प्राकृतिक सम्पदाको दोहन हुँदा राज्य संयन्त्र मौन छ : पूर्वराष्ट्रपति यादव
फाइल तस्बिर

पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरूको दोहन हुँदासमेत राज्य संयन्त्र मौन रहेको भन्दै दुखेसो गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित १५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रकृति दोहनका कारण हिमालको हिउँ आवश्यक भन्दा धेरै पग्लिरहेको र यसले विभिन्न समस्या सिर्जना गरिरहेको बताए । 

‘अहिले क्लाइमेट इमर्जेन्सी छ संसारमा । ग्लोबल वार्निङ भएर हाम्रो हिमालको हिउँ पग्लिरहेको छ । अन्टार्कटिकाको हिउँ पग्लिरहेको छ । साइबेरियामा आगो लागिरहेको छ । वैज्ञानिकहरूले यसबारेमा चेतावनी दिइरहेका छन्,’ उनले भने, ‘अहिलेको संसारका कोही पनि नेतृत्वकर्ताहरुले यसमा चासो दिएका छैनन् । वैज्ञानिकहरू २२ औँ शताब्दीमा मानव सभ्यता नै मुस्किलमा पर्ने भनिरहेको छ । प्रकृतिलाई शोषण गरेकै कारण प्राकृतिक विपद्हरू निम्तिरहेका छन् ।’ 

पूर्वराष्ट्रपति यादवले नदीनाला दोहन, तराईका जंगलको विनाश, चुरे क्षेत्रको दोहन र चुन ढुंगा निकाल्ने बहानामा भइरहेको पहाडको दोहनका कारण प्राकृतिक विपद्हरू दिनप्रतिदिन बढी रहेको बताए । नेपालमा मात्रै नभई विश्वमा नै  क्लाइमेट इमर्जेन्सी, ग्लोबल वार्निङको समस्या रहेको बताउँदै उनले वैज्ञानिकहरूले प्राकृतिक श्रोत सम्पदाहरूको दोहन गर्दा आउन सक्ने परिणामको चेतावनी दिँदा समेत विश्वका नेतृत्वकर्ताहरुले जलवायु परिवर्तनको विषयमा कुनै चासो नदिएको बताए । 

पूर्वराष्ट्रपति यादवले प्रकृति दोहन गर्दा हाल जलवायु परिवर्तनको असर, खाद्यान्न अभाव, इन्धनको अभाव जस्ता समस्या बढी रहेको उल्लेख गर्दै यस्ता समस्याहरू समाधानका लागि विशेष योजना बनाएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे । उनले प्रकृतिको संरक्षण नगरे मानव सभ्यता नै धरापमा पर्ने अवस्था आइसकेको बताए ।

‘हाम्रै हिमालको हिउँ पग्लिरहेको छ । नदीनाला दोहन गरिरहेका छौँ । चुरे क्षेत्र समाप्त भइरहेको छ । तराईको जंगल समाप्त भएको छ । तर लिडरलाई मतलब छैन । चट्टान फोरेर चुनको लोभमा चुनढुंगा निकालेर प्रकृति समाप्त भइरहेको छ । जलवायु परिवर्तनको असर, खाद्यान्न अभाव, इन्धनको अभाव जस्ता समस्या बढी रहेका छन्,’ उनले भने । 

पूर्वराष्ट्रपति यादवले प्राकृतिक सम्पदाहरूको विनाशका कारण कोरोना लगायतका विभिन्न रोगहरू आइरहेको भन्दै प्रकृतिको संरक्षण गर्न सबै जुट्नुको विकल्प नरहेको बताए ।  





  • प्रकाशित मिति : असोज १४, २०७९ शुक्रबार १६:२३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया