लमजुङमा दुई गुरुङः कसले मार्ला बाजी ?

४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा यसअघि २०७४ सालमा भएको निर्वाचनका ‘सहयात्री’हरु प्रतिस्पर्धीका रुपमा उत्रिएका स्थान धेरै छन् ।

तिनैमध्ये एक हो, लमजुङ । २०७४ सालमा वाम गठबन्धन हुँदा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एकअर्काका लागि मत मागे, सहयोग गरे, एउटै कार्यक्रमहरुमा सँगै उपस्थित भए । त्यति बेला देव गुरुङ प्रतिनिधिसभा उम्मेदवार भएका थिए । अर्कोतिर, पृथ्वीसुब्बा गुरुङ प्रदेश सभा उम्मेदवार भएका थिए । दुवै नेताले त्यति बेला जित निकाले । पृथ्वी सुब्बा गुरुङ त गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री समेत बने । 

यसपटक पनि आफू प्रदेश सभामा नै चुनाव लड्न चाहेको बताउँदै आएका थिए, पृथ्वीसुब्बा गुरुङले । तर, उनलाई पार्टी नेकपा एमालेले प्रतिनिधि सभाको टिकट थमायो ।

देव गुरुङलाई पनि यसपटक मनाङ तथा कास्की–१ बाट निर्वाचन लड्ने प्रस्ताव आएको थियो । तर, उनले यसअघि आफूले जित निकालेको लमजुङलाई नै रोजे । 

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा लमजुङमा नेकपा एमालेभन्दा सत्तारुढ गठबन्धन बलियो देखिएको छ । तर, यसैको आधारमा देव गुरुङले मत पाउलान् भन्ने अनुमान गर्न सकिँदैन । लमजुङमा नेपाली कांग्रेसका कार्यकर्ता तथा मतदातालले कांग्रेसलाई मत दिन नपाएको भन्दै धेरै गुनासो गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रभन्दा बलियो नेपाली कांग्रेसको उपस्थिति लमजुङमा देखिने गरेको छ । मध्यनेपाल नगरपालिकाका अधिकांश वडामा स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनले क्लिन स्विप गरेको थियो । तर, त्यहाँ अधिकांश मतदाता नेपाली कांग्रेसका रहेका छन् ।

यसपटक देव गुरुङबाट यसअघि निर्वाचनमा जित निकालेपछि आफूहरुले सांसद भएको जिल्लाको अनुभूत गर्न नपाएको कांग्रेसी मतदाताहरुको गुनासो रहँदै आएको छ । त्यसैले यसपटक गठबन्धनका साझा उम्मेदवार देव गुरुङ भए पनि उनलाई मत नदिने पक्षमा अधिकांश कांग्रेसी मतदाता देखिन्छन् । यसले देव गुरुङलाई ठूलो झड्का लाग्न सक्छ ।



देव गुरुङ योसमेत गरी तेस्रोपटक संसदीय निर्वाचन लड्दै छन् । पहिलो संविधानसभाको निर्वाचनमा माओवादी उमेदवारको रूपमा कास्की र मनाङबाट निर्वाचित भएका थिए । २०७४ को चुनावमा वाम गठबन्धनको साझा उम्मेदवारको रूपमा उनी लमजुङबाट निर्वाचित भए ।

पृथ्वीसुब्बा गुरुङको यो सातौं निर्वाचन हो । २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनाव लडेका उनी त्यसपछि भएका हरेक निर्वाचनमा उम्मेदवार हुँदै आएका छन् । २०४८, २०५१, २०५६ को निर्वाचनमा पराजय भोगेका उनले ०६४ को पहिलो संविधानसभाको निर्वाचनमा चुनाव जिते । ०६३ को जनआन्दोलनपछि बनेको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएका बेला उनलाई चुनाव जित्न पनि सहज भयो । त्यसपछि दोस्रो संविधानसभा निर्वाचनमा फेरि पराजित भएका उनी ०७४ को प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनको तर्फबाट लमजुङ ख बाट चुनाव जितेर गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बने । 



लमजुङमा आठवटा स्थानीय निकाय छन् । यीमध्ये एक नगरपालिका र तीन गाउँपालिकामा एमालेले जितेको छ । तीन नगरपालिका र एक गाउँपालिका सत्ता गठबन्धनले जितेको छ ।

त्यसैले यसपटक लमजुङको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।

  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार १०:२९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया