प्रधानमन्त्री शेरबहादुर देउवासँगै अन्य चार पूर्वप्रधानमन्त्रीहरू पनि यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मैदानमा छन् । निर्वाचन कार्य तालिका अनुसार आज उनीहरूले आ-आफ्नो निर्वाचन क्षेत्रबाट मनोनयन दर्ता गराएका हुन् ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुराबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले प्रतिनिधिसभा सदस्यका लागि सातौँ पटक उम्मेदवारी दर्ता गराउन लागेका हुन् ।
प्रधानमन्त्री देउवा डडेलधुराबाट विसं. २०४८ मा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनी त्यस यताका सबै आम निर्वाचनहरूमा निर्वाचित हुँदै आएका छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा देउवा डडेलधुराबाट नै छैटौँ पटक निर्वाचित भएका थिए । यसअघि विसं २०४८, २०५१, २०५६, २०६४, २०७० मा भएका निर्वाचनमा पनि डडेलधुराबाट विजयी देउवा विसं २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाटसमेत विजयी भएका थिए ।
विसं २०४८ मा पहिलो पटक सांसद बनेका देउवा सोही बेला गृहमन्त्री भएका थिए । त्यसपछि विसं. २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा देउवाको नेतृत्वमा नै सरकार गठन भएको थियो ।
२०५९, २०६१, २०७४, २०७८ सालमा गरी पाँच पटक प्रधानमन्त्री भएका देउवा अहिले अहिले पनि प्रधानमन्त्री नै छन् ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । ओली आफैँ उपस्थित भएर आइतबार क्षेत्र नं. ५ का लागि मनोनयन दर्ता गराएका हुन् ।
विसं. २०४८ को आम निर्वाचनमा झापा ६ बाट निर्वाचित भएका ओली त्यसपछि आम निर्वाचन २०५१ मा पनि झापा ६ बाट नै निर्वाचित भएका थिए ।
आम निर्वाचन २०५६ झापा २ र झापा ६ बाट निर्वाचित भएका ओली संविधानसभा निर्वाचन, २०६४ मा भने झापा ७ बाट पराजित भएका थिए । उनलाई तत्कालीन माओवादीका विश्वदीप लिङ्देन लिम्बूले हराएका थिए । लिम्बुले १६ हजार ०९९ भोट पाउँदा ओली जम्मा १४ हजार ९५९ मत पाएर पराजय भोग्नु परेको थियो ।
संविधानसभा निर्वाचन २०७० झापा ७ बाट निर्वाचित भएका ओली प्रतिनिधिसभा निर्वाचन, २०७४ झापा ५ बाट निर्वाचित भएका थिए ।
ओली पहिलो पटक २०७२ असोज २४ मा संसदीय मतदानमा प्रधानमन्त्री निर्वाचित भएका थिए भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समर्थनमा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनपछि नेकपा (एमाले) प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेपछि ओली २०७४ फागुन ३ मा दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए। २०७८ वैशाख ३० मा ओली तेस्रो पटक प्रधानमन्त्री भएका थिए ।
माओवादी केन्द्र अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा पुगेर उम्मेदवारी दर्ता गराएका छन् । २०७४ सालमा चितवनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रचण्डले चितवन छोडेर गोरखा-२ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रचण्ड यसअघि २०७४ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । उनी शान्ति सम्झौतापछिको पहिलो निर्वाचनमा २०६४ सालमा रोल्पा र काठमाडौंबाट चुनाव लडेका थिए । प्रचण्ड रोल्पा–२ र काठमाडौं–१० बाट निर्वाचित पनि भएका थिए । त्यसपछि उनी पहिलो पटक प्रधानमन्त्री भएका थिए ।
२०७० को निर्वाचनमा भने काठमाडौं–१० बाट प्रचण्डले पराजय भोग्नुपरेको थियो । तर उनी सिरहा–५ बाट भने विजयी भएका थिए । प्रचण्ड २०७३ साउन १९ गते दोस्रो पटक प्रधानमन्त्री भएका थिए ।
एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल
एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । रौतहट १ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष नेपालको रौतहट गृह जिल्ला हो ।
हालै नेकपा एमालेबाट छुट्टिएर एकीकृत समाजवादी पार्टी निर्माण गरेका माधव नेपालले पनि यसअघि चुनावमा विजय र पराजयको राम्रै अनुभव लगिसकेका छन् । कुनै बेला नेपालले काठमाडौं र रौतहट दुवै स्थानबाट चुनाव जितेका थिए । २०६४ को संविधानसभा निर्वाचनमा यी दुवै निर्वाचन क्षेत्रबाट पराजित पनि हुन पुगे ।
२०७० र २०७४ को चुनाव काठमाडौंबाट जितेका माधव नेपालले यस पटक गृह जिल्लाबाट उम्मेदवारी दिएका छन् । उनीनिकट नेताहरूका अनुसार काठमाडौं– २ भन्दा रौतहट– १ सुरक्षित रहेकाले यस पटक पुरानै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका हुन् ।
उनी रौतहटको क्षेत्र नं १ बाट नेपाल २०५६ र २०७० मा निर्वाचित भएका थिए । २०६६ जेठ ११ नेपाल नेपालको प्रधानमन्त्री भएका थिए ।
एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल
इलाम प्रतिनिधिसभा क्षेत्र नं १ बाट पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले मनोनयन दर्ता गराएका छन् । खनालको अनुपस्थितिमा एकीकृत समाजवादीका प्रतिनिधि दीपक पौडेलले मनोनयन दर्ता गराएका हुन् ।
२०४८ यताका ६ संसदीय निर्वाचनमा खनालको पनि लामो अनुभव छ । २०७४ सम्मका हरेक संसदीय निर्वाचनमा एमालेबाट सूर्य चिह्नमा चुनावी लडाइँ लडेका उनले पाँच जित र एक हार बेहोरी सकेका छन् ।
यस पटक भने उनी एकीकृत समाजवादीका तर्फबाट कलम चिह्न लिएर चुनावी मैदानमा उत्रिएका छन् । २०७४ मा इलाम १ बाट खनाल निर्वाचित भएका थिए ।
खनालले २०४८, २०५१, २०६४ र २०७० मा पनि इलाम १ बाटै निर्वाचित भई संसद्मा प्रतिनिधित्व गरेका थिए । २०५६ को संसदीय निर्वाचनमा भने खनाल सोही क्षेत्रबाट कांग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भएका थिए । २०६७ माघ २३ गते उनी प्रधानमन्त्री भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।