Wed, 16 Oct, 2019


तीन दशकदेखि निरन्तर घन्टाघरका सारथि
फरकधार / माघ १९, २०७५

काठमाडौं– घन्टाघरको मूल घन्टी बज्छ, टङ...टङ...टङ लगातार आठपटक । आठपटक बजेको घन्टीले बिहानीको आठ बजेको जनाउ दिएको छ । 



मौसम चिसो नहुँदो हो त व्यस्त दैनिकीले छोपिसक्थ्यो, काठमाडौंलाई । मध्य पुसको मुटु कमाउने ठन्डीमा सिरकभित्रै गुटुमुटिएका छन्, अधिकांश काठमाडौंवासी । तर, बलम्बु निवासी गणेश सापकोटालाई भने चिसो मानेर सिरकमै गुटुमुटिने सुविधा छैन । 

सधैँझैँ सरासर आएर एकफेर घन्टाघरको शिरतिर आँखा पुर्याउँछन्, गणेश । सँगसँगै एक जोडी परेवा दिनचर्याका लागि बतासिन्छन् । घन्टाघरका घडीहरूको रेखदेखमा जुट्छन्, उनी । यो उनको दैनिकी हो । ३१ वर्षदेखि घन्टाघरमा राखिएका घडीहरूको स्याहारमा तल्लीन छन्, उनी । 

यसबीचमा ०७२ वैशाखको भूकम्पपछि घन्टाघरनजिकै रहेको रानीपोखरी र केही परको भीमसेन स्तम्भ (धरहरा) मृतप्रायः अवस्थामा पुगेका छन् । वीरस्तम्भ अर्थात् घन्टाघरले भने १५–१५ मिनेटको अन्तरालमा घन्टी बजाएर आफ्नो धर्म निर्वाह गरिरहेको छ । बरु सहरको बढ्दो कोलाहलले यसको आवाजको दायरा साँघुरो बनाइदिएको छ । 

                                                                                                      ०

घन्टाघर कहिले र किन जन्मियो, यसबारे गणेशले अनभिज्ञता देखाए । घन्टाघरको बाहिरी भित्तामा ‘श्री श्री श्री वीर शंसेर’लेखिएको छ । यसबाट घन्टाघर वीरशमशेरकै पालामा बनेको होलान् भन्ने लख काट्दै उनले भने, ‘तत्कालीन समयमा वीरले नै ब्रिटेनबाट ल्याए होलान् !’  

विसं १९५१ सालमा घन्टाघर निर्माण भएको इतिहास छ । आफूले जिम्मेवारी लिनुपूर्व कसको मातहतमा सञ्चालित थियो, यो कुरा पनि गणेशलाई थाहा छैन । ३८ सालमा आगलागी भएपछि घन्टाघरको पेन्डुलम हल्लिन छाड्यो । त्यसअघि घन्टाघरको आवाजमा ब्युँझिन बानी परेको काठमाडौं सुनसानजस्तै भयो ।

घन्टाघरका घडी नचल्ने भएर थन्किएको चाहिँ गणेशलाई राम्रैसँग थाहा छ । किनकि घडीको आवाजमा उनको दैनिकी पनि अभ्यस्त बनेको थियो । त्यसपछि त उनीलगायत घन्टाघर समयका आधारमा दैनिक क्रियाकलाप जोड्ने सबैको गतिविधि अस्तव्यस्त बन्यो । त्यसवेलासम्म काठमाडौंका मानिसले हातमा घडीको कल्पनासम्म गर्दैैनथे ।

 

घडी बन्द भएपछि घन्टाघरलाई कसैले फर्किएर पनि हेरेका थिएनन् । यसैबीचमा ४४ सालमा काठमाडौंमा सार्क सम्मेलन हुने भयो । त्यतिवेला घडी चलाउनु अपरिहार्य बन्यो । घडी बनाउन भनेर नेपालैभर मेकानिक खोजियो । तर, दुःखको कुरा कहीँ कोही फेला परेनन् ।

तिनताका गणेश त्रिचन्द्र क्याम्पसमै ‘इलेक्ट्रिसियन’को काम गर्थे । अन्तिम अवस्था भएपछि एक दिन विश्वविद्यालयका मानिस आएर गणेशलाई सोधे– ‘तिमी बनाउन सक्छौ त ?’ अब उनलाई आपत् पर्यो, कसरी सक्छु भन्नू । जबकि त्यतिन्जेलसम्म घन्टाघरभित्र कस्तो मेसिन छ भन्ने उनलाई अत्तोपत्तो नै थिएन । घन्टाघरको बाहिरी मुहार पनि राम्ररी नियालेका थिएनन्, घडी बजेको मात्र सुनेका थिए ।

‘सक्छु कसरी भन्ने, भित्र के छ कहिल्यै देख्न पाएको होइन,’ आँखीभौँ खुम्च्याउँदै गणेश सुनाउँछन्, ‘तैपनि सक्छु भन्ने मनमा लाग्यो । तर, विचार गर्छु भनेर जवाफ फर्काएँ ।’
सामान्य प्राविधिक ज्ञान भएको थाहा पाएरै होला, विश्वद्यिालयका मानिसका नजरमा उनी परेका । घडी बनाउन उनी कम्मर कसेर लागे । तर, त्यति सजिलै किन बन्थ्यो र ! ‘सजिलै बन्ने भएको भए किन बन्द गरेर राख्दा हुन्,’ आफैसँग सवाल–जवाफ गर्छन् उनी ।

‘घडी बनाउन नै भनेर १३ दिनसम्म दिन–रात लागेँ, यहीँ घरमा सुतेँ,’ घडी बनाउँदाको दुःख सम्झँदै उनले भने, ‘रात–दिन आफ्नो हातको घडी हेर्दै समयमा बज्यो कि बजेन भन्दै जाँचेर बनाएको हुँ ।’ त्यतिवेला भने हातमा घडी बाँध्ने चलन आइकेको रहेछ । 

अन्ततः हरेक दिन एक–एक कमजोरी पत्ता लगाएर उनले घडी चलाइछाडे । त्यतिवेलादेखि अहिलेसम्म घडी चलाउने जिम्मा उनकै भएको छ ।

‘फेरि यसमा प्राण भरिने थियो कि थिएन, म आइपुगेँ र चलिरहेको छ,’ गर्वका साथ भन्छन्, ‘अहिलेसम्म चलाइरहेको छु । यिनै घडीले मलाई इज्जत दिएको छ ।’

करिब–करिब मरिसकेको घन्टाघरलाई पुनर्जीवन दिएर यससँग अन्योन्याश्रित सम्बन्ध कायम गरेका छन्, गणेशले । 

कारुणिक दृष्य

बाहिरबाट हेर्दा कुनै घन्टाघरमा कमी–कमजोरी देखिँदैन । रंगरोगन पनि उस्तै चम्किलो छ । तर, पहिलो तला उक्लिएपछि ढोकाबाटै देख्न सकिन्छ, यहाँको दूराअवस्था ।

घन्टाघरको मूलढोका खोल्नासाथ एक हुल मलेवा गुँड छाडेर भुर्र उड्छन् । घडी र घन्टसम्म पुर्याउने साँघुरो भर्याङका पाइलैपिच्छे विभिन्न चराचुरुंगीका गुँड छन् । कुनै बन्दै गरेका नयाँ, कुनै भत्किन लागेका पुराना । केही गुँडमा एक दुईवटा सेता फुल चम्केका छन् । ती फुल जोगाएर भर्याङ उक्लिन मुस्किल पर्छ ।

भुइँतलादेखि माथिसम्म भत्किएका गुँड, मरेका परेवा र परेवाका बिस्टा तीन पत्र लागेको छ । लाग्छ, वर्षौंसम्म यहाँको भुइँले कुचो देखेको छैन । माकुराले जालो बुन्न कुनै कुनो छोडेको छैन ।

‘सरकारी क्षेत्रबाट पनि यसका लागि कुनै खर्च आउँदैन रे ! न त कलेजले नै मर्मत सम्भार भनेर रकम छुट्याउँछ,’ घडीको पेन्डुलमतिर हेर्दै सापकोटा गुनासो गर्छन्, ‘आफू एक्लैले स्याहारेर नहुने रहेछ, कतातिर मात्र भ्याउनू !’

सापकोटाका अनुसार अहिलेसम्म घन्टाघर मर्मतमा लागेको ठूलो खर्च भनेको १२ हजार मात्रै हो, एउटा दाँती फेर्न । त्यसबाहेक कहिलेकाहीँ तार र मोबिल खर्च लाग्ने सापकोटा बताउँछन् । त्यसो त घडीका पाटपुर्जा सजिलै पाइँदैनन् । केहीलाई सामान्य रूपमा अल्झाएको मात्र देख्न सकिन्छ, केही सामानमा भने अहिलेसम्म कुनै खराबी नआएको उनले बताए ।

‘वीरकै पालाको दाँतीले काम दिइरहेको छ, कहिलेकसो तारहरू फेर्न पर्छ,’ उनी भन्छन्, ‘बाहिरबाट त केही गर्नुपर्दैन, तर भित्रचाहिँ अवस्था सुधार्न पाए हुन्थ्यो ।’

त्रिचन्द्र क्याम्पसको आँगनमै भएर पनि अनाथ सन्तानजस्तो बनेको छ, घन्टाघर । न क्याम्पसलाई वास्ता छ, न त राज्यलाई नै । जे होस्, अहिलेसम्म ठूलो खर्च लागेको छैन र जेनतेन चलिरहेको छ । बरु सापकोटालाई नै घन्टाघरको माया लागेर आउँछ रे ! र त सानातिना सामग्रीमा आफैँले पनि पैसा खर्च गर्ने गर्छन् ।

सम्पदा संरक्षण भन्दै आवाज उठाउनेले धरहरा र रानीपोखरी मात्रै देखेको प्रति उनलाई दुःख लागेको छ । ‘कसैको माया र सहानुभूति पाउन घन्टाघर पनि ढल्नैपर्ने मासिनै पर्ने हो र ? वेलैमा स्याहार्न सकिँदैन ?’ आक्रोशमिश्रित प्रश्न गर्दै कुराकानी टुंग्याउँछन्, उनी ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्