याय माथि प्रारम्भिक छानबिन गर्‍यो । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले हुलाक कार्यालयका प्रमुख र खरिदार दुवै जनाले बचतकर्ताले जम्मा रकमको सुरक्षा गर्नुपर्ने र सहुलियत दिनुपर्ने ठाउँमा कर्मचारीले रकम अपचलन गरी उल्टै घाटा भएको भनिएकाले व्यापक अनियमितता भएको प्रतिवेदन अख्तियारमा पेस गरी सो सम्बन्धमा थप छानबिन गरी कारबाही अघि बढाउन पत्र पठायो । 

अख्तियारको टोलीले छानबिन गर्दा दुवै जनाले बचत कर्ताको ४ करोड ९५ लाख अनियमितता गरेको ठहर गरी कार्यालय प्रमुख कडायत र खरिदार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गर्‍यो । 

मुद्दा दर्ता भएपछि विशेष अदालतले २०७६ माघ २४ मा दुवै जनालाई नियन्त्रणमा लियो । तर अदालतले एक महिना नपुग्दै फागुन १२ गते तत्कालीन कार्यालय प्रमुख रणबहादुर कडायतसँग १५ लाख र खरिदार शिवराज उपाध्यायसँग १२ लाख धरौटी लिएर रिहा गरेको थियो । अहिले दुवै जनाको मुद्दा अदालतमा विचाराधीन छ । आरोपित धरौटीमा छुटेको एक वर्षभन्दा बढी भयो । पाँच करोड भ्रष्टाचार गर्नेलाई २७ लाख धरौटी लिएर छोडेको विशेष अदालतको निर्णयप्रति बचत कर्ताहरू सन्तुष्ट छैनन् । 

  • प्रकाशित मिति : असोज १४, २०७९ शुक्रबार ९:४१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया