मकवानपुर १ मा प्रतिनिधिसभा उम्मेदवार कसको पल्लाभारी ?

आगामी मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै मकवानपुरमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलका नेताहरु तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा होमिइरहँदा आप्mनो जित सुनिश्चित रहेको नेताहरुले बताउँदै आएका छन् । 

जिल्लाकै हेभीवेट नेताहरु एकै क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिँदा मकवानपुरमा प्रतिनिधिसभा निर्वाचन रोचक बन्ने देखिएको छ । नाम चलेका तथा हेभीवेट नेताहरु एकै क्षेत्रबाट प्रतिस्पर्धामा उत्रन लाग्दा जिल्लामा चुनावी सरगर्मी बढेको छ । 

दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरमा क्षेत्र १ मा १६ जना र क्षेत्र नम्बर २ मा १ स्वतन्त्र समेत गरी १० जनाको उम्मेदवारी परेको छ । मकवानपुरका हेभीवेट नेताहरु आफ्नो साख जोगाउने रणनीतिमा लागिपरेका छन् । तर, कसको पल्लाभारी होला त्यो हेर्न भने बाँकी नै छ । 

सधैँ पराजित भइरहेका नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय (डिना), राप्रपाका प्रभावशाली नेता दीपकबहादुर सिंह र राप्रपा त्यागेर राप्रपा नेपाल पार्टीका अध्यक्ष बनेका कमल थापा आगामी निर्वाचनमा मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गर्दै छन् । उम्मेदवारी दर्तासँगै जित आफ्नै पोल्टामा पर्ने मकवानपुरका राजनीतिक दलका नेताहरुले दाबी गर्दै आएका छन् ।

डिनालाई गठबन्धनको भरोसा 

पाँचदलीय सत्ता गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) अन्य निर्वाचनमा पराजित भए पनि मंसिर ४ मा आफ्नो जित सुनिश्चित रहेको बताउँछिन् । गठबन्धन दलका उम्मेदवारहरु आफूलाई मत दिन हतारमा रहेको उनको दाबी छ । 



२०४८ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेकी उनी तत्कालीन समयमा एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भएकी थिइन् । २०५१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उनी खतिवडासँगै पराजित भइन् । २०५६ मा भएको आमनिर्वाचनमा उनी उम्मेदवार बनिनन् । २०७४ सालमा भएको निर्वाचनमा पनि डिना पुनः खतिवडासँगै पराजित हुन पुगिन् । अघिल्ला निर्वाचनमा हार व्यहोर्न परेता पनि आगामी प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनबाट विजयी हुने उनको दाबी छ ।   

सिंहको पाँचौँ उम्मेदवारी



त्यसो त एउटै निर्वाचन क्षेत्रमा पटक–पटक पराजित भएका नेताहरु आगामी निर्वाचनमा पनि प्रतिस्पर्धा गर्दै छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनदेखि नै चर्चाम रहेको अर्को नाम हो, दीपकबहादुर सिंह । स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा थोरै मतान्तरले पराजित बनेका सिंह पनि आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको बताउँछन् । उनी २०५४ सालमा  हेटौंडा उपमहानगरपालिकाको मेयरका प्रत्यासी एमलेका डोरमणि पौडेलसँग ६ सय मतान्तरले पराजित भएका थिए । 

त्यसपछि २०५६ सालमा प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका उनले तत्कालीन नेकपा एमालेका उम्मेदवार रहेका विरोध खतिवडासँग १५ सय मतान्तरले पराजित भएका थिए । त्यसपछि २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेका अनन्त पौडेलसँग २ हजार मतान्तरले पराजित हुन परेको थियो भने गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीकी मीना लामासँग २५ सय मतान्तरले पारजित भएका थिए । 

चारपटकको निर्वाचनमा पराजित भएका उनी पाँचौँ प्रयासस्वरुप मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को लागि राप्रपाका उम्मेदवार छन् । 

सूर्य चिह्नले जिताउनेमा थापा ढुक्क

यता, राप्रपा नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका कमल थापा नेकपा एमालेसँगको तालमेलमा निर्वाचनमा होमिएका छन् । एमालेले मनोनयन दर्ताको पूर्वसन्ध्यासम्म पनि आफ्ना उम्मेदवार टुंगो लगाइसकेको अवस्थामा केन्द्रको निर्णयले थापालाई नै एमाले र राप्रपा नेपालको साझा उम्मेदवार बनाउने निर्णय भएपछि मनोनयन दर्ताको दिन आइतबार एमाले पार्टी कार्यालय तनावग्रस्त नै बन्यो ।

 यद्यपि, एमाले कार्यकर्ता तथा मतदाताको चर्को विरोधका बीचमा सुटुक्क मनोनयन दर्ता गर्न पुगेका थापा एमालेका साथीहरुको मतले आफू विजयी हुनेमा ढुक्क रहेको बताउँछन् । जिल्लामै ठूलो दलको रुपमा रहेको नेकपा एमालेसँगको तालमेलमा निर्वाचनमा होमिन पाउनु खुसीको कुरा रहेको उनले बताए ।

पटक–पटक निर्वाचनमा हार खाएका थापा यसपटक एमालेको सहारामा विजयी हुने दाउमा छन् । ६ पटकसम्म पराजित भएका थापाले एकपटक मात्र जितेका छन् । २०४८ मा मकवानपुर १ मा प्रतिनिधिसभा सदस्य चुनाव लडेका उनी एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भए । 

२०५२ मा मकवानपुर १ र ३ दुवै क्षेत्रमा उम्मेदवार बने । १ मा जितेका उनी ३ मा पराजित भए । २०५६ मा १ र ३ मा उठेका उनी दुवै क्षेत्रमा पराजित भए । २०६४ मा काठमाडौं–५ र मकवानपुर ३ मा चुनाव लडे, तर दुवैमा पराजित भए । 

२०७० मा समानुपातिकमा बसेर संविधानसभा सदस्य भएका थापा २०७४ मा कांग्रेसको समर्थनमा मकवानपुर १ मा उम्मेदवार बनेका थिए, तर फेरि पराजित भए । एमालेका कृष्णप्रसाद दाहाल ४० हजार ६३१ मतका साथ विजयी हुँदा थापाले ३४ हजार ६५८ मत पाएका थिए ।

  • प्रकाशित मिति : असोज २५, २०७९ मंगलबार १४:४२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया