कमल थापा : हलो पछि तीर, सबै बिर्सिएर सूर्यमा किन आखिर ?
फाइल तस्बिर

मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै ‘कमजोर’ राजनीतिक दलका नेताहरूमा अस्थिरता र बेचैनको वातावरण सृजना भएको छ । जेनतेन गरेर उम्मेदवारको टिकट पाएकाहरूलाई आफ्नो जित सुनिश्चित गर्नका लागि तालमेल, पार्टी फेरबदल तथा एक उम्मेदवारले अर्का उम्मेदवारको गलत पक्ष खोतल्दै प्रत्याशीलाई कमजोर बनाउने रणनीतिमा नेताहरू लागिपरेका छन् । 

प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारी दर्ता भएसँगै मकवानपुरमा चुनावी सरगर्मी बढिरहेको छ । चुनावी माहौलले तातिएको जिल्लामा थप रोचक बनाएको छ कमल थापाको चुनाव चिन्हले । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष रहेका थापा नेपालको राष्ट्रिय जनावर गाईको चिन्ह भएको झण्डा र हलो चुनाव चिन्ह उनको पहिचान थियो । उनको गृह जिल्ला समेत रहेको मकवानपुरमा थापालाई हलो चिन्हले चिन्नेहरूको जमात पनि ठूलै छ । तर राजनीतिक यात्राको पहिलो चुनाव चिन्ह हलोलाई थापाले नै जोगाउन भने सकेनन् । 

१९ मंसिर २०७८ मा अध्यक्ष चुन्नको लागि भएको निर्वाचनमा (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भए । लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका थिए । सो समयमा ४ सय ३१ मत बदर भएको थियो । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएपछि थापा लिङ्देन प्रति रुष्ट बन्दै गइरहे ।

अन्ततः राप्रपाका निवर्तमान अध्यक्ष थापाले लिङ्देनले अध्यक्षको कार्यभार सम्हालेको दुई महिना बित्दा नबित्दै थापाले पार्टी परित्यागको घोषणा गरे । अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो मागको सम्बोधन नगरेको भन्दै आरोप लगाउँदै थापाले २५ माघ २०७८ मा पार्टी परित्यागको घोषणा गरेर राप्रपाबाट अलग्गिएका थिए । 

लामो राजनीतिक यात्राको राप्रपा त्यागेका थापा अध्यक्ष पदकै लागि राप्रपा नेपालको अध्यक्ष बने । निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको राप्रपा नेपालमा उनी नयाँ अध्यक्ष बनेका हुन् । राप्रपा त्यागेर राप्रपा नेपालमा लागेका थापालाई निर्वाचन आयोगले हलो चिन्ह भने दिएन । तर थापाको हलो चुनाव चिन्ह र गाई चिन्ह आफ्नो भागमा ल्याउने कसरत भने पूरा हुन पाएन । यससँगै हलो गुमाएर तीर पाएका थापा पछिल्लो समय तीर छोडेर सूर्यको ‘गुणगान’मा व्यस्त छन् ।



सूर्य चिन्ह बाटै उम्मेदवारी

राप्रपा नेपालका अध्यक्ष थापाले जित्न कै लागि सूर्य चिन्ह बाटै उम्मेदवारी दर्ता गराए । आफ्नो जित सुनिश्चित गर्नका लागि सूर्य चिह्नबाट चुनाव लड्न लागेको प्रतिक्रिया दिएका छन् । मकवानपुर–१ बाट नेकपा एमालेको समर्थनमा उम्मेदवारी दर्ता गरेका उनले नेकपा एमालेसँग सहकार्य गरेर चुनाव लड्न पाउनु खुसीको कुरा भएको बताए ।



‘नेकपा एमालेसँगको सहकार्य एक ठाउँमा मात्र चुनाव जित्नका लागि नभई मुलुकमा विद्यमान सङ्कट समाधान गर्न राष्ट्रिय परिवेशको आवश्यकताको रूपमा रहेको छ,’ उनले भने, ‘म नेकपा एमालेका साथीहरूलाई चित्त बुझाउन सक्छु भन्ने लाग्छ । त्यसका निमित्त हर सम्भव प्रयास गर्नेछु ।’

एमालेकै साथ पाउन मुस्किल 

एमालेको सूर्य चिन्हबाट प्रतिनिधिसभा निर्वाचनमा होमिन पाउनु सौभाग्य भएको बताउँदै आएका उनलाई एमालेकै साथ रहला नरहला त्यो हेर्न भने बाँकी नै छ । तर आइतबार मनोनयन दर्ताको दिन एमाले मकवानपुरमा आएको तिक्ततालाई आधार मान्ने हो भने पनि थापालाई एमाले मतदाताले पत्याउलान्, पार्टी नेतृत्वको निर्णयलाई सहजै स्वीकार गर्लान् भन्न मुस्किल छ । 

त्यसो त, स्वार्थका लागि पार्टी परिवर्तन गर्दै हिँड्ने बानी परेका थापालाई हामी मत दिनुपरे मतदानमा नै सहभागी हुँदैनौ भन्दै आइतबार पार्टी कार्यालयमा एमालेका असन्तुष्ट कार्यकर्ताहरूले विरोध गरेर झण्डै तीन घण्टा तालाबन्दी नै गरिदिएका थिए । 

उनले आफ्नो पार्टीको सिद्धान्त र चुनाव चिन्ह बिर्सिएर सूर्य रोज्न आएको भन्दै थापाप्रति एमालेका मतदाताहरू रुष्ट देखिएका छन् ।  

  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार ९:६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया