‘बाथ–टब’: नियतिको कन्फ्युज्ड ग्रान्ड न्यारेटिभ

काठमाडौं– ‘तिमीलाई पनि आफ्नो कथा लेखूँ–लेखूँजस्तो लाग्दो हो । तिमी यसपटक आफ्नो कथा लेख अनिद्रा, किनभने जिन्दगीले तिम्रो कथा लेखेन र मृत्युले तिम्रो कथा लेख्न सक्दैन । जिन्दगी र मृत्यु ज्यादै खराब लेखक हुन् अनिद्रा । दे आर एक्स्ट्रिम्ली ब्याड राइटरर्स । तिम्रो कथा लेख्ने केवल तिमी हौ । मात्र तिमी । बाँकी सब तपशिलका प्रगतिशील कुरा मात्र हुन् ।’ 

नेपथ्यमा गुन्जिएको कुमार नगरकोटीको आवाजले अनिद्रालाई आफ्नो कथा आफैँ लेख भन्छ । तर, आफ्नो कथा आफैं लेख्ने सुविधा कोसँग छ ? आफूले चाहेअनुसार आफूलाई लेख्ने स्वतन्त्रता र छुट कसले पो पाएको छ ? कोसँग छ आफ्नै कथाको कपिराइट ?

∞ ∞ ∞

कुमार नगरकोटीकै भाषामा भन्ने हो भने शिल्पी थिएटर अहिले ‘बाथ–टब’मा डुबेको छ । पाँच वर्षअघि शिल्पी थिएटरमै ‘कोमा अ पोलिटिकल सेक्स’को एक पात्र ह्विलचेयर मानव अर्थात् लेखकले शिल्पीवरिपरि बाक्लै हिउँ जमेको कथा न्यारेट गर्थ्याे। त्यसैको सिको गर्दै अहिले निःशब्दशमशेर राणा बाथ टबमा निदाइरहेको सिरियल किलरको कथा न्यारेट गर्ने अभूतपूर्व प्रयास गर्छ । अभूतपूर्व प्रयास गर्दा गर्दै लेखक निःशब्दशमशेर राणा भूतपूर्व भइजान्छ । निःशब्दको अभूतपूर्व प्रयासलाई अनिद्रा टाइपराइटरमा टंकण गर्छे ।

‘बाथ–टबमा सिरियल–किलर निदाइरहेको थियो । आज उसको ५३औं जन्मदिन  र, यो जन्मदिनमा आज ऊ आफ्नो जीवनको अन्तिम हत्या गर्न गइरहेको थियो । ऊ आफ्नो जन्मदिन प्राइम मिनिस्टरको मर्डर गरेर सेलिब्रेट गर्न चाहन्थ्यो ।’ निःशब्दले सशरीर ओकलेका शब्द टाइप गर्छे अनिद्रा ।



तर, अचानक कथाको पात्र सिरियल किलर आफ्नो निद्राबाट बिउँझन्छ । बाथ–टबको चिसो निद्रा त्यागेर उ लेखकसँग आफ्नो चरित्र चित्त नबुझेको गुनासो गरिबस्छ । उसलाई लाग्छ ऊ सिरियल किलरको सट्टा ‘साधु’ हुनुपर्ने थियो । ‘जोगी’ वा ‘सन्त’ हुनुपर्ने थियो । तर, लेखकले उसलाई सिरियल किलर बनाएर अपराध गर्यो ।

लेखकले आफूप्रति अन्याय गरेको भन्दै ऊ आफ्नो नियति बदलेर न्याय मागिरहेको छ । आफ्नो सर्जकप्रति गुनासो गर्दै सिरियल किलर भन्छ, ‘पात्र सर्जकको दास हुँदैन । मलाई तपाईंको यो दासत्व मञ्जुर छैन किनकि म एक सार्वभौम चरित्र हुँ ।’



तर, पनि ऊ आफ्नो सार्वभौम पुष्टि गर्न सक्दैन, न आफ्नो नियति नै बदल्न सक्छ । चाहेर पनि आफ्नो नियति बदल्न सक्दैन । निःशब्दकी टाइपिस्ट अनिद्रा पनि उसको नियति बदल्न सक्दिन किनभने ऊ सर्जक होइन । ऊ फगत टाइपिस्ट हो, मात्र टाइपिस्ट । उसको काम भनेकै लेखकले ओकलेका शब्दहरू टाइपराइटरको किबोर्डमा थिच्नु हो ।

सिरियल किलरको नियति निर्धारण गर्न तम्सिने निःशब्दको नियति मृत्युले तय गरिसकेको छ । लेखक अर्थात् सिरियल किलरको मानुस पिता, सर्जक उसको नियति बदल्न चाहन्न किनभने मृत्युको स्वकीय सचिवले उसलाई मृत्युको अल्टिमेटम दिएको छ । ऊसँग अब धेर समय छैन । ऊ छोटो समयमा आफ्नो कथा समाप्त गर्न चाहन्छ । तर, लेखकले मृत्युको हतारोमा आफूलाई सिरियल किलर बनाएको चित्त बुझेको छैन पात्रलाई । 

∞ ∞ ∞

फिक्सन डिजाइनरको परिचय बनाएका नगरकोटीको ग्रान्ड न्यारेसनभित्र निःशब्दशमशेर राणा, अनिद्रा र सिरियल किलर आ–आफ्नो कथा न्यारेट गर्न लागिपरेका छन् । आ–आफ्नो नियति बदल्न लागिपरेका छन् ।

तर, नियति त नियति हो । कसले पो बदल्न सक्छ र ? विसंगत र अमूर्त संवादको संयोजनले नियतिका राजनीतिक, वैचारिक, साहित्यिक, धार्मिक आयाममाथि तारन्तार प्रहार गरिन्छ । 

तर, लेखक निःशब्द, टाइपिस्ट अनिद्रा र पात्र सिरियल किलरको नियति पनि कतै रजिस्टर भएको छ कि ? कथा, सपना र न्यारेसनका पत्रहरू पालैपालो ‘बाथ–टब’मा डुबुल्की लगाउँछन् । बाथ–टबको चिसो पानीमा आफ्नो नियति पखाल्न लागिपर्छन् । जीवन र जगत्लाई संगतिपूर्ण बनाउने मानवीय प्रयासले सिर्जना गरेको विसंगति नै मानिसको नियति बनेको हो कि भन्ने संकेत गर्दागर्दै ‘बाथ–टब’ आफैं विसंगत बनिगयो । 

आफ्नो सुनौलो कपाल प्रेमीको अन्तिम पाण्डुलिपि ‘र्याप’ गर्न उपहार, प्रेम भेट चढाएकी अनिद्रा आफ्नो प्रेमीलाई सम्झिबस्छे । त्यो त्यही प्रेमी थियो जसलाई ग्रेभ डिगरले १७औं लासको रूपम चिहानमा गाडिसकेको छ । चिहानमा गाडिएको त्यो पागल यात्री, प्रेमीले लेखेको एउटा कथा छ । त्यो अदृश्य मानुसले लेखेको कथाको न्यारेटिभमा आफूलाई फिट गरेर निःशब्द सिरियल किलरको कथा लेख्छ । त्यही न्यारेटिभको ओछ्यानमा पल्टिँदै अनिद्रा र सिरियल किलर सपना देख्छन् । त्यही न्यारेटिभअनुसार उनीहरू आफ्नो नियति बदल्ने प्रयास गर्छन् ।

नियतिको ग्रान्ड न्यारेसन उहिल्यै कतै लेखिएको थियो । तर, को थियो त्यो न्यारेटिभ राइटर ?

∞ ∞ ∞

तर, नियतिको यो ग्रान्ड फिक्सनमा तपाईं आफूलाई कहाँ भेट्नुहुन्छ ? तपार्इं आफूलाई कहाँ फेला पार्नुहुन्छ ? नियतिको चक्रव्यूहमा फसेका यी तमाम पात्रहरू अब चिहानीकृत हुन्छन् ।

‘हामी सबै सपनाका पात्रहरू थियौं र छाैं । कहिलेकाहीँ लाग्छ हामी सबै सपनाको ग्रान्ड न्यारेटिभ हौं,’ यसै भन्छन् कुमार नगरकोटी । साहित्यिक, दार्शनिक शब्दहरूको जार्गनमा मृत्यु र चिहानको अत्तर छर्किनु नगरकोटियन विशेषता पनि हो । मृत्यु र चिहानको अलौकिक सुगन्धले बाथ–टबलाई सुगन्धित बनाउने नगरकोटियन प्रयास । जीवन, जगत्, शून्यताजस्ता दार्शनिक फेनोमेनालाई छरपष्ट बनाएर नगरकोटीले आफूलाई कन्फ्युज गराए वा दर्शकलाई÷पाठकलाई ? जवाफ नगरकोटीलाई पढ्ने पाठक वा नगरकोटी स्वयंले देलान् ।

पाँच वर्षअघि ‘कोमा’ हेरिसकेका दर्शकलाई ‘बाथ–टब’ कोमाकै मिनियचर भर्सन लाग्नु स्वाभाविक हो– लेखक, ग्रेभ डिगरजस्ता पात्र दोहोरिनु । कोमामा डेड म्यान चिहानबाट बिउँझनु र बाथ–टबमा सिरियल किलर बाथ टबबाट बिउँझनुसँग केही सम्बन्ध पो छ कि ? जसरी बाथ–टबमा देखिएको सपनासँग निःशब्द र अनिद्राको साइनो थियो ।

संविधानसभा भंग भएको खबर सुनेर लेखक कोमामा गएपछि उसले लेखिरहेका पात्रहरू चलमलाउँथे ‘कोमा’मा । अदृश्य लेखकले लेखेको ग्रान्ड न्यारेसनभित्र लेखक अनि लेखकका पात्र सशरीर देखिन्छन् ‘बाथ–टब’मा ।

‘किन यति धेरै डेड पिपुल हाम्रो सो मा ?’ भन्दै दर्शकलाई त्रसित बनाउँथे कोमाका कोमा मानवहरू । कोमामा डेड भनिएका ती तमाम दर्शक बाथ–टबमा भने चिहानमा पुग्छन् । त्यसैले त सिरियल किलर चिहानराग अलाप्न थाल्छ ।

पाँच वर्षअघि कोमाको ‘डिपार्चर ह्विस्पर’मा नगरकोटी भन्थे, ‘मेरो तान्त्रिक खप्परमा केके कुरा खेलिबस्दा हुन् ? मानिस भन्छन्– ती सपना हुन् । ती सपना मेरा प्राइभेट सपना हुन् या होइनन् मलाई थाहा छैन । आफ्नो सपनाको कुनै कपिराइट हुन्छ या हुँदैन थाहा छैन । ...म केवल एक प्याकेट सपना हुँ ? अथवा एक कप सपना हुँ म ?’

कोमाको अन्तिम एपिलोगमा सपनामाथि प्रश्न गरेका नगरकोटीले बाथ–टबलाई सपनाको ग्रान्ड न्यारेटिभ बनाए । सपनामाथिको कपिराइट प्रश्नलाई नियतिको जिम्मा लगाउँदै नगरकोटियन सपनाले दर्शक र पात्रको निद्रा बिथोल्ने अधिनायकवादी प्रयास गरे फिक्सन डिजाइनरले । 

बाथ–टबमा एक कप होइन, एक प्याकेट होइन सिंगै प्याकेज छ सपनाको । अ प्याकेज अफ ड्रिम । भन्न त मन थियो ‘गो एन्ड पिक अप योर ड्रिम’ । तर, राजनीति, जीवन, दर्शन, शून्यता, चिहान, मृत्यु, सपना, साहित्य, अस्तित्व, विसंगतिले तपाईंलाई अन्योलको भूमरीमा गोलचक्कर घुमाउने हो कि भन्ने पिर पर्यो ।

कथा, पाण्डुलिपि, सपना र पात्रहरूको अस्तित्वचेतले सिर्जित विरोधाभाष र विसंगत सम्बन्ध नै बाथ–टबको सौन्दर्य हो । नगरकोटीका कथा, उपन्यास, संस्मरण र नाटक सबैमा देखिएको शाब्दिक मात्रै होइन भावात्मक रिपिटिसन भने उनलाई रुचाउनेका लागि ‘बोर’ हो । एब्स्ट्रयाक चिन्तन प्याजको भूमिकामा शंकर लामिछानेले देवकोटाको भनाइ उद्धृत गर्दै लेखेका छन्, ‘रिपिटिसन अफ वर्क वन सेम लाइन ह्याज नो मिनिङ ।’

अन्तमा, आफ्नो कथा आफैं लेख्नुको सम्बन्ध आफ्नो नियति आफैं तय गर्नुसँग छ कि ? आफंैले आफ्नो कथा लेखिरहँदा जिन्दगीजस्तै विरोधाभाष र अप्रस्टता देखिने सम्भावना पनि त छ होइन र ? ‘जिन्दगी र मृत्यु ज्यादै खराब लेखक हुन्’, भने ‘जिन्दगी र मृत्यु लेख्ने लेखकचाहिँ के हुन् ?’
 

  • प्रकाशित मिति : माघ २०, २०७५ आइतबार १५:२१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया