ओझाको शतकमा रोड सेफ्टी वर्ल्ड सिरिजको उपाधि भारतलाई, श्रीलंका उपविजेता

दोस्रो संस्करणको रोड सेफ्टी वर्ल्ड सिरिजको उपाधि पनि इण्डिया लेजेन्ड्सले जितेको छ । गएराति भएको फाइनलमा श्रीलंकालाई ३३ रनले हराउँदै भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो । उसले गत संस्करणमा पनि श्रीलंकालाई नै १४ रनले हराउँदै उपाधि जितेको थियो ।

फाइनलमा भारतले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको श्रीलंका लेजेन्ड्सले १८.५ ओभरमा सबै विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । उसका लागि इशान जयरत्नेले ५१, महेला उडवत्तेले २६, जीवन मेन्डिसले २०, असेला गुणारत्नेले १९, कप्तान तिलकरत्ने दिलशानले ११ र उपल थरंगाले १० रन बनाए ।

भारतका लागि विनय कुमारले तीन, अभिमन्यू मिथुनले दुई, राजेश पवार, राहुल शर्मा, युसुफ पठान र स्टुअर्ट बिन्नीले एक/एक विकेट लिए । त्यसअघि रायपुरस्थित शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ रोजेको इण्डियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनायो । उसका लागि विकेटकिपर/ब्याटर नमन ओझाले शतकीय पारी खेले ।

७१ बलको सामना गरेका उनले १५ चौका र दुई छक्काको सहयोगमा अविजित १ सय ८ रन बनाए । उनले सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध ६२ बलमा सात चौका र पाँच छक्काको मद्दतमा अविजित ९० रनको पारी खेलेका थिए ।  

त्यस्तै, विनय कुमारले ३६, युवराज सिंहले १९ र इरफान पठानले ११ रन जोडे । सुरेश रैना र कप्तान सचिन तेन्दुलकरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । श्रीलंकाका लागि नुवान कुलसेकराले तीन इसरु उडाना र इशान जयरत्नेले एक/एक विकेट लिए । 





  • प्रकाशित मिति : असोज १६, २०७९ आइतबार ७:५९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया