नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच प्रतिनिधिसभा अन्तर्गत ५२ सिटमा तालमेल हुने भए पनि धनुषा क्षेत्र नम्बर २ मा दुवै दलले आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । धनुषाका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १, ३ र ४ मा नेकपा एमाले र जसपाबीच तालमेल हुने भएको छ । तर क्षेत्र नम्बर २ मा भने दुवै दल आपसमा प्रतिस्पर्धामा उत्रिने भएका छन् ।
धनुषा २ मा जसपाका गंगाराम यादव उम्मेदवार बन्ने भएका छन् भने एमालेबाट उमाशंकर अरगरिया उम्मेदवार बन्ने भएका छन् । ‘धनुषा क्षेत्र नम्बर–२ मा मेरो र गंगाराम जीको दाबी भएपछि गठबन्धन नहुने अवस्था बन्यो, हामी दुवै मित्रवत् प्रतिस्पर्धामा उत्रने सहमति भएको छ,’ एमाले नेता उमाशंकर अरगरियाले भने ।
लोसपा नेपाल परित्याग गरी टिकटकै लागि एमाले प्रवेश गरेका उमाशंकरले धनुषा २ नछोड्ने दाबी गरेका छन् । २०७४ को निर्वाचनमा धनुषा २ मा तत्कालिन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार उमाशंकर अरगरियाले ३२ हजार ४४ मत ल्याएर जित हासिल गरेका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार रामचन्द्र झाले १८ हजार ७१५ मत मात्र प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका रामकृष्ण यादवले १५ हजार ४४२ मत पाएका थिए । २०५२ मा नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका अरगरिया विभिन्न पार्टी हुँदै संघीय समाजवादी फोरममा प्रवेश गरी २०७४ को चुनाव लडेका थिए ।
२०७४ मा संघीय समाजवादी फोरमबाट चुनाव लडेका अरगरिया यस पटक भने एमालेबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । त्यस्तै, एमाले परित्याग गरी भर्खर मात्र जसपामा प्रवेश गरेका गंगाराम यादव पनि सोही क्षेत्रबाट चुनाव लड्ने भएका छन् ।
जसपा र एमालेबीच भएको सहमति अनुसार धनुषाको क्षेत्र नम्बर ३ र ४ मा एमाले र क्षेत्र नम्बर १ मा जसपाले उम्मेदवारी दिने भएको छ । एमालेले क्षेत्र नम्बर ३ मा नेतृ जुलीकुमारी महतो, क्षेत्र नम्बर ४ मा पार्टीका सचिवसमेत रहेका रघुवीर महासेठलाई उम्मेदवार बनाउने भएको छ भने जसपाले धनुषा क्षेत्र नम्बर १ मा दीपक कार्कीलाई उम्मेदवार बनाउने भएको छ ।
यता, प्रदेशसभातर्फ ४२ सिटमा एमालेले जसपालाई सघाउने भएको छ भने ७० वटा सिटमा एमालेलाई जसपाले सघाउने भएको छ ।
दुई नेता अवसरबाट वञ्चित
एमाले र जसपाले चुनावी तालमेलले गर्दा धनुषाका दुई जना दिग्गज नेताहरू चुनाव लड्न अवसरबाट वञ्चित भएका छन् । पाँच दलीय सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीले प्रवेश पाएपछि नेकपा एकीकृत समाजवादीबाट रामचन्द्र झा र एमाले तथा जसपाबीचको तालमेलले गर्दा एमालेका किशोरी साह कमलले टिकट पाउन सकेका छैनन् ।
झा पूर्वमन्त्री हुन भने कमल प्रदेश सभा सदस्य हुन । झा प्रतिनिधिसभातर्फ धनुषा २ र कमल प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) बाट चुनाव लड्ने तयारीमा थिए । सत्ता गठबन्धनको चुनावी तालमेलमा क्षेत्र नम्बर २ कांग्रेसको कोटामा गएपछि झा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने मानसिकता बनाएका थिए । तर सो क्षेत्र पनि लोसपाको प्रवेशसँगै झाको हातबाट फुत्केको छ ।
लोसपा गठबन्धनमा नआएसम्म गठबन्धनले धनुषा ३ मा मजबुत उम्मेदवारको खोजीमा रहेको एकीकृत समाजवादीले झालाई लडाउने तयारी गरेको थियो । यता एमाले–जसपाको गठबन्धनले क्षेत्र नम्बर १ (क) जसपाको कोटामा गएपछि कमलले टिकट पाउने सम्भावना गुमेको छ । उनले अब टिकट नपाउने भएपछि स्वतन्त्रबाटै उम्मेदवारी दिने निर्णय गरेका छन् ।
उनले चुनावी तालमेलमा आफू समावेश हुन नसकेपछि स्वतन्त्रबाटै उम्मेदवारी दिने बताएका छन् । क्षेत्र नम्बर २ बाटै पूर्वशिक्षक कारी यादवले पनि स्वतन्त्र चुनाव लड्ने घोषणा गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।