पर्शुराम बस्नेतलाई प्रश्नः तपाईंलाई जनताले किन सांसद बनाउने ?

४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी मनोनय गरिसकेका विभिन्न दलका तथा स्वतन्त्र उम्मेदवारहरुले पछिल्लो समय चुनावी कार्यक्रम सुरु गरिसकेका छन्, घरदैलो अभियान सुरु गरिसकेका छन् ।

पछिल्ला दिनमा व्यापक घरदैलो अभियानमा लागेका त्यस्तै, एक उम्मेदवार हुन्, पर्शुराम बस्नेत (कृष्ण बस्नेत) । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ को प्रदेश सभा ‘ख’बाट उम्मेदवारी दिएका पर्शुराम बस्नेतसँग प्रतिस्पर्धामा छन्, प्रदेश १ का कांग्रेस नेता तथा आन्तरिक मामिला मन्त्री केदार कार्की । 

सत्ता गठबन्धनका कारण यो क्षेत्रमा यसअघि भएको स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन नेकपा एमालेभन्दा केही बलियो देखिएको छ । तर, पछिल्लो समय नेकपा एमाले र जनता समाजवादी पार्टीले चुनावी तालमेल गरेपछि बस्नेतको पल्ला भारी भएको टिप्पणी पनि हुन थालेको छ । 

त्यसमाथि २०७८ साल कार्तिक १६ गते प्रदेशको आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हाले यता कार्कीमाथि अनेक आरोप लागेका छन् । आर्थिक अनियमितता गरेको, प्रदेशमा राज्यसत्ताको दुरुपयोग गरेको जस्ता आरोपबारे कार्कीले जवाफ दिनु पर्ने छ जसले उनलाई यसअघि जितेको प्रदेशको त्यही क्षेत्रमा जित हासिल गर्न सहज हुने देखिएको छैन ।

त्यसमाथि पर्शुराम बस्नेतको यो क्षेत्रमा भएको लोकप्रियताका कारण पनि कार्कीलाई यसपटक निर्वाचनमा जित हासिल गर्न हम्मेहम्मे देखिन्छ । बस्नेत पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गर्न खोजिरहेको यो समयमा उनले विगतमा गरेका कामहरुको प्रशंसा उनको निर्वाचन क्षेत्रका मतदाताहरुले गर्ने गरेका छन् । 

यही सन्दर्भमा फरकधारले बस्नेतलाई प्रश्न गरेको थियो– तपाईंलाई किन प्रदेशमा सांसद बनाएर जनताले पठाउने ?



‘मैले जनतासँग रहेर यतिका वर्ष काम गरेँ, २०४८ सालदेखि निरन्तर रुपमा पार्टीको सदस्य भएर मैले यहाँकै जनताको सुखदुःखमा साथ दिएको छु,’ बस्नेतले भने, ‘व्यक्तिगत र पार्टीको तर्फबाट कतिपय काम गरेको भए पनि राज्यस्तरबाट काम गर्नका लागि संसदीय राजनीतिको महत्व भएको देशमा सांसद हुनै पर्ने हुन्छ । त्यसैले जनता र विकासको पुलको रुपमा म काम गर्न सक्छु भन्ने दृढता छ । यही मेरो अठोट पूरा गर्नका लागि मलाई यहाँका जनताले मत दिनुहुन्छ भन्ने विश्वास पनि छ ।’

विराटनगरलाई कर्मथलो बनाएका बस्नेतले त्यहाँ दुःखको साथी नामको एक संस्थामार्फत् तथा व्यक्तिगत रुपमा बाढीपहिरो, डुबानको समयमा होस् या कोरोनाभाइरसजस्ता महामारी फैलिँदा किन नहोस्, बारम्बार अग्रपंक्तिमा देखिएका हुन्छन् बस्नेत ।



‘जनतासँग मैले सधैं समस्या सेयर गरेको छु,’ बस्नेतले भने, ‘सकेको समयमा सधैं उहाँहरुसँग भएर उहाँहरुका लागि काम गरेको छु ।’ उनले यसरी काम गर्दा कहिलेकाहीँ नीति तथा नियमहरु नभएका कारण जनताको काम समयमा हुन नसकेको अनुभूत पनि गरेका छन् । ‘मोरङको यो क्षेत्र र सम्पूर्ण मोरङलाई अब हामीले विकसित, समृद्ध र सुखी जिल्ला बनाउनु पर्ने छ,’ बस्नेतले भने, ‘त्यसका लागि प्रदेश सरकारको भूूमिका विशिष्ट हुन्छ, प्रदेश सभा सदस्यको नाताले मैले यहाँका स्थानीय तहसँग मिलेर काम गर्नेछु र केन्द्र सरकारसँग पनि समन्वय गरेर अगाडि बढ्नेछु । म यहाँका जनताका लागि केन्द्र, प्रदेश तथा स्थानीय तीनै तहका सरकारसँग पुल बन्नेछु ।’

शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक विकासजस्ता विषयमा पनि आफू गम्भीर भएर मोरङमा उक्त क्षेत्रको विकासमा दिलोज्यान दिएर लाग्ने आफ्नो अठोट रहेको बस्नेतले बताए ।

‘शिक्षा तथा स्वास्थ्यमा यहाँका जनताको समान पहुँच हुनुपर्छ भनेर म लागिरहेको छु,’ उनले भने, ‘रोजगारी, खेलकुद क्षेत्रको विकास तथा यो क्षेत्रको सम्मुनत विकास नै मेरो लक्ष्य हो । त्यसलाई म अगाडि बढाउने छु । मैले यहाँका जनताले देखेका सपनालाई पूरा गर्नेछु ।’

  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार १३:४२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया