Thu, 21 Feb, 2019


लघुकथा
श्रीमतीको फेसबुक
नीरा शर्मा
फरकधार / माघ १९, २०७५

नीरा शर्मा

धेरै दिनपछि उसलाई भेट्ने मौका मिलेको थियो । जोसँग अतितका केही प्रसंग जोडिएका हुन्छन्, ऊ पुरानो साथी हुन्छ । ऊ पनि मेरो पुरानो साथी । त्यसैले भेट्नु पनि मौकाको कुरा थियो । बीचबाट दिनहरू हिँडिसकेको हुन्छ, त्यसैले यस्तो बेला कफी टेबलमा आइपुग्छ अतित । कफीको कप टेबलमा आइपुग्नुभन्दा पहिले अतितका अनेक गफ आइपुगे । कफीको सुर्की मार्न थाल्दा त हामी अतितका प्रसंग उप्काएर हाँसोमा लटपटिइसकेका थियौं ।

त्यहीबेला उसको मोबाइल बज्यो । हिजोआज कफीटेबलमा पनि प्रायः मानिस मोबाइलमै हराउँछन् । यस्तो नहोस् भनेर हामीले कफीसप पुग्नुअघि नै नियम बनाएका थियौं– मोबाइल चलाउन नपाई । उसले मलाई पुलुक्क हेर्यो । म केवल मुस्कुराएँ । ऊ त्यो फोन उठाउन चाहन्थ्यो, उसका आँखाले प्रस्टै बोलिसकेका थिए ।

खल्तितिर हात पुर्याउँदै उसले सोध्यो– उठाउन पाइ कि नपाइ ? 

मैले हाँसेर भनेँ– उठाऊ उठाऊ, गर्लफ्रेन्डको हुन सक्छ ।

‘धत्... बूढीलाई कति माया गर्छु म । गर्लफ्रेन्ड बनाउने फुर्सद कहाँ छ यार,’ उसले स्पष्टीकरण दियो । यसो भनिरहँदा उसको अनुहारमा नक्कली हाँसो नाचिरहेको थियो । खल्तीबाट झिक्दाझिक्दै मोबाइलको घण्टी बन्द भो । तर, मोबाइल भने उसको हातमा आइसकेको थियो । 

मोबाइलको लक खोलेर उज्यालिएको स्क्रिनमा उसले आँखा दौडायो । अचानक उसको चेहरामा चमक आयो । सोचेँ, भर्खरै फोन गर्ने मान्छे सम्झेर हुनसक्छ । हुन त हिजोआज मोबाइलले मान्छेलाई बेलाकुबेला एक फरक दुनियाँमा पुर्याइराखेको हुन्छ । मोबाइलभित्रको भर्चुअल दुनियाँमा बाँच्ने एउटा अलग जिन्दगी हुन्छ धेरैको ।

‘सुन न, तिमीलाई एउटा कुरा सेयर गर्न मन भो ।’

‘हुन्छ’ मैले स्वाभाविक पाराले भनेँ, ‘कुरै सेयर गर्न त हामी कफी सपसम्म आएको, हैन त ?’

फुर्किंदै उसले भन्यो, ‘तर त्यसका लागि फेसबुक खोल्नुपर्छ ।’

‘फेसबुक चलाउने बहाना त होइन नि ?’ मैले पत्याएको थिइनँ । आखिर कफीटेबलमा फेसबुक सेसबुक नचलाउने सर्त जो थियो ।

‘धरोधर्म बहाना होइन,’ उसले कसम खायो । उसको यो ‘धरोधर्म’ भन्ने कसम स्कुलदेखिकै हो । अझैसम्म ताजै रहेछ । मेरो जवाफको प्रतीक्षा नगरी उसले फटाफट फेसबुक खोल्यो । 

केही रहस्यमय कुरा देखाउन खोजिरहेझैं फुर्ती देखिन्थ्यो उसको चेहरामा । छिटै नै एउटा मीठो मुस्कान फुल्यो उसको ओठमा । ऊ साहित्य र संगीत भनेपछि हुरुक्क हुने मान्छे । मलाई लाग्यो, कसैको कविता या गीत सुनाउन खोजिरहेछ । अथवा फेसबुके जोक वा फन भिडियो देखाउन खोजिरहेछ ।

‘वाह ! मैले जसलाई फ्रेन्ड रिक्वेस्ट पठाथेँ, उसकै रिक्वेस्ट कसरी आयो हँ ?’ उसले स्वतस्फूर्त धुनमा बोल्यो । मैले जवाफ दिन जरुरी ठानिनँ । तर मेरो उत्सुकता अब सेलाइसकेको थियो । ‘अचम्म भएन त ? मेरो क्यान्सिल गरेर मलाई नै पठाको होला, हगि ?’ म फेरि पनि केही बोलिनँ ।

‘हेर न, यो गीतकार हो । यो संगीतकार । अनि यी यो गायकले पनि पठाएछन् ।’ उसले फेसबुकमा फ्रेन्ड रिक्वेस्टको लिस्ट स्क्रोल गर्दै मलाई देखायो । मैले अलि तन्किएर हेरेँ, अरुचिपूर्वक । अचानक फेसबुकतिर कुरा मोडेको मलाई चित्त बुझिरहेको थिएन । तर उसका आँखाको चमक र अनुहारको रौनक देखेपछि कुनै टिप्पणी गर्न मन लागेन ।

फलानासँग कुरा गर्न पाए कति ठूलो मान्छे हुन्थेँ होला, अझ सँगै फोटो खिच्न वा सेल्फी लिन पाए कति भाग्यमानी हुन्थेँ भन्ने कुरा ऊ अक्सर गथ्र्यो । एकछिनलाई सोचेँ– ठिकै छ, फेसबुकले उसको रहर पूरा गरिदिँदै छ । 

उसले फटाफट फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गर्याे । अनि मलाई देखाउँदै म्यासेज गर्याे– हाई ! नमस्कार ! त्यही म्यासेज कपी गरेर उसले त्यहाँ देखिएका सबै सेलेब्रिटीलाई पठायो । तिनीहरूमध्ये एउटाको त जवाफ पनि तुरुन्त आयो– नमस्कार ! धन्यवाद हजुरलाई मेरो साथी हुनुभएकोमा । यतिखेर कहाँ हुनुहुन्छ ? के गर्नुहुन्छ ? आफ्नो बारेमा केही बताउनुस् न ।

अब भने मलाई यो खेल रोचक लाग्न थाल्यो । जवाफ आएको देखेर ऊ खुसीले नाँचुलाझैं गर्दै थियो । ‘हेर न, उसले सोध्दै छ । के गर्छु भनुँ ? कहाँ छु भनुँ ?’ उसले मलाई सोध्यो ।

‘जहाँ हो त्यहीँ भन । कफी खान आउनुस् भन न बरु,’ कति न जान्ने भएझैं मैले सिकाएँ ।

मैले सिकाएजस्तै उसले जवाफ लेख्यो– म बानेश्वरमा छु हजुर । म पनि कलमप्रेमी हुँ । समय भए आउनुस् सँगै कफी पिउन ।

सेन्ड बटन थिचेपछि ऊ पुलकित देखियो । मलाई पुलुक्क हेर्याे र फेरि फेसबुककै म्यासेन्जरतिर ध्यान एकोहोर्यायो । 

तुरुन्तै उताबाट ट्वांग अर्को म्यासेज आयो– ओहो तपाईंजस्ती सुन्दरीसँग कफी पिउन पाउनु त मेरो सौभाग्य नै हुन्थ्यो । तर, हेर्नुस् न मेरो दुर्भाग्य ! अहिले एकैछिनमा गीत रेकर्डिङ छ । भोलि कुनै समय भेटुम्ला नि है । फोन नम्बरचाहिँ दिइराख्नुस् न । उसको अनुहारको रङ एकाएक बदलियो । त्यो म्यासेज आँधी भएर आयो र उसको हंस उडाएर लग्यो । 

‘तपाईंजस्ती सुन्दरी रे ?’ लाज पचाउन खोज्दै उसले भन्यो, ‘के भन्छ यो ?’ तर उसले मलाई सोझो आँखाले हेर्न सकिरहेको थिएन । बिल्कुट बनावटी रिस प्रदर्शन गर्दै थियो । मैले भने कुराको मेसो पाइसकेको थिएँ ।

‘पख, पख । तिमीले कतै भाउजूको फेसबुक त खोलेनौ ?’ मैले स्थिति सहज बनाउन यो प्रश्न गरेको थिएँ । तर, ओठबाट फुत्किनासाथ चाल पाएँ, मैले उसलाई झन् लाजमर्नु पारिसकेको थिएँ । उसले श्रीमतीको फेसबुक खोलेको हुनसक्छ भन्ने कुरो मेरो दिमागमा आइसकेको थियो । मलाई थाहा थियो, अक्सर श्रीमानहरू श्रीमतीको फेसबुकमा कब्जा जमाउँछन् । कताकता यो सत्यप्रतिको विद्रोह पनि जम्जमाइरहेको थियो मेरो मनमा ।

मैले उसको हातबाट मोबाइल तानेर लिएँ । उसले कुनै प्रतिवाद गर्न सकेन । लज्जाले ऊ थकित, गलित भइसकेको थियो । मैले खुलेको फेसबुक प्रोफाइल हेरेँ । मेरो अनुमान सही निस्कियो, फेसबुक एकाउन्ट श्रीमतीको रहेछ । उसले मेरो हातबाट मोबाइल थुतेर लियो र तुरुन्त श्रीमतीको फेसबुक बन्द गर्यो । हतारहतार उसले आफ्नो फेसबुक लग इन गर्याे । उसले केही सोच्न सकिरहेको थिएन, हतासामा सबथोक गरिरहेको थियो ।

मैले घाँटी तन्काएर हेरेँ । उसको फेसबुकमा तिनै वरिष्ठ गीतकार, संगीतकार र गायकहरूलाई उसले पठाएको फ्रेन्ड रिक्वयस्ट स्वीकार नगरिएको अवस्थामा झुन्डिरहेको थियो । मैले यो तथ्य थाहा पाउनासाथ उसलाई झन् असह्य भयो । आफ्नो अस्तित्वमै पासो लागेझैं ऊ छटपटाएको म देखिरहेको थिएँ । 

उसले फेरि तत्कालै श्रीमतीको फेसबुक खोल्यो । तथानाम मुख छाडेर गाली गरेको म्यासेज उसले टाइप गर्याे । त्यै गाली कपी–पेस्ट गर्याे र सबैलाई पालैपालो पठाइदियो । अनि फेसबुकबाट नै सबैलाई पालैपालो ब्लक गरिदियो । उसलाई अझै शान्ति मिलिरहेको थिएन । 

मैले अर्को कप कफी मगाएँ । उसको छटपटी हेर्न किनकिन मलाई स्वाद लागिरहेको थियो । श्रीमतीको खाता बन्द गरेर उसले फेरि आफ्नो फेसबुक खोल्यो । त्यै गाली तिनीहरू सबैको म्यासेज बक्समा पेस्ट गर्दै पठाउन थाल्यो । अन्तमा, आफ्नोबाट पनि सबैलाई ब्लक गर्यो र लामो सास फेर्दै भन्यो, ‘साला, सब कुत्ताहरू !’ उसले मोबाइल कोटको खल्तीमा हाल्यो । उसका ओठ काँपिरहेका थिए र ऊ लगातार केही बर्बराइरहेको थियो ।

कफी आइपुग्यो । ऊ भने अझैसम्म पनि मलाई सोझो हेर्न सकिरहेको थिएन ।



यो पनि नछुटाउनुहोस्