बागमतीका तीन मुख्यमन्त्री : डोरमणि र अष्टलक्ष्मी ब्याक, पाण्डेको फड्को प्रतिनिधिसभामा

मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरुको तयारी सुरु भइसकेको छ । निर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढिरहेको छ । बागमती प्रदेशका तीन मुख्यमन्त्रीमध्ये पूर्वमुख्यमन्त्रीद्वय ब्याक भएका छन् भने वर्तमान मुख्यमन्त्रीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । 

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, दोस्रो कार्यकालकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र वर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेमध्ये २ पूर्वमुख्यमन्त्री चुनाव नलड्ने भएका छन् भने वर्तमान मुख्यमन्त्री पाण्डे भने धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् । 

डोरमणि पौडेल 

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल नेकपा एमालेबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का हेभिवेट उम्मेदवारका रुपमा निकै चर्चा चलेको थियो । अबदेखि कुनै पनि निर्वाचनमा भाग नलिने निर्वतमान मुख्यमन्त्री पौडेलले घोषणा गरेर योपटक उम्मेदवारीबाट ब्याक भएका छन् । निर्वाचनमा भाग लिएर देश विकासमा देन दिनसक्ने आँट भएपनि अब आफ्ना नाति उमेरका युवाहरुलाई अब राजनीति भविष्य सुम्पनुपर्ने भन्दै उनले निर्वाचनमा भाग नलिने बताएका हुन् । निर्वाचनमा भाग नलिए पनि पार्टी बलियो बनाउनका लागि भने साथ दिइरहने उनको भनाइ छ ।  

बागमती प्रदेशको पहिलो मुख्यमन्त्री भएर ४२ महिना सरकार चलाएका पौडेल मकवानपुरबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा नेकपा एमालेबाट मकवानपुर १(ख) मा पौडेल विजयी भएका थिए । उनी २०६४ र २०५४ मा हेटौंडा नगरपालिकाको मेयर निर्वाचित भएका थिए । नेकपा एमाले संसदीय दलका नेता पौडेल ०७४ माघ १८ गते मुख्यमन्त्रीमा नियुक्त भएक थिए । ७४ वर्षीय पौडेल ४२ वर्षदेखि राजनीतिमा सक्रिय छन् ।

अष्टलक्ष्मी शाक्य



बागमती प्रदेशकी द्वितीय मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पनि आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा कुनैमा पनि आफ्नो उम्मेदवारी गराएकी छैनन् । लामो समय राजनीतिक यात्रामा सामेल भएकी शाक्य आगामी निर्वाचनमा प्रदेशसभा तथा प्रतिनिधिसभा दुवैमा उम्मेदवारी नदिने बताउँदै ब्याक भएकी छिन् । 

२०४८ देखि २०५० सम्म राष्ट्रिय सभा सांसद भएकी शाक्य २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंबाट निर्वाचित भएकी थिइन् । उनी २०६१ सालमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा महिला मन्त्री बनेकी थिइन् । २०६४ सालको संविधान सभामा भने उनी पराजित भइन् । २०६५ सालमा उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उद्योगमन्त्री बनेकी थिइन् । २०७० को संविधान सभामा समानुपातिक सांसद बनेकी शाक्य २०७४ सालमा भने बागमती प्रदेश सभा सदस्य बनेकी थिइन् । 



एमले विभाजनको सँघारमा प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा गराएर एमालेले शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा पठाएको थियो ।  ०७८ भदौ २ गते अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन् । मुलुककै पहिलो महिला मुख्यमन्त्री तथा बागमती प्रदेशको दोस्रो मुख्यमन्त्री नियुक्त शाक्यले प्रदेशसभामा बहुमत जुटाउन नसकेपछि सत्ताबाट बाहिरिनुपरेको थियो । 

राजेन्द्र पाण्डे

बागमती प्रदेशका वर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे २०७४ सालको प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट धादिङ १ ‘क’ बाट बागमती प्रदेश सभामा निर्वाचित भएका थिए । ४ वर्षभन्दा लामो समय प्रदेश सांसदको भूमिकामा रहेका पाण्डे २०७८ कात्तिक ११ गते नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा मुख्यमन्त्री बनेका हुन् । 
बागमतीको मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डे अब प्रदेशमा दोहोरिन नचाहेर संघको निर्वाचनमा सहभागी हुँदै छन् । 

२०७४ मा धादिङबाट प्रदेशसभा सदस्य निर्वाचित उनी नेकपा एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष छन् । पार्टीको केन्द्रीय उपाध्यक्ष पनि भएकाले अब संघमै चुनाव लडेर केन्द्रीय नेतृत्वलाई सहयोग गर्नुपर्ने मुख्यमन्त्री पाण्डे बताउँछन् । पाण्डे लगातार निर्वाचित हुने नेतामा पर्छन् । धादिङबाट २०४८, २०५१, २०५६ र २०७० को प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

चारपटक प्रतिनिधि सभा सदस्य भइसकेका उनी २०७४ को निर्वाचनमा भने मुख्यमन्त्री बन्ने उद्देश्यले प्रदेशसभामा झरेका थिए । आगामी निर्वाचनमा भने प्रदेशमा आउन नचाहेर संघमा आफ्नो उम्मेदवारी दिएका छन् । 

  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार २०:४०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया