नेपालीहरूको महान् चाड बडा दसैं मनाउन हरेक दिन घर जानेहरूको नयाँ बसपार्कमा उल्लेख्य भीड हुन्छ । काठमाडौंको नयाँ बसपार्कमा दसैं मनाउन घर जानेहरूको भीड लागेको हो । टिकट काट्न आउने र अग्रिम टिकट काटेका सर्वसाधारणहरू बिहानैदेखि नयाँ बसपार्क पुग्ने गरेका छन् ।
नयाँ बसपार्क क्षेत्रमा रहेका सर्वसाधारणहरू यातायात व्यवसायीहरूले व्यवस्थापकीय काम राम्रोसँग गर्न नसकेको गुनासो गर्छन् । बीच बाटोबाट सर्वसाधारणहरू लिएर जाने कतिपय सवारीसाधनका चालक र सहचालकहरूका कारण टिकट काटेका कतिपयले टिकट नपाइरहेको उनीहरूको गुनासो छ । यातायात व्यवसायीहरूले बसको टिकट छ भनेर काट्ने गरेको तर गाडी चल्ने बेलामा सिट नै खालि नरहेको यात्रुको गुनासो छ ।
बस व्यवसायीहरूले दोब्बर मूल्य भाडा लिएर रिजर्भमा पनि यात्रुहरूलाई ओसार्ने गरेको तर टिकट भने नदिएको यात्रुहरूको चर्को गुनासो छ । उनीहरूले सरकारले दसैंमा घर जानेहरूलाई बसको टिकटको लागि आवश्यक व्यवस्था नमिलाएको आक्रोश समेत व्यक्त गरेका छन् ।
यातायात व्यवसायीहरूले भने ‘अन द स्पोट’ आएर जसरी पनि घर जानै पर्ने भन्ने सर्वसाधारणका कारण यी समस्या आइरहेको बताउने गरेका छन् । पूर्वाञ्चल संयुक्त यातायातका कर्मचारी खगेन्द्र बस्नेतले आज टिकट काट्न आउने र जसरी पनि जानै पर्छ भन्ने सर्वसाधारणहरूले यस्तो समस्या हुने गरेको बताए । उनले टिकट काट्दा उभिएर पनि जान्छु भन्ने तर टिकट काटिसकेपछि टिकटमा अर्को मानिस राखेको छ भन्ने जस्ता कुरा गरेर भ्रम पैदा गरिरहेको बताए । यातायात व्यवसायीहरूले सकेसम्मको व्यवस्था मिलाइरहेको उनको तर्क छ ।
नवरात्र सुरु भएसँगै रोजगारी र अध्ययनको सिलसिलामा काठमाडौं आएकाहरू गाउँ फर्किरहेका छन् । यातायात व्यवस्था विभागले अग्रिम टिकट खुलाएर यातायातको सहज व्यवस्थापन गर्ने भने पनि यात्रुहरू भने अग्रिम काटेको टिकट पनि नपाएको गुनासो गरिरहेका छन् । नयाँ बसपार्क, गौशाला, कोटेश्वर लगायतका स्थानमा टिकट काटेर घर फर्किने यात्रुको लर्को देख्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।