आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषाको चारवटा क्षेत्रमा ८ जना पूर्वमन्त्री प्रतिस्पर्धामा उत्रेका छन् । केही नेता क्षेत्र परिवर्तन गरेर त केही पुरानै क्षेत्रबाट प्रत्यक्ष निर्वाचनमा भिड्न लागेका हुन् । चार क्षेत्रमा ८ पूर्वमन्त्रीहरू चुनावी मैदानमा उत्रेका छन् ।
धनुषा–१ मा पाँचदलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेतासमेत रहेका पूर्वमन्त्री मातृका यादव फेरि चुनाव लड्दै छन् भने एमाले–जसपा गठबन्धनबाट जसपाको दीपक कार्की मैदानमा उत्रेका छन् ।
२०७४ को निर्वाचनमा पनि प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मातृका विजयी भएका थिए । यादवले २६ हजार ४१४ मत ल्याएर निर्वाचित भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीले १७ हजार २८१ मत पाएका थिए ।
मातृका यसअघि पनि माओवादी केन्द्रबाटै २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद बनेका थिए । उनी पटकपटक मन्त्रीसमेत बनिसकेका छन् ।
क्षेत्र नम्बर–२ मा भने पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामकृष्ण यादव, नेकपा एकीकृत समाजवादीबाट पूर्वमन्त्री रामचन्द्र झा, एमालेबाट पूर्वमन्त्री उमाशंकर अरगरियाले प्रतिस्पर्धा गर्ने भएका छन् भने जसपाबाट गंगाराम यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
धनुषा–२ मा पाँचदलीय र एमाले–जसपा गठबन्धनको कुनै औचित्य देखिएको छैन। २०७४ को निर्वाचनमा धनुषा–२ मा तत्कालिन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार उमाशंकर अरगरियाले ३२ हजार ४४ मत ल्याएर जित हासिल गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार रामचन्द्र झाले १८ हजार ७१५ मत मात्र प्राप्त गरेका थिए । त्यस्तै, नेपाली कांग्रेसका रामकृष्ण यादवले १५ हजार ४४२ मत पाएका थिए ।
२०५२ मा नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका अरगरिया विभिन्न पार्टी हुँदै संघीय समाजवादी फोरममा प्रवेश गरी चुनाव लडेका थिए ।
यता सबैभन्दा बढी रोचक देखिएको धनुषा क्षेत्र नम्बर ३ बाट चुनाव लड्दै आएका कांग्रेस पूर्वउपसभापति निधि यसपालि आफूले फेरि चुनाव जित्ने सम्भावना नदेखेपछि समानुपातिकतर्फ गएका छन् । यस क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता एवं पूर्वमन्त्री अनिल झा चुनाव लड्न लागेका छन् ।
त्यस्तै, एमाले–जसपा गठबन्धनबाट एमाले नेतृ एवं पूर्वमन्त्री जुली महतोले उम्मेदवारी दर्ता गराएकी छन् ।
प्रतिनिधि सभातर्फ झा यसअघिको निर्वाचन रौतहट–१ बाट विजयी भएका थिए । तर, यसपटक गठबन्धनभित्र रौतहट–१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दिने सहमति भएपछि नेता अनिल झा धनुषा–३ मा आएका हुन् ।
नेता झाले पाँचदलीय गठबन्धनले आफूलाई उम्मेदवार बनाएर पठाएकोले आफू धनुषा–३ मा आएको बताए । उनले धनुषा–३ यसअघि लोसपा नेपालले जितेको क्षेत्र रहेकोले पनि त्यसलाई निरन्तरता दिन आफूहरुको दाबी स्वभाविक रहेको जिकिर गरे ।
उनले भने, ‘जनकपुरधामलाई मधेस प्रदेशको राजधानी हामीले बनाएका हौं । संघीयता हामीले ल्याएका हौं । त्यसैले यहाँको राजधानीमा हाम्रा अग्रजले गर्न बाँकी रहेका कामहरु मैले पूरा गर्नुपर्नेछ ।’
यस प्रदेशको राजधानीबाटै संघीयतावादी, मधेसवादी र लोकतन्त्रवादीका साथै एक दशक भन्दा बढी समयसम्म देशको लोकतन्त्र र मधेसीको अधिकारको निमित्त लडेको व्यक्ति यहाँको प्रतिनिधित्व गर्दा व्यक्तिको पनि र स्थानको पनि इज्जत बढ्ने भएकोले आफूले यहाँबाट उम्मेदवारी दिएको झाले बताए ।
यता, एमाले–जसपा गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी नेतृ महासेठले आफ्नो उम्मेदवारी धनुषा क्षेत्र नम्बर–३ को सम्पूर्ण जनताको उम्मेदवारी रहेको दाबी गरिन् । उनले आफू यस क्षेत्रको जनताको साझा उम्मेदवार रहेको दाबी गरेकी हुन् । उनले आफ्नो उम्मेदवारी यस क्षेत्रको जनताको विकास र सुख, शान्ति तथा समृद्धिको लागि रहेको बताइन् ।
उनले भनिन्, ‘मेरो उम्मेदवारी व्यक्तिगत मेरो होइन । यो जनताको उम्मेदवारी हो । जनताले चाहेको उम्मेदवार म भएकोले आज उम्मेदवारी दर्ता गराएकी छु ।’
नेतृ महासेठले जनताले विश्वार गरेको पार्टी नेकपा एमाले र जनताले नै विश्वास गरेको उम्मेदवार आफू रहेको दाबीसमेत गरेकी हुन् ।
जुली यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसँग पराजित भएकी थिइन भने २०७४ मा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन ।
२०७४ को निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उम्मेदवार राजेन्द्र महतो विजयी भएका थिए ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिलाई २ हजार ९१४ मतले पछाडि पार्दै उनले जित हासिल गरेका थिए । महतोले ३० हजार ७४२ मत ल्याउँदा निधिले २७ हजार ८२८ मत पाएका थिए ।
धनुषा–४ मा भने एमाले–जसपा गठबन्धनको तर्फबाट पूर्वमन्त्री रघुवीर महासेठलाई र पाँचदलीय गठबन्धनले कांग्रेसका सह–महामन्त्रीसमेत रहेका पूर्वमन्त्री महेन्द्र यादवलाई उठाएको छ । जसपाका महाजन यादवले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
२०५१ र २०५६ सालको संसदीय चुनाव हारेका महासेठ २०६४ सालको उपचुनावमा जित्न सफल भएका थिए । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा नेकपा एमालेबाट चुनाव लडे पनि तत्कालीन संघीय समाजवादी फोरमका सञ्जय साहसँग उनी पराजित भएका थिए ।
२०७४ मा वाम गठबन्धनका उम्मेदवार महासेठ विजयी भएका थिए । उनले २२ हजार ५३२ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले १९ हजार ९९१ मत ल्याएका थिए । त्यस्तै, तत्कालिन संघीय समाजवादी फोरम नेपालका महाजन यादव १९ हजार ६६२ मत ल्याएर तेस्रो भएका थिए ।
२०६४ सालमा संविधानसभाको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ४ बाट पराजित महासेठ त्यसपछि धनुषा ५ मा भएको उपचुनावमा विजयी भए । २०७० सालको चुनावमा क्षेत्र नम्बर ५ बाटै उम्मेदवार बनेका उनी पुनः पराजित भए ।
त्यस्तै, २०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेका महेन्द्र यादव २०७४ मा भने प्रत्यक्षतर्फ पराजित भएका थिए । २०७४ सालको चुनाव हुनुअघि उनी खानेपानी मन्त्री बनेका थिए ।
पाँचदलीय गठबन्धनमा कांग्रेसले धनुषाको क्षेत्र नम्बर ३ बाहेक सबै क्षेत्रमा उम्मेदवार उठाएको छ भने लोसपाले धनुषा ३ र माओवादीले क्षेत्र नम्बर १ मा आफ्नो उम्मेदवार उठाएको छ ।
यता, एमाले–जसपा गठबन्धनको तर्फबाट क्षेत्र नम्बर–१ म जसपाले आफ्नो उम्मेदवार उठाएको छ भने क्षेत्र नम्बर–२ मा मित्रवत्त प्रतिस्पर्धा गर्ने दुबै दलबीच सहमति भएको छ । त्यस्तै, क्षेत्र नम्बर–३ र ४ एमालेले पाएको छ ।
धनुषामा ४ लाख ९ हजार ९८५ मतदाता रहेका छन् । जसमध्ये महिला १ लाख ९३ हजार १०४ र पुरुष २ लाख १६ हजार ८७५ जना रहेका छन् भने अन्य ६ जना छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।