दसैं-तिहारमा किन घुम्ने कर्णाली ?
प्रकाश अधिकारी
फरकधार / १८ असोज, २०७९

दसैं-तिहार मनाउन घरबाहिर भएका धमाधम फर्किने क्रम चलिरहेको छ । दसैं यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीय स्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडिओ लिने र टिकटकमा अपलोड गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दसैं बिदामा आउने कर्णालीवासी र प्रदेश बाहिरका पर्यटकको पर्खाइमा छन् यहाँका पर्यटकीयस्थल ।



नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष पदमबहादुर शाही मौसमका दृष्टिले पनि कर्णाली प्रदेशको यात्रा धेरै उपयुक्त रहेको बताउँछन् । 'दसैं बिदाको उपयोग, उपयुक्त हावापानी जस्ता कारण घुमफिरमा समय छुट्याउन सकिन्छ,' उनले भने, 'कर्णाली यस्तो प्रदेश हो, जहाँ अन्यत्र नभएका विशेषता यहाँ छन्, जसले पर्यटकको ध्यान आकर्षित गरेको पाइन्छ ।' 

निजी गाडीमा यात्रा गर्नेका लागि पर्यटकीयस्थल अवलोकनमा झन् सहज छ । नौलो विषयवस्तुको अध्ययन/अवलोकन आम मानिसको रूचि हो । कर्णालीमा यस्तै नौला–नौला दृश्य देख्न पाइन्छ । पर्यटन व्यवसायीसमेत रहेका शाही पछिल्ला वर्षयता कर्णाली पर्यटकका लागि एकपटक होइन, बारम्बार आउनुपर्ने क्षेत्रका रूपमा विकास हुँदै गएको बताउँछन् । चाडपर्वले झन् पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उनको विश्वास छ ।



रत्न राजमार्ग बाँकेको कोहलपुरबाट सुरु भए पनि कर्णाली प्रवेश भने सुर्खेत–बर्दिया सीमा क्षेत्र बबइबाट हुन्छ । बबईमा राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सनको सुरुङको निकास र विद्युत गृह बन्दैछ । विकासको लोभ लाग्दो संरचनाले गर्दा यो आयोजनाले धेरैको ध्यानाकर्षण गरेको पाइन्छ । रत्न राजमार्गका यात्रुले बबईमा रोकिएर यहाँको विकास हेरेर अघि बढ्छन् । 



वीरेन्द्रनगरमा काँक्रेविहार, बुलबुले ताल, घण्टाघर, सहिद पार्क पर्यटकीयस्थल हुन्। बिहानीपख देउती बज्यै मन्दिरमा दर्शनार्थीको भीड लाग्छ । देउती बज्यै प्रदेशकै मुख्य धार्मिक शक्तिपीठमध्ये एक हो । काँक्रेविहारको ढुंगैढुंगाको अनौठो कलात्मक शैलीले पर्यटकलाई मुग्ध पार्छ । रारा, जुम्ला, हुम्ला, दैलेख जाने पर्यटकका लागि सुर्खेतका यी स्थान रोजाइमा पर्छन् ।

सुर्खेत चेम्बर अफ कर्मशका अध्यक्ष चिन्तामणि शर्मा कर्णाली आउने पर्यटकका लागि सुर्खेत 'ट्रान्जिट प्वाइन्ट' भएको बताउँछन् । 'प्रदेश राजधानी भएकाले यहाँको पर्यटकीयस्थलमा चहलपहल बढी छ,' उनले भने, 'दसैंले गर्दा पनि आजभोलि होटल पनि भरिभराउ छन् । पर्यटकीयस्थलमा भीडभाड बढी देख्न सकिन्छ ।'

पर्यटकको आवागमन बढेसँगै सुर्खेतमा स्तरीय होटल थपिँदै गएका छन् । वीरेन्द्रनगरबाट दैलेखतर्फ अघि बढ्दा सुर्खेतको गोठीकाँडा, सिद्धपाइला र रातानाङ्ला स्थान बाटोमा पर्छन्। ती स्थानबाट सुर्खेत उपत्यकाको सुन्दर दृश्य देखिन्छ ।

