काठमाडौं– पहिलो टि–२० सिरिजको अन्तिम खेलमा विजय हासिल गर्दै नेपाली क्रिकेटले आफ्नो पहिलो टि–२० क्रिकेट सिरिजमा जित दर्ज गरेको छ । यो सिरिजको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको थियो । सिरिजको अन्तिम खेल आज मौसममा भएको गढबढीका कारण १० ओभरमा सिमित गरिएको थियो । दोस्रो र आजको खेल जित्दै नेपालले यो सिरिजमा कब्जा जमाएको हो ।
आजको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १ सय ४ रन बनायो । १ सय ५ रनको लक्ष्य पछ्याएर क्रिजमा आएको युएईले १० ओभरमा ८ विकेट गुमाएर ९० रनमात्र जोड्न सफल भयो ।
आजको खेलमा युएईका लागि शाइमन अन्वारले सर्वाधिक ३० रन जोडे । २० बलको सामना गरेका उनले २ चौका तथा २ छक्का हिर्काए । यस्तै, घुलाम शविरले १५ बलमा ३ चौका र एक छक्का सहित २५ रन बनाए भने कप्तान मोहम्मद नाभेद पहिलो बलमै आउट भए ।
यस्तै, मोहम्मद बोताले ११ रन लिए भने अन्य ब्याट्समेनमा भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
युएईलाई पाराजित गर्ने क्रममा नेपालका अलराउन्डर करण केसी, अविनास बोहोरा र ललित राजवंशीले समान दुई–दुई विकेट लिए । २ ओभर बलिङ गरेका केसीले १३ रन दिए भने अविनासले २ ओभरमा १६ रन दिए । यस्तै, राजवंशीले २ ओभरमा १६ रन दिए । आजको खेलमा सन्दीप लामिछाने र सोमपाल कामी १ विकेट लिए ।
नेपालका तर्फबाट ब्याटिङ क्रिजमा गएका पारस खड्काले सर्वाधिक २९ रन जोडे । उनले यो योगफल तयार पार्न १४ बलको सामना गरे । खड्काले ४ चौका तथा १ छक्का प्रहार गरे । यस्तै, सन्दीप जोराले २८ तथा विनोद भण्डारीले २१ रन प्रहार गरे । जोराले ११ बलमा ३ छक्का प्रहार गरे भने भण्डारीले १३ बलमा १ छक्का र २ चौका प्रहार गरेका थिए । नेपालका लागि ज्ञानेन्द्र मल्लले २ चौका सहित ११ तथा करण केसीले १ छक्का सहित १० रन जोडे ।
नेपालको आठ विकेटमध्ये युएईका कप्तान मोहम्मद नाभेद तथा सुल्तान अमेदले समान २ विकेट लिए । यस्तै अमिर हायत, जाहिर खान, तथा मोहम्मद बोताले समान १ विकेट लिएका थिए ।
यसअघि नेपालले पहिलाे एक दिवसीय सिरिजमा पनि जित निकालेकाे थियाे । संयाेग मान्नुपर्छ, एक दिवसीय सिरिजमा पनि नेपाल पहिलाे खेलमा पराजित भएकाे थियाे । त्यसपछिका दुवै खेलमा नेपालले जित निकालेकाे थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।