मकवानपुरमा ६९ जनाको उम्मेदवारी, महिला दुई जना मात्रै चुनावी मैदानमा

प्रदेशसभा तथा प्रतिनिधि सभा निर्वाचन आउन अब ३५ दिन बाँकी छ । मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरू मत माग्न मतदाताको घर आँगन पुग्न थालिसके । विभिन्न आश्वासन बाँड्दै मकवानपुरका उम्मेदवारहरू मत माग्न टोल/टोल पुग्ने गरेका छन् । दुई प्रतिनिधिसभा क्षेत्र र चार प्रदेश सभा क्षेत्र रहेको मकवानपुरमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा प्रतिनिधिसभाको निर्वाचनको लागि क्षेत्र नम्बर एकमा दुई स्वतन्त्रसहित १६ र क्षेत्र नम्बर २ मा एक स्वतन्त्रसहित १० गरी २६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । यसै गरी प्रदेशसभाको निर्वाचनको लागि क्षेत्र नम्बर १ (क) मा ८ जना, (ख) मा १० तथा क्षेत्र नम्बर २ (क) मा १० जना र (ख) मा १५ गरी ४३ जनाले उम्मेदवारी दर्ता गराएकोमा जिल्लाका राजनीतिक दलको तर्फबाट दुई जना महिलाले मात्रै प्रत्यक्ष तर्फको टिकट हात पारेका छन् ।

मकवानपुरमा मात्रै होइन देशभर नै राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचनतर्फ महिलालाई टिकट दिन कञ्जुस्याइँ गरेका छन् । संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ तर प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि २३ असोजमा मनोनयन गराएका उम्मेदवारमध्ये नौ प्रतिशत हाराहारी मात्रै महिला छन् । प्रमुख राजनीतिक दलहरूमा महिला उम्मेदवारको हिस्सा झनै न्यून छ ।

जिल्लामा राजनीतिक सत्ता गठबन्धन तर्फबाट दुई महिलाले प्रत्यक्ष तर्फको टिकट पाएका हुन् । पाँच दलीय सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसको तर्फबाट महालक्ष्मी उपाध्याय (डिना) ले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा र नेकपा माओवादी केन्द्रबाट कुमारी मोक्तानले प्रदेश सभा क्षेत्र नम्बर २ को (ख) मा उम्मेदवारी दिएकी छन् । अन्य दलहरु नेकपा एमाले, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका पार्टीहरूले भने प्रत्यक्ष तर्फ महिलालाई अवसर दिएका छैनन् । नेकपा एमाले मकवानपुरले सूर्य चिन्हका लागि ६ जना नै पुरुष उम्मेदवार मात्रै खडा गरेको छ । 

उम्मेदवार चयनको प्रक्रिया सुरु नहुँदै महिला नेतृहरूले सडकदेखि सदनसम्म प्रत्यक्ष निर्वाचनमा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने सवाल उठाउँदै आएका थिए । उम्मेदवार सिफारिसका समयमा पनि आफ्नो हक अधिकारको लागि महिलाहरूले आवाज नउठाएका भने होइनन् । महिलाको मान राख्नैको लागि भए पनि सिफारिसमा नाम राखिएता पनि केन्द्रको आदेश भन्दै प्रत्यक्ष तर्फको उम्मेदवारीबाट महिलाहरूलाई पछि पार्दै आइने चलनको अन्त्य यो निर्वाचनमा पनि हुन नसकेको प्रस्ट छ । निर्वाचन आयोगले भने दलहरूलाई एक तिहाइ सिटमा महिलालाई उम्मेदवार बनाउन निर्देशन दिएको थियो । तर दलहरूले सार्वजनिक बहस र आयोगको निर्देशन समेतलाई लत्याउँदै उम्मेदवार चयनमा पुरानै प्रवृत्ति दोहोर्‍याएका छन् । संसद्मा महिलाको हिस्सा एक तिहाइ पुर्‍याउन दलहरूले फेरि पनि समानुपातिक उम्मेदवार बाटै बढी प्रतिनिधित्व गराउनुपर्ने भएको छ । 

प्रत्यक्ष टिकट पाउने दुई महिला 

जिल्लामा राजनीतिक दलको तर्फबाट प्रत्यक्ष तर्फको टिकट पाउने उपाध्याय र मोक्तान दुवै जिल्लाकै बोल्ड नेतृको रुपमा परिचित छन् । नेपाली कांग्रेसकी उपाध्याय पूर्व जलस्रोत राज्यमन्त्री समेत हुन् भने नेकपा माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य समेत रहेकी मोक्तान बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हुन् । राजनीतिक यात्रामा स्थापित यी दुई नेतृ मंसिर ४ को निर्वाचनमा प्रत्यक्ष तर्फबाट चुनावी मैदानमा उत्रँदै छन् । 



ढुक्क उपाध्याय

अन्य निर्वाचनमा पराजित भए पनि मंसिर ४ मा आफ्नो जित सुनिश्चित रहेको बताइन् । गठबन्धन दलका उम्मेदवारहरू आफूलाई मत दिन हतारमा रहेको उनले प्रतिक्रिया दिँदै आइरहेकी छिन् । यस अघिका हारहरूले धेरै पाठ सिकेर आएको कारण आगामी निर्वाचनमा जित्नेमा ढुक्क रहेको उनी बताउँछिन् । 
 
२०४८ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेकी उनी तत्कालीन समयमा एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भएकी थिइन् । २०५१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उनी खतिवडासँगै पराजित भइन् । २०५६ मा भएको आमनिर्वाचनमा उनी उम्मेदवार बनिनन् । २०७४ सालमा भएको निर्वाचनमा पनि डिना पुनः एक पटक खतिवडासँगै पराजित हुन पुगिन् । अघिल्ला निर्वाचनहरूमा हार व्यहोर्न परेता पनि आगामी प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धन भएकोले विजयी हुनेमा ढुक्क रहेको उनको दाबी छ । 



प्रत्यक्षमा पार्टीले रोजेर पठाएको हो  

अघिल्लो प्रदेशसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित मोक्तान आगामी निर्वाचनमा २ (क) बाट चुनावी मैदानमा होमिन लागेकी छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेसँगको गठबन्धनमा विजयी बनेकी उनी आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको बताउँछिन् । दुई राजनीतिक दल हुँदा जितेकी उनलाई पाँच दलीय गठबन्धनले अझै भरोसा बटुलिएको छ । प्रत्यक्ष तर्फको निर्वाचनमा जनताको मतले आफूलाई जिताउने उनको भनाइ छ । पार्टीको निर्णयले नै आफूले टिकट पाएको बताउँदै मोक्तान जनताको साथ पाइनेमा दुई मत नरहेको बताइन् । 

१६ वर्षको उमेरमा जनयुद्धमा होमिएकी नेकपा माओवादी केन्द्रकी नेतृ मोक्तान नेकपा माओवादी केन्द्रबाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा मकवानपुर २ (क) मा प्रदेशसभा सदस्य निर्वाचित मोक्तान यसअघि दुई पटक सांसद भइसकेकी हुन् । अघिल्लो निर्वाचनमा उनी १३ हजार ८९ मतको फराकिलो अन्तरले प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् । 
तत्कालीन नेकपा माओवादी शान्ति सम्झौतामार्फत संसदीय राजनीतिमा आएपछि २०६३ सालमा मोक्तान संसद सदस्य मनोनीत भएकी भएकी थिइन् । उनी २०६४ सालमा मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भइन् । 

मोक्तान २०५६ सालमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्ष हुँदा हेटौंडाको बुद्ध चोकबाट पक्राउ परेकी थिइन् । एक वर्ष जेल जीवन बिताएकी उनी २०५८ सालमा तत्कालीन नेकपा माओवादीको जिल्ला जनसरकार प्रमुख, २०५९ सालमा जिल्ला सेक्रेटरी भएकी थिइन् । मोक्तान २०६४ सालमा मकवानपुर इन्चार्ज भएकी थिइन।  

  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार ८:४१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया