धनुषा : प्रतिनिधि सभामा ६ र प्रदेश सभामा १० मात्र महिला उम्मेदवार

नेपालको संविधानमा हरेक निर्वाचनमा राजनीतिक पार्टीहरुले ३३ प्रतिशत सिटमा नघटाई महिला सिट सुरक्षित गर्नु पर्ने पनि व्यवस्था छ । स्थानीय तहमा भने कम्तीमा पनि ५० प्रतिशत महिला सिट सुरक्षित गर्नुपर्ने व्यवस्था तोकिएको छ । 

संविधानको धारा ३८ (४) मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ । तर, निर्वाचनमा भने त्यसो हुन सकिरहेको देखिदैन । संविधान, ऐन र कानुनले व्याख्या गरेको राजनीतिमा पनि महिलाका अधिकार कसरी र कहिले खोसिन्छ भन्ने कुरा अत्तोपत्तो नै हुँदो रहेनछ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा धनुषामा प्रत्यक्षतर्फ महिला उम्मेदवारको खडेरी देखिएको छ । प्रतिनिधि सभातर्फ धनुषाको चारवटै निर्वाचन क्षेत्रमा १०३ जनाले उम्मेदवारी दर्ता गराएकोमा धनुषा–३ बाहेक अन्य क्षेत्रमा एकजना पनि महिला उम्मेदवार छैनन् । 

धनुषा–३ मा मात्र ६ जना महिला उम्मेदवारहरुले उम्मेदवारी दिएकी छन् । जसमध्ये ३ जनाले स्वतन्त्र उम्मेदवारी नै दिएकी हुन् । 

त्यस्तै, प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ १३८ जनाले उम्मेदवारी दर्ता गराउँदा महिलाको संख्या १० मात्र रहेको छ । 

प्रतिनिधि सभा सदस्यका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर–१ मा २५ जनाले उम्मेदवारी दिएका छन् । जसमा १७ जना स्वतन्त्र उम्मेदवारहरु छन् भने महिला उम्मेदवारको संख्या शून्य रहेको छ । 



त्यस्तै, प्रदेश सभातर्फ धनुषा–१ को (क) मा १४ जनाले उम्मेदवारी दर्ता गराउँदा स्वतन्त्रको संख्या ८ रहेको छ भने महिला उम्मेदवार एकजना पनि छैनन् । धनुषा–१ को (ख) मा पनि १४ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये स्वतन्त्र ९ जना रहेका छन् भने महिला उम्मेदवारको संख्या शून्य रहेको छ । 

प्रतिनिधि सभातर्फ धनुषा–२ मा १६ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये आधा अर्थात ८ जना स्वतन्त्र उम्मेदवारहरु छन् भने महिलाको संख्या शून्य रहेको छ । 



प्रदेश सभातर्फ धनुषा–२ को (क) मा १४ जनाले उम्मेदवारी दर्ता गराउँदा स्वतन्त्रको संख्या ८ रहेको छ भने एक जना पनि महिला उम्मेदवार छैनन् भने २ को (ख)मा पनि १७ जनाले उम्मेदवारी दर्ता गराउँदा ८ जना स्वतन्त्र र महिला उम्मेदवारको संख्या शून्य रहेको छ । 

यता, सबैभन्दा महत्वका साथ देखिने धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधि सभातर्फ कूल ३१ जनाले उम्मेदवारी दर्ता गराउँदा महिला उम्मेदवारको संख्या ६ रहेको छ भने २१ जना स्वतन्त्र उम्मेदवारहरु छन् । 

यस क्षेत्रमा महिलातर्फ नेकपा एमाले र जसपाबिचको गठबन्धनबाट एमाले नेतृ जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराउँदा नेपाल जनता पार्टीबाट पूनम चौधरी र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालको तर्फबाट प्रविणा कुमारी ठाकुरले उम्मेदवारी दिएकी छन् । त्यस्तै, ज्योति कुमारी साह, पूजा साह र मिलन कुमारी साहले स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । 

प्रदेश सभातर्फ धनुषा–३ को (क)मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । २० मध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन् । जसमध्ये पूनम देवी दास तत्माले मात्र स्वतन्त्रतर्फ आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । 

धनुषा–३ को (ख) मा प्रदेश सभा सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका छन् । जसमा ११ जना स्वतन्त्र उम्मेदवारहरु छन् भने यस क्षेत्रबाट ५ जना महिलाको स्वतन्त्र उम्मेदवारी परेको छ । 

प्रदेश सभा सदस्यका लागि यहाँ स्वतन्त्र महिला उम्मेदवारहरु किरण देवी साह, पवन देवी साह, बबिता कुमारी, मिनाक्षी पाण्डे र सिता कुमारीबिच प्रतिष्पर्धा हुने भएको छ । 

त्यस्तै, प्रतिनिधि सभातर्फ धनुषा–४ मा ३१ जनाले उम्मेदवारी दर्ता गराउँदा २० जना स्वतन्त्र उम्मेदवार छन् भने महिला उम्मेदवारको संख्या शून्य रहेको छ । 

प्रदेश सभातर्फ धनुषा–४ को (क)मा १९ जनाले उम्मेदारी दिएका छन् । जसमध्ये नेपाल लोकतान्त्रिक पार्टीबाट आशा देवी साह, जनमत पार्टीबाट मिथलेश देवी साह र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मिरा कुमारी यादवले उम्मेदवारी दर्ता गराएकी छन् । यस क्षेत्रमा ८ जना स्वतन्त्र उम्मेदवारहरु छन् । 

उता, धनुषा–४ को (ख)मा १३ जना उम्मेदवारहरु प्रदेश सभा सदस्यका लागि प्रतिष्पर्धामा देखिएका छन् । जसमध्ये ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने जनता प्रगतिशिल पार्टी नेपालको तर्फबाट एकमात्र महिला उम्मेदवार शोभा कार्कीको उम्मेदवारी परेको छ । 

धनुषामा प्रतिनिधि सभा सदस्यका लागि कूल १०३ जनाले उम्मेदवारी दिँदा ६६ जना स्वतन्त्र उम्मेदवारहरु छन् भने ६ जना महिलाले मात्र उम्मेदवारी दिएकी छन् । 

त्यस्तै, प्रदेश सभाका लागि १३८ जनाले उम्मेदवारी दिँदा महिलाको संख्या १० र स्वतन्त्र उम्मेदवारको संख्या ७७ रहेको छ । 

आगामी निर्वाचनका लागि धनुषामा ४ लाख ९ हजार ९८५ मतदाता कायम भएका छन् । जसमध्ये महिला १ लाख ९३ हजार १०४ र पुरुष २ लाख १६ हजार ८७५ जना रहेका छन् भने अन्य ६ जना छन् ।

  • प्रकाशित मिति : असोज २५, २०७९ मंगलबार १५:०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया