लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता शरतसिंह भण्डारीविरुद्ध तमलोपाका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
लोसपा अध्यक्ष ठाकुरले महोत्तरी क्षेत्र नम्बर–३ मा उम्मेदवारी दर्ता गराउँदा उनीविरुद्ध तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, लोसपा नेता शरतसिंह भण्डारीले महोत्तरी–२ बाट उम्मेदवारी दर्ता गराउँदा तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंहले पनि उनीविरुद्ध उम्मेदवारी दिएका हुन् ।
सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको लोसपाले सो क्षेत्रमा अध्यक्ष ठाकुरलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तमलोपाका अध्यक्ष लालले उनीविरुद्ध उम्मेदवारी दिएका छन् ।
यसअघि २०७४ को निर्वाचनमा लोसपा अध्यक्ष ठाकुर महोत्तरी–३ र नेता भण्डारी महोत्तरी–२ बाट प्रतिनिधि सभा सदस्य बनेका थिए ।
प्रदेश सभातर्फ लोसपाबाट महोत्तरी ३(क)मा अभिराम शर्मा र ३(२) मा रानी शर्मा तिवारीले उम्मेदवारी दर्ता गराएका छन् भने तमलोपाबाट प्रदेश सभा २ (क) मा इद्रिश राइन र २ (ख) मा रामकृपाल साहले उम्मेदवारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।