\
दसैं मनाउन छोडेर लमजुङका अलैंची किसान अलैंची टिप्ने र सुकाउन व्यस्त छन् । अलैंची टिप्न सहरबजार झरेका गाउँ फर्केका छन् ।
सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत स्थानीय पनि गाउँ पुगेर अलैंची टिप्ने र सुकाउने कार्यमा व्यस्त रहेका हुन् । गाउँका बूढापाका, बालबालिका तथा युवायुवती अलैंची टिप्न र सुकाउन लागेका छन् । जंगलका अलैंची बगानदेखि गाउँका अलैंची सुकाउने भट्टीसम्म कृषकको जमघट छ ।
असोज महिना सुरु भएयता अलैंची टिप्ने र सुकाउने काममा खटिएका उनीहरूले तिहार अगावै सबै सुकाएर बिक्रीका लागि तयारी अवस्थामा पुर्याउने योजना बनाएका छन् । गाउँमा अलैंची खेती हुन थालेपछि उनीहरूले दसैं मान्न छोडेका छन् ।
अलैंची पाकिसकेकाले सबै किसान अलैंची बारी र भट्टीमा रहेको किसान आइतराम तामाङ बताउँछन् । पाकिसकेको अलैंची समयमा टिपिएन भने विस्तारै ढुसी बढ्ने उनको भनाइ छ ।
छिनखोलामा ५५ घर छन् । अहिले सबै घरमा मानिसको बसोबास छ । विकट ठाउँ भएकाले शिक्षा, स्वास्थ्य लगायत विकासको अभावमा बसाइँसराई हुँदा गाउँ रित्तिएको थियो । ‘यति ठूलो गाउँ भए पनि सवै बसाई सरेर १५ घरमा झरेको थियो’ अगुवा कृषक लालबहादुर तामाङले भने, ‘अहिले त सबै गाउँ फर्केका छन् । सबैले अलैंची खेती गरेका छन् । रमाइलो भइरहेको छ ।’
युवा कृषक बलराम लामाका अनुसार अलैंचीले गर्दा युवाहरू विदेश जानबाट रोकिएको छ । विदेश गएकाहरू पनि गाउँ फर्केर अलैंची खेतीमा लागेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।