दैलेखको गुराँसेमा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाइएको छ । यात्रुहरूको रोजाइ 'भ्यू टावर' पनि बन्ने गरेको छ । गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसी आफैंमा अग्लो स्थानमा रहेको गुराँसेको चिसो वातावरण र त्यसमाथि भ्यू टावरले पर्यटकलाई आनन्दित गराएको बताउँछन् ।

कर्णाली राजमार्ग र दैलेख–सुर्खेत सडक खण्डका यात्रुका लागि गुराँसे खाना–खाजा खाने ठाउँ पनि हो । 'खाजा खाने समयमै भ्यू टावरका साथै गुराँसेको अवलोकन गर्न पाउँछौं,' अध्यक्ष बिसी भन्छन्, 'यहाँ उत्पादित अर्गानिक खानेकुरा कर्णालीका यात्रु र पर्यटकले कहिल्यै भुल्दैनन् ।'

पञ्चकोसी क्षेत्र, कोतगढी, पञ्चदेवल, बेलासपुर मन्दिर मध्यपहाडी जिल्ला दैलेखका मुख्य पर्यटकीयस्थल हुन् । पानीमाथि आगाको ज्वाला बलिरहेको दृश्य हेर्न पञ्चकोसी क्षेत्रका शिरस्थान र नाभिस्थानमा पर्यटकको भीड लाग्ने गर्दछ । ऐतिहासिक क्षेत्र दुल्लू बाइसे चौबिसे शासनकालमा छुट्टै राज्य थियो । दरबारको भग्नावेश, पटांगिनी, कीर्तिखम्ब, नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेख, धर्मगद्धी, बालेश्वर यहाँका मुख्य आकर्षण हुन् ।

पञ्चकोसी दर्शन गरे जीवनमा पुण्य मिल्छ भन्ने जनविश्वासका कारण कोटिला, शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका घुमेर फर्किने गरिन्छ । दुल्लू नगरपालिकाका पूर्वप्रमुख घनश्याम भण्डारी पञ्चकोसी दर्शन गर्ने पर्यटकका लागि दुल्लू आउनै पर्ने स्थान भएको बताउँछन् ।

'पञ्चकोसीको गरिमा त वर्णन गरी साध्यै छैन । दुल्लू संग्रहालय बनाएका छौं । पुराना राजकाजसँग सम्बन्धित ऐतिहासिक तथ्यदेखि प्राकृतिक सम्पदाले दुल्लू सुन्दर नगरी छ,' उनी भन्छन्, 'दुल्लू आउने पर्यटकलाई दैलेख बजारसम्म जोड्ने प्रयास गरिरहेका छौं । विभिन्न जातिको उत्पति थलोको प्रचारप्रसार, प्रवर्द्धनको काम भइरहेको छ ।'

पूर्व नगर प्रमुख भण्डारीका अनुसार दैलेख जिल्लालाई विभिन्न ३६ जातजातिको उत्पति थलोका रूपमा दाबी गरिँदै आएको छ । कर्णाली राजमार्ग हुँदै कालीकोटको सदरमुकाम मान्म र पिली क्षेत्र अवलोकन गर्न सकिन्छ । पिली युद्ध पर्यटनले चर्चामा छ। त्यहाँ युद्ध स्मारक बनाइएको छ । राजमार्गबाट देखिने कर्णालीका सुन्दर बस्ती पर्यटकका लागि थप आर्कषण हुन् । 

जुम्ला खलंगास्थित प्रसिद्ध चन्दननाथ मन्दिर, सिञ्जा उपत्यका, तातोपानी, पातारासी हिमाल यहाँका गन्तव्यमा पर्छन् । तातोपानीमा नुहाए स्वास्थ्यलाभ हुने जनविश्वासले मुलुकका विभिन्न स्थानबाट मानिसहरू त्यहाँ पुग्छन् । विश्वकै अग्लो स्थानमा हुने धान खेती, मार्सी चामल, सिमी र स्याउले जुम्ला उत्तिकै प्रख्यात छ । सिञ्जा खस भाषाको उद्गम स्थल हो। नेपाली भाषाको अध्येताका लागि यो आउनै पर्ने गन्तव्य हो । 

जुम्लाको सिञ्जा उपत्यका हुँदै मुगु सदरमुकाम गमगढी पुग्न सकिन्छ । गमगढीबाट हिँडेर वा गाडीमा रारासम्म पुग्न सकिन्छ । यो नेपालकै ठूलो ताल हो। यहाँ पाइने स्नो–ट्राउट प्रजातिको माछा अन्यत्र कहीँ पाइँदैन। मौसम खुलेमा तालको पानीमा देखिने सप्तरंगले आगुन्तकलाई मोहित पार्छ ।

सुर्खेतदेखि करिब डेढ दिनको बस यात्रा वा सुर्खेत–नेपालगञ्जबाट सिधै मुगुको ताल्चा विमानस्थल पुगेर दुई घण्टा उकालो हिँडेपछि रारा पुगिन्छ। यहाँबाट छायाँनाथ हिमाल अवलोकन गर्न सकिन्छ। राराको अपार सुन्दरताबाट मोहित भएर तत्कालीन राजा महेन्द्रले २०२० सालमा 'स्वर्गकी अप्सरा' को उपमा दिएका थिए। यहाँ रारामा घोडासवार र बोटिङको आनन्द लिन सकिन्छ। 

मुर्माटपलाई राराको भ्यू टावर भनिन्छ । त्यहाँबाट राराको पूर्ण आकारको फोटो क्यामरामा कैद गर्न सकिन्छ । कर्णाली आउने अधिकांश पर्यटकको मुख्य गन्तव्य रारा ताल बनेको छ । मुगु र हुम्लाको सिमानामा चंखेली हिमाल छ । जुन हिमालको चित्र एक रूपैयाँको नोटमा राखिएको छ । हिन्दू, बौद्धहरूको तीर्थस्थल मानसरोवर पुग्न हुम्लाकै बाटो प्रयोग हुन्छ । बर्सेनि सयौँको संख्यामा भारतीय पर्यटक यहाँबाटै मानसरोवर पुग्छन् ।

नेपालकै अग्लो स्थानमा रहेको सदरमुकाम हो, हुम्लाको सिमकोट । यो समुद्री सतहबाट दुई हजार ९०० मिटर उचाइमा छ। सिमकोटबाटै पाँच दिन पैदल हिँडेर लिमी उपत्यका पुग्न सकिन्छ । जहाँ एक हजार वर्ष पुरानो हल्जी गुम्बा छ । हुम्ला विश्व तीर्थयात्री र मानसरोवरका लागि गतिलो प्रवेशद्वार हो ।

डोल्पामा सबैभन्दा गहिरो ताल शे–फोक्सेन्डो ताल छ । डोल्पामै प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर छ। शेफोक्सेन्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवा देख्न सकिन्छ। शे–फोक्सेन्डोबाट रारा पदयात्राका लागि राम्रो सम्भावना बोकेको क्षेत्र हो । तल्लो र माथिल्लो डोल्पा पदयात्राका लागि उपयुक्त मानिन्छ ।

माथिल्लो डोल्पा पदमार्गभित्र पर्ने नगलापास क्षेत्र अति रमणीय छ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती धो उपत्यका डोल्पामै पर्छ । त्यस्तै, रुकुम पश्चिममा डिगे्र साइ मन्दिर, स्यार्पु ताल, जाजरकोटको दरबार क्षेत्र तथा सल्यानमा कुभिन्डे दह, छायाँक्षेत्र, खैरावाङ भगवती देवी मुख्य पर्यटकीयस्थलमा पर्छन्। यी स्थान आन्तरिक पर्यटकको चाप भइरहने क्षेत्र हुन् । 

विकास पर्यटनको ढोका

कर्णालीले विकास पर्यटनको ढोका पनि खोलेको छ । सुर्खेतमा निर्माणाधीन भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाले पनि विकास पर्यटनको सम्भावनालाई उजागर गरिदिएको छ। भेरी बबई हेर्नकै लागि मुलुकका विभिन्न स्थानबाट शैक्षिक एवं अध्ययन भ्रमणका लागि दिनहुँ आउने गर्छन् ।

छिञ्चु–जाजरकोट सडक खण्डमा अवस्थित भेरीगंगा नगरपालिकाको चिप्लेमा आयोजनाकै बाँधस्थल बन्दैछ । नदी डाइभर्सन, बाँध निर्माण कर्णालीका नौला संरचना हुन् । विकास अवलोकन गर्नेहरूको रोजाइको क्षेत्र हो यो । 

कर्णालीमा सञ्चालित अन्य ठूला पूर्वाधारका आयोजनाले पनि विकास पर्यटनको सम्भावना बढाइदिएका छन् । पश्चिम सुर्खेतको तातापानी जामु कुइनेमा कर्णाली नदीमाथि बनेको लामो पुलले पनि धेरैको ध्यान तानेको पाइन्छ । जामु कुइने भेरी र कर्णाली नदीको संगमस्थल हो । दैलेखको शिरस्थानमा चिनियाँ कम्पनीले पेट्रोलियम पदार्थ उत्खनन् गर्दैछ ।  चिनियाँ कम्पनीका क्याम्प र ड्रिलिङ कार्यको अवलोकन गर्न सकिन्छ । 

प्राकृतिक सुन्दरता मात्र होइन, हिमाली जनजीवन, कला संस्कृति, वेषभूषा पनि सांस्कृतिक पर्यटनका हिसाबले कर्णाली धनी छ। कर्णालीकै अल्पसंख्यक थारू, राजी समुदायको सुर्खेतमा बसोबास छ । वीरेन्द्रनगर उपत्यकामै थारू संस्कृतिको अवलोकन गर्न सकिन्छ। थारू समुदायले घरवास पर्यटन (होमस्टे) पनि सञ्चालनमा ल्याएका छन् ।

दैलेखको पूर्वी भेगमा दक्षिण एसियाकै लोपोन्मुख आदिवासी राउटे जातिको बसोबास छ । फिरन्ते राउटेलाई कर्णालीका गहना भन्ने गरिन्छ । राउटेसँग साक्षात्कार गर्न, संस्कृति अवलोकन गर्न आउनेहरूका लागि पनि उपयुक्त मौसम हो । यति बेला राउटे भेट्न दैलेख सदरमुकामबाट मध्यपहाडी राजमार्ग हुँदै भगवतीमाई गाउँपालिकाको मन्घर पुग्नुपर्छ ।

कर्णाली मुलुककै सबैभन्दा लामो नदी र यसको उत्पत्तिस्थल मानसरोवर भएर प्रदेश गरेको छ । खसहरूका कूलदेवता मष्टोको उत्पत्ति पनि यही मानसरोवर क्षेत्र भएर कर्णाली हुँदै विश्वभर फैलिएको पुराना ग्रन्थ एवं विभिन्न खोज अनुसन्धानमा उल्लेख गरिएको पाइन्छ ।

नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष शाही भन्छन्, 'प्रवर्द्धनका विभिन्न माध्यमबाट कर्णालीका पर्यटकीय सम्भावनाहरू उजागर भइरहेका छन् । दसैं बिदामा आउनेहरू नयाँनयाँ गन्तव्यमा रमाइरहेको दृश्य सामाजिक सञ्जालबाटै थाहा पाइरहेका छौं । पर्यटन प्रवर्द्धनका लागि यो खुसीको कुरा हो ।'

साथै छिञ्चु–जाजरकोट–डोल्पा हुँदै भेरी करिडोर र कालीकोट हुँदै हुम्ला जोड्ने कर्णाली करिडोर निर्माणले तीव्रता पाउन सके पर्यटकलाई धेरै सहज हुने उनको धारणा छ । –रासस

  • प्रकाशित मिति : असोज १८, २०७९ मंगलबार १४:९:८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया