प्रधानमन्त्री देउवाले पत्नी आरजूमार्फत् बुझाए उजुरीकाे जवाफ
फरकधार / २५ असोज, २०७९
यो सामग्री सेयर गर्नुहोस्

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ बुझाएका छन् । ४ मंसिरमा हुने निर्वाचनमा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा उजुरी परेकाे थियाे । उनले पत्नी आरजूमार्फत् जवाफ बुझाएका हुन् ।



देउवा पत्नी आरजुले प्रमाणका रूपमा वडा कार्यालयको सिफारिस पनि बुझाएकी छन् । यस्तै, नागरिकताअनुसार नै निर्वाचन आयोगले मतदाता नामावली तयार पारेकाले विवरण प्रविष्ट गर्दा आयोगले नै त्रुटि गरेको जवाफमा उल्लेख गरिएको जनाएको छ ।



डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले उजुरीको जवाफ आएको जानकारी दिए । ‘नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक–फरक रहेको भन्दै उजुरी परेको थियो’ उनले भने, ‘छानबिन गर्दै आज साँझ ५ बजेसम्म निर्णय लिन्छौँ ।’



उम्मेदवारविरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानुनी व्यवस्था छ ।  एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उम्मेदवारी दिएका देउवाको उमेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।



नागरिकतामा देउवाको जन्ममिति २००३ जेठ ३१ गते र मतदाता नामावलीमा जन्ममिति २००२ जेठ ३१ गते रहेको पाइएको भन्दै मल्लले उजुरी दिएका थिए । 

देउवाको उम्मेदवारीविरुद्ध उजुरी दिने मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापति हुन् । उनी ०७४ सालको निर्वाचनमा कांग्रेसबाटै प्रदेशसभा सदस्यमा विजयी भएका थिए । गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) सँग तालमेल गर्दै कांग्रेस बीपीको चुनाव चिह्नबाट आफूनिकटका व्यक्तिलाई उमेदवार बनाएको भन्दै कांग्रेसले मल्ललाई पार्टीबाट निष्कासित गरेको थियो ।





  • प्रकाशित मिति : असोज २५, २०७९ मंगलबार १३:१९:३८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया