संसदमा इन्ट्री मार्न ठाकुर गैरेलाई पाल्पा २ कति सहज ?

४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाल्पा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले मनोनयन दर्ता गराएका छन् । 

यो क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका निवर्तमान सांसद सोमप्रसाद पाण्डेयले मनोनयन दर्ता गराएका छन् । 

संसदीय राजनीतिमा छैटों पटक उम्मेदवार बनेका पाण्डेयविरुद्ध पहिलो पटक संसदमा उपस्थिति जनाउन खोजेका नेकपा एमालेका ठाकुर गैरेलाई कति सहज होला ? विभिन्न अनुमान आउन थालेका छन् ।

२०५१ सालदेखि लगातार उम्मेदवार बनेका पाण्डेयकै कारण यसअघि अन्तिम समयमा गैरेको टिकट खोसिएको थियो । नातामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका सम्धी पर्ने पाण्डेयले नेपालकै संरक्षणका कारण टिकट आफूले लिँदै गएका थिए । २०७० र २०७४ को आम निर्वाचनमा ठाकुर गैरेको टिकट अन्तिम समयमा पाण्डेयले नै खोसेका थिए । 

तर, एक वर्षअघि नेकपा एमालेबाट चोइटिएर बनेको नेकपा एकीकृत समाजवादीमा पाण्डेय लागेपछि गैरेले यसपटक नेकपा एमालेबाट पाल्पा २ मा उम्मेदवारी दिन पाए ।

नेपाली कांग्रेस र नेकपा एमालेको निकै रोचक प्रतिस्पर्धा देखिने यो निर्वाचन क्षेत्रमा अहिले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता पाण्डेयलाई टिकट दिएको कुरामा खुसी छैनन् । असन्तुष्ट नेपाली कांग्रेसका मतदाताको मत आफूलाई ल्याएर जित निकाल्ने प्रयासमा छन्, ठाकुर गैरे ।



नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववीयुको अध्यक्षसमेत भइसकेका ठाकुर गैरेले पछिल्लो समय पाल्पामा मात्र होइन, राष्ट्रिय स्तरमा आफ्नो राजनीतिक छविको विकास गरेका छन्, स्पष्ट नेताको छवि बनाएका छन् । लगातार तेस्रो पटक पपुलर मत ल्याएर नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएका गैरेकै सफल भूमिकाका कारण यसपटक भएको स्थानीय तह निर्वाचनमा पाल्पामा एमालेको साख जोगाएका थिए ।



स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरुका वडाध्यक्षको मतमा पनि एमाले अगाडि देखिएको छ । एमालेले त्यहाँका वडाहरुमा ३० हजार ५ सय ३६ मत पाएको थियो । नेपाली कांग्रेसले २९ हजार, माओवादी केन्द्रले ४ हजार ३ सय र एकीकृत समाजवादीले ४ सय ३३ मत मात्रै पाएका थिए ।

४ सय ३३ मत मात्र भएको ठाउँमा नेकपा एकीकृत समाजवादीलाई नै प्रतिनिधिसभाका लागि टिकट दिएको भन्दै नेपाली कांग्रेस पाल्पाका नेता तथा कार्यकर्ताले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई असन्तुष्ट हुँदै ज्ञापनपत्र समेत बुझाएका थिए ।

असन्तुष्ट भएको कांग्रेस मतदातालाई आफ्नो पक्षमा ल्याउन सकेको खण्डमा गैरेले पाल्पा २ मा सहज जित निकाल्न सक्नेछन् । असन्तुष्ट भएको कांग्रेसका कारण र नेकपा एकीकृत समाजवादीको कमजोर उपस्थितिका कारण पाण्डेयलाई यसपटक निर्वाचन जित्न सहज हुने देखिँदैन ।

  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार १५:९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया