चितवन ३ का बागी काेइरालाले भने– अंश, वंश र अर्थको भरमा राजनीति चल्न दिइन्नँ

चितवन ३ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालाले अंश, वंश र अर्थको भरमा राजनीति चल्न नदिइने बताएका छन् । कोइरालाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी ३० वर्षे राजनीतिक यात्रालाई दाउमा राखेर विकृत प्रथाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारीविरुद्ध बागी उम्मेदवारी दिएका कोइरालालाई कांग्रेसले पाँच वर्षका लागि निलम्बन गरिसकेको छ । कांग्रेसको १४औं महाधिवेशनबाट लोकप्रिय मतका साथ खुला केन्द्रीय सदस्यमा निर्वाचित कोइराला संस्थापन इतर समूहका नेता हुन् । बोल्न सुरु गरेपछि भावुक बनेका उनले आफ्नो उम्मेदवारी बागी र विद्रोही भन्दा धेरैमाथि भएको बताएका छन् ।

गठबन्धन देश विकासको निम्ति नभई सीमित परिवारका लागि मात्रै भएकोले आफू त्यो बाटोमा जान नसकेको उनले बताए । ‘४२ वर्षको उमेरमा आमा गुमाउँदा पनि त्यति रोएको थिइन, जति अहिले रुँदै छु’, उनले भने, ‘पार्टीभित्र बोलेका कुरा कसैले नसुनेपछि पिँजडाको सुगा र अन्य पार्टीको दास बन्न नसकेर यो निर्णय गर्न बाध्य भएको छु ।’

एक सांसदको लागी मात्र उम्मेदवारी नदिएको भन्दै उनले लोकतन्त्रको खोल ओढेको राणाशासन अब चल्न नदिने बताए । अंश, वंश र अर्थको आधारमा राजनीति चल्न नदिने, गिरोहलाई देश चलाउन नदिने र पारिवारिक शासन चल्न नदिने आफ्ना मुख्य एजेण्डा रहेको कोइरालाले स्पष्ट पारेका छन् ।

अहिलेको परिवेशमा कांग्रेस र एमाले देशको वर्तमान र भविष्य भएको उनले दाबी गरे । यी दुई पार्टीलाई सही बाटोमा नहिँडाई देश ठिक बाटोमा हिँड्न नसक्ने भन्दै उनले राष्ट्रिय राजनीतिमा हस्तक्षेप गरेर शान्तिपूर्ण तथा रचनात्मक क्रान्ति गर्न पार्टीलाई सुधार्नुपर्ने बताए ।

‘सीमित परिवारका लागि मात्र लोकतन्त्र हुने, बाँकीले दास बन्नुपर्ने विकृत प्रथा कुनै हालतमा मान्य हुँदैन’, उनले भने । राष्ट्रिय राजनीतिमा चितवनले हस्तक्षेप गर्ने उनको दाबी छ । ‘हिजो हजारौँ मान्छे मारेर क्रान्ति गरेको भन्दै भ्रम फैलाउनेहरूले परिवार पोसे, देश लुटे, देश र समाज भत्काए, जनतालाई रुवाए । अब सांसदलाई विकृति र लुटको अखडा बनाउन दिइने छैन’, उनले भने, ‘यसको अगुवाइ चितवन क्षेत्र नम्बर ३ का जनताले गर्नेछन् ।’





  • प्रकाशित मिति : असोज २८, २०७९ शुक्रबार १९:४१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया