नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा श्रद्धाञ्जली दिँदै उनको योगदान सम्पूर्ण नेपालीका लागि चिर स्मरणीय हुने उल्लेख गरेका छन् ।
प्रचण्डले भनेका छन्, ‘नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको आज बिहान १०३ वर्षको उमेरमा दुःखद निधन भएको खबरले हामी सबै नेपालीलाई स्तब्ध बनाएको छ । उहाँको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।’
१०३ वर्षको उमेरमा पनि जोशीको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्प्रेरणाको श्रोत बनेर रहने प्रचण्डले उल्लेख गरेका छन् । ‘नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाई स्थापित गर्न उहाँले गर्नुभएको योगदान सम्पूर्ण नेपालीका लागि चीर स्मरणीय रहनुका साथै १०३ वर्षको उमेरमा पनि उहाँको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्प्रेरणाको श्रोत बनेर रहने छ,’ उनले लेखेका छन् ।
नेपाल सरकार र नेपाली जनताले उनको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने छन् भन्ने विश्वास लिएको प्रचण्डले उल्लेख गरेका छन् । ललितपुरको किस्ट मेडिकल कलेजमा उपचारको क्रममा संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको आज बिहान सात बजे निधन भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।