[प्रतिनिधिसभा निर्वाचन २०७९] गुल्मी–२ मा गोकर्ण भर्सेस रामकुमारीः कसलाई कति चुनौति ?

४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारहरुले मनोनयन गरिसकेका छन् । मनोनयनपछि केही स्थानहरुमा चुनाव पेचिलो र रोचक हुने निश्चित देखिएको छ । 

फरकधारले केही निर्वाचन क्षेत्रहरुको वस्तुगत स्थिति तथा अवस्थाबारे चित्रण गर्दै ती क्षेत्रमा निर्वाचनमा हुने रोचक प्रतिस्पर्धाबारे आजबाट सामग्री प्रकाशन गर्नेछ । 

यस्तै, रोचक हुने निर्वाचन क्षेत्र हो, गुल्मी—२ ।

दुई प्रमुख पार्टीका सचिवहरु भिडन्तमा उत्रिएको गुल्मी—२ मा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई सत्तारुढ गठबन्धनका दलहरुको साथ रहनेछ । उनीसँग भिडन्तमा उत्रिएका छन्, यसअघिका उनकै पार्टीका सहयात्री नेकपा एमालेका सचिव गोकर्ण विष्ट ।

विष्टलाई नेकपा एमालेमा ‘इलेक्सन म्यान’का रुपमा पनि चिनिने गरिएको छ । यस्तो किन भने नेकपा एमालेका महाधिवेशनमा होस् या अन्य निर्वाचनहरुमा नै किन नहोस्, उनले पपुलर मत ल्याउने गरेका छन् । नेकपा एमालेको १० औं महाधिवेशनमा पनि सबैभन्दा धेरै मत विष्टले ल्याएका थिए । 

यसअघि २०७४ सालमा भएको निर्वाचनमा रामकुमारी झाँक्री नेकपा एमालेको समानुपातिक सूचीमा थिइन् भने उनले चुनावमा गोकर्ण विष्टको पक्षमा मत मागेकी थिइन् । नेकपा एमालेबाट चोइटिएर माधवकुमार नेपालको अध्यक्षतामा बनेको नेकपा एकीकृत समाजवादीमा लागेकी रामकुमारी झाँक्री नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भाषण गरेर यो बीचमा चर्चामा आइन् । उनलाई नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीसमेत बनाएको थियो । मन्त्री पदबाट बिदा हुनु पर्दा रोएपछि उनको आलोचना पनि भएको थियो । 



झन्डै ३ दशक एउटै पार्टीमा रहेका झाँक्री र विष्ट गत वर्षमात्रै फरकफरक पार्टीमा लागेका हुन् । 

नेकपा एमालेको प्रभावशाली क्षेत्र मानिएको गुल्मीमा २०५६ सालदेखि नै गोकर्ण विष्ट उम्मेदवार बन्दै आएका छन्, उनले निर्वाचनमा जित निकाल्दै पनि आएका छन् । उनी २०६४ मा मात्र माओवादीका चन्द्रबहादुर थापासँग पराजित भएका थिए । २०७४ सालको निर्वाचनमा वाम गठबन्धन हुँदा विष्टले १४ हजारभन्दा बढी मतले जित निकालेका थिए ।



लामो समयदेखि निर्वाचनमा जित निकाल्दै आएका विष्ट त्यसैले यसपटक पनि जित निकाल्नेमा ढुक्क छन् । त्यसमाथि गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पनि वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतमा पनि त्यहाँ नेकपा एमाले नै अगाडि रहेको छ । नेकपा एमालेका वडाध्यक्षहरुले त्यहाँ ३१ हजारभन्दा बढी मत पाउँदा नेपाली कांग्रेसले २९ हजार ८ सय मत पाएको थियो । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले क्रमशः १८४१ र ६५८ मत मात्र पाएका थिए । 

स्थानीय तहको निर्वाचनको परिणामका कारण पनि विष्ट यो क्षेत्रमा आफूलाई सहज हुने अड्कलबाजीमा रहेका छन् । तर, गठबन्धनका दलहरुको मत आफूलाई ल्याउन विष्टलाई ठूलो चुनौति हुने देखिन्छ ।

झाँक्रीको पार्टीको अवस्था कमजोर भए पनि उनी गठबन्धनका दलहरुका मतदाताहरुले अन्तर्घात नगरेमा आफूले जित निकाल्ने होडमा छिन् । उनलाई युवा हुनुको फाइदा देखिएको छ ।

  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार १३:१३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया