मधेस प्रदेश : पाँच वर्षमा ९ अधिवेशन, ६१ विधेयक दर्ता भएकोमा ५५ वटा पारित

मधेस प्रदेशको प्रदेशसभाले पाँच वर्षमा ९ वटा अधिवेशन सकाएको छ । शुक्रबार सभामुख सरोजकुमार यादवले प्रदेशसभाको हालसम्मको कामकारबाही सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । 

उनले पाँच वर्षमा प्रदेशसभाको ९ वटा अधिवेशनमा २२८ बैठकमा कुल ३११ घण्टा १८ मिनेट ५६ सेकेन्ड सभा सञ्चालन गरी प्रदेश सभाको नवौं अधिवेशन सम्पन्न भएको बताए । 

प्रदेश सभामा जम्मा ६१ विधेयक दर्ता भएकोमा ५५ वटा पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत भइसकेका छन् । बाँकी ६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् ।

प्रदेश सभाको पहिलो वैठकबाट प्रदेश सभा कार्यसञ्चालन आन्तरिक कार्यविधिको रूपमा ‘प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५’ पारित गरी सभाको सञ्चालन एवम् कामकारबाही व्यवस्थित हुँदै आएको उनले बताए । 

प्रदेश सभाले आफ्नो कामकारबाही व्यवस्थित गर्न सातवटा विषयगत समिति गठन गर्नुका साथै समय समयमा विशेष समिति गठन गरी आफ्नो कामकारबाही प्रभावकारी रूपमा व्यवस्थित गर्दै आएको सभामुख यादवले दाबी गरे । 



विचाराधीनमध्ये ५ वटा विधेयक विभिन्न समितिमा छलफल गरी प्रतिवेदन सभामा पेस गर्ने अवस्थामा रहेको भए पनि नवौं अधिवेशन अन्त्य भइसकेकोले उक्त प्रतिवेदन सभामा पेस हुन नसकेको उनले बताए । 



विचाराधीन एक विधेयक प्रस्तुतकर्ताले अगाडि बढाउने प्रस्ताव नै पेस नगरेकोले अगाडि बढ्न नसकेको सभामुख यादवले जानकारी दिए । 

‘सभाले सरकारको ६ वटा नीति तथा कार्यक्रम, ६ वटा बजेट र दुईपटक विश्वासको मतको सम्बन्धमा छलफल गरी निर्णय गरेको छ,’ उनले भने, ‘सबभन्दा महत्वपूर्ण पहिलोपटक पारित हुन नसकेको प्रदेशको राजधानी र नामको प्रस्ताव २०७८ माघ ३ गते दुई तिहाई भन्दा बढी बहुमतले पारित गरि प्रदेशको नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ कायम गर्यौं ।’

उनले अगाडि थपे, ‘यस अवधिमा मैले प्रदेश सभा सञ्चालन गर्दा सूचना प्रविधिको प्रयोगलाई बढोत्तरी गर्दै, कोभिड–१९ महामारीको समयमा पनि प्रत्येक प्रदेश सभा सदस्यहरुलाई ल्यापटप उपलब्ध गराई अनलाइनमार्फत सभा तथा समितिहरूको बैठक सञ्चालन एवम् व्यवस्थापनमा निरन्तरता दिँदै आएँ, जसको फलस्वरूप बैठक सञ्चालन तथा व्यवस्थापन खर्चमा कटौती भएको देखियो । जुन कार्य अन्य प्रदेशको प्रदेश सभाको तुलनामा हामी अगाडि भयौं ।’

यादवले अब गठन हुने प्रदेश सभाको सुरुवातदेखि नै प्रदेश सभा सदस्यको उपस्थिति तथा सभा र समितिमा बोलेको कुराको रेकर्डको विवरण सूचना प्रविधिको प्रयोगमार्फत सबैको पहुँच योग्य बनाउन व्यवस्था मिलाउन, प्रदेश सभा र समितिको नयाँ भवन बनाउन आरम्भ गर्न, प्रदेश सभालाई प्रभावकारी बनाउन थप अध्ययन अनुसन्धान गर्नलगायतका कामहरू गर्न आग्रहसमेत गरेका छन् । 

सभामुख यादवले प्रदेश सरकारले उपलब्ध गराएको न्यून बजेटका कारण प्रदेशसभाको कामकारबाहीलाई पूर्ण प्रविधिमैत्री बनाउन नसकेको, प्रदेशको राजधानी कायम भएपछि प्रदेशसभाको लागि छुट्टै स्थायी संरचना कार्य सुरु नभएको, प्रदेशसभाको आफ्नो भवनको अभावमा आम जनसमुदाय, पत्रकार एवम् सरोकारवालालाई सभाको कामकारवाहीमा प्रत्यक्ष पहुँच स्थापित गराउन नसकेको स्वीकार गरेका छन् । 

नेपालको संविधान जारी भएपछि २०७४ मंसिर १० र २१ गते सम्पन्न प्रदेश सभा निर्वाचन पश्चात निर्वाचित भएका प्रदेशसभा सदस्यको ७ माघ २०७४ मा सपथ ग्रहणपछि २१ माघमा प्रदेश सभाको पहिलो बैठकबाट प्रदेश सभाको कार्य थालनी भएको थियो ।

  • प्रकाशित मिति : असोज २१, २०७९ शुक्रबार १४:३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया