१ माघ, २०८२ बिहीबार
Jan. 15, 2026

बझाङमा हुलाक बचत बैंकबाट पीडित भएकाहरूले जम्मा गरेको रकम फिर्ता पाउँदै

बझाङका हुलाक बचत बैंकबाट पीडितहरुले तीन वर्ष पछि आफ्नो जम्मा गरेको रकम पाउने भएका छन् । तत्कालीन जिल्ला हुलाक कार्यालयका प्रमुख रणबहादुर कडायत र खरिदार शिवराज उपाध्यायले बचत कर्ताको रकम हिनामिना गरेपछि बचत कर्ताहरूमा साँवा नै गुम्ने चिन्ता थियो । आर्थिक वर्ष २०७०/०७१ बाट आफ्नो सेवा सुरु गरेको बचत बैंकमा बझाङ जिल्लाका होटल व्यवसायी, महिला समूह, विभिन्न सहकारी, विद्यालय र व्यक्तिगत गरी १ हजार ७ सय १ जना बचत कर्ताहरूले झन्डै ५ करोड बढी जम्मा गरेका थिए । 

तत्कालीन कार्यालय प्रमुख रणबहादुर कडायत र खरिदार शिवराज उपाध्यायले कार्यालयको बचत किताबमा बचतकर्ताले जम्मा गरेको देखाउने तर रकम आफैँ चलाउने गरेका कारण रकम हिनामिना भएको थियो । रकम हिनामिना भएपछि बचत कर्ताहरूमा साँवा गुम्छ कि भन्ने चिन्ता थियो ।



बचत कर्ताहरूको बचत गरेको पैसा हुलाकको खातामा आई सकेको र अबको केही दिनमै उनीहरूको खातामा जम्मा गरिने जिल्ला हुलाक कार्यालयका प्रमुख राजेन्द्र बोहराले बताए । आर्थिक वर्ष २०७५/०७६ हिनामिना भएको साँवा ४ करोड ९५ लाख र हाल सम्मको ब्याजसहित ५ करोड ५९ लाख १४ हजार रुपैयाँ हुलाक कार्यालयमा आइसकेकाले दसैंपछि वितरण गरिने बोहराले बताए । हुलाक कार्यालयले एक सूचना जारी गर्दै बचत कर्ताहरूलाई चेक बुक, पास बुक, र खाता वालाको नागरिकताको प्रतिलिपिसहित साथमा ल्याउन अनुरोध गरेको छ । 

लामो समयपछि आफ्नो गुमेको रकम पाउने भएपछि बचत कर्ताहरू खुसी भएका छन् । डडेलधुराको अमरगढी नगरपालिका–५ का शिवराज पन्त लामो समयदेखि बझाङ सदरमुकाम चैनपुरमा होटल व्यवसाय गर्दै आएका छन् । होटलबाट भएको आम्दानीबाट बेलाबेला गरी ११ लाख बढी रकम हुलाक बचत बैंकमा जम्मा छ । पैसा पाउने खबर सुन्दा आफूलाई सपना जस्तै लागेको पन्तले बताए । 



जयपृथ्वी नगरपालिका–१० चैनपुरकी जानकी रोकाया पनि रकम पाउने भएपछि  खुसी भएकी छन् । ‘दूध बेचेर जम्मा गरेको पैसा धन्न डुबेको । चेक बुक लिएर पैसा लैजान आउनु भन्ने खबर पाएको छु’ उनले भनिन् । उनी मात्र हैन बचत गरेको रकम पाउने भएपछि बचत कर्ताहरू परिश्रमको पैसा कसै गरी खेर जाँदैन भन्नेमा विश्वस्त छन् । 

सरकारले आर्थिक वर्ष ०७५/७६ को बजेट सार्वजनिक गर्दै हुलाक बचत बैंकलाई खारेज गर्ने निर्णय गरेको थियो । साथै बैंकमा जम्मा भएको रकम खातासहित वाणिज्य बैंकमा सारिने निर्णय गरेको थियो । तर बझाङ हुलाक बचत बैकका बचत कर्ता भने बचत रकम नभएपछि साँवा गुम्ने चिन्तामा थिए ।

के हो हुलाक बचत बैकको रकम हिनामिना काण्ड ?

आर्थिक वर्ष २०७०/०७१ मा हुलाक बचत बैंकले बझाङमा आफ्नो सेवा सुरु गरेको थियो । तत्कालीन समयमा जिल्लामा कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक बाहेक अन्य बैंकहरू नभएको र आकर्षक ब्याज पाउने भएपछि बचत कर्ताहरू हुलाक बचत बैंकतर्फ आकर्षित भए । सेवा सुचारु भएसँगै बचत बैंकमा बचत कर्ताको भीड लाग्न थाल्यो । हुलाक बचत बैंकले बझाङमा आफ्नो सेवा सुरु गरेकै वर्ष करिब एक करोड भन्दा बढी रकम जम्मा भयो । बचत कर्ताहरू बढेसँगै तत्कालीन कार्यालय प्रमुख रणबहादुर कडायत र खरिदार शिवराज उपाध्यायको नजर बचत कर्ताको बचतमा पर्न थाल्यो । 



दुवै जना मिलेर कार्यालयको बचत किताबमा बचतकर्ताले जम्मा गरेको देखाउने तर रकम आफैँ चलाउने गरेका कारण रकम हिनामिना भएको हो । बैंकले सेवा सुरु गरेकै पहिलो वर्षमा उनीहरूले झन्डै ७५ लाख रुपैयाँ अपचलन गरेको देखिन्छ । बचतकर्ताले जम्मा गरेको रकम हरेक दिन बैंकमा जम्मा गर्नुपर्ने भए पनि दुवै जना मिलेर बाहिरका मानिसहरूसँग चर्को ब्याजमा लगाउने, घरजग्गा खरिद बिक्री गर्ने र बचत कर्ताहरू बचत फिर्ता वा ऋण माग्न बैंकमा आए व्यक्तिगत रूपमा खल्ती बाटै दिएर बैंक चलाउने गर्दै आएका थिए ।

कार्यालय प्रमुख र खरिदारको यो चर्तिकला थाहा पाएपछि बचतकर्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरे । अख्तियारमा उजुरी परेपछि अख्तियारको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले हुलाकका कार्यालय प्रमुख कडायत र खरिदार उपाध्याय माथि प्रारम्भिक छानबिन गर्‍यो । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले हुलाक कार्यालयका प्रमुख र खरिदार दुवै जनाले बचतकर्ताले जम्मा रकमको सुरक्षा गर्नुपर्ने र सहुलियत दिनुपर्ने ठाउँमा कर्मचारीले रकम अपचलन गरी उल्टै घाटा भएको भनिएकाले व्यापक अनियमितता भएको प्रतिवेदन अख्तियारमा पेस गरी सो सम्बन्धमा थप छानबिन गरी कारबाही अघि बढाउन पत्र पठायो । 

अख्तियारको टोलीले छानबिन गर्दा दुवै जनाले बचत कर्ताको ४ करोड ९५ लाख अनियमितता गरेको ठहर गरी कार्यालय प्रमुख कडायत र खरिदार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गर्‍यो । 

मुद्दा दर्ता भएपछि विशेष अदालतले २०७६ माघ २४ मा दुवै जनालाई नियन्त्रणमा लियो । तर अदालतले एक महिना नपुग्दै फागुन १२ गते तत्कालीन कार्यालय प्रमुख रणबहादुर कडायतसँग १५ लाख र खरिदार शिवराज उपाध्यायसँग १२ लाख धरौटी लिएर रिहा गरेको थियो । अहिले दुवै जनाको मुद्दा अदालतमा विचाराधीन छ । आरोपित धरौटीमा छुटेको एक वर्षभन्दा बढी भयो । पाँच करोड भ्रष्टाचार गर्नेलाई २७ लाख धरौटी लिएर छोडेको विशेष अदालतको निर्णयप्रति बचत कर्ताहरू सन्तुष्ट छैनन् । 

  • प्रकाशित मिति : १४ असोज, २०७९ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया