धनुषामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

धनुषामा बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनकपुरधामस्थित महेन्द्र नारायण निधि प्रतिष्ठानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

धनुषामा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलले पाएका छन् । उनले क्षेत्र नम्बर–३ को निर्वाचन अधिकृतको जिम्मेवारीसमेत सम्हाल्नेछन् । धनुषाको चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिएको छ । 

क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय धनुषाधाममा स्थापना गरिएको छ भने क्षेत्र नम्बर २ को कार्यालय तिनकोरिया चोकमा, क्षेत्र नम्बर ३ को कार्यालय जनकपुरधाममा र क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालय महेन्द्रनगरमा स्थापना गरिएको छ । चार वटै क्षेत्रमा स्थापना गरिएको कार्यालयको उद्घाटन एकै दिन मुख्य निर्वाचन अधिकृत प्याकुरेलले गरेका हुन् ।

क्षेत्र नम्बर–१ मा कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयका उपसचिव उत्तम प्रसाद खरेल, क्षेत्र नम्बर–२ मा जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता धर्म अवतार कोइराला र क्षेत्र नम्बर–४ मा मुख्य न्यायाधिवक्ता कार्यालयका उपसचिव सुदिप कुमार दंगाललाई निर्वाचन अधिकृत बनाइएको छ । 

कार्यालय उद्घाटन गर्दै मुख्य निर्वाचन अधिकृत प्याकुरेलले निर्वाचनलाई सम्पन्न गराउनका लागि सबैको सहयोगको आवश्यकता रहेको बताए । निर्वाचनका लागि धनुषामा ३२२ मतदान स्थल र ६०५ मतदान केन्द्र तोकिएका छन् । यस जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने भएका छन् । 





  • प्रकाशित मिति : असोज २०, २०७९ बिहीबार १९:११:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया