नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औँ संस्करण आउँदो कात्तिक ११ देखि १५ गतेसम्म हुने भएको छ । नेपालका लागि युरोपेली युनियनको डेलिगेसनको कार्यालयले पत्रकार सम्मेलन गर्दै यो संस्करण काठमाडौं सँगै काठमाडौंबाहिर पनि आयोजना हुने जनाएको छ ।
महोत्सवमा १३ युरोपेली र ३ नेपाली चलचित्र प्रर्दशन हुने आयोजकले जनाएको छ । प्रत्यक्ष र अनलाइन गरी हाइब्रिड मोडलमा चल्ने महोत्सव भौतिक रुपमा चलचित्र विकास बोर्डमा हुनेछ भने अक्टोबर २८ देखि नोभेम्बर २८ सम्म अनलाइन चल्नेछ । सुर्खेतमा हुने महोत्सव कार्तिक १९ देखि २२ गते सम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना गरिने छ । सुर्खेतमा ५ युरोपियन तथा ३ नेपाली चलचित्र प्रदर्शित गरिने छन् ।
‘दुई वर्षको अन्तरालपछि सिनेमा हलमा फेरि जान पाउनु र युरोपका १३ उत्कृष्ट चलचित्रका साथै ३ नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा हामी धेरै उत्साहित छौँ । सिनेमा सांस्कृतिक र बौद्धिक जीवनको अग्र भागमा रहन्छ र सांस्कृतिक आदान प्रदानलाई प्रवर्द्धन गर्न र हाम्रो जीवनलाई प्रभावित पार्ने सवालहरूलाई हामी कसरी हेर्छौँ भन्ने हाम्रो बुझाइलाई संवृद्ध बनाउनका लागि सिनेमा प्रभावकारी माध्यम हो,’ नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोयेले हिभोनेटले पत्रकार सम्मेलनमा भनिन् ।
१३ युरोपियन चलचित्र मध्ये रिता हुतानेनले निर्देशन गरेको ‘गड्स् अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कार ले निर्देशन गरेको ‘लोला’ र आराश टी. रिहाहीले निर्देशन गरेको ‘अस्कर एण्ड लिली’मा नेपाली सब्टाईटल हुने छन् ।
महोत्सवमा भर्खरै प्रदर्शन भएर चौतर्फी प्रशंसा कमाएको ‘ऐना झ्यालको पुतली’ पनि प्रदर्शन हुनेछ । किरण श्रेष्ठले निर्देशन गरेको ‘येट अनदर विन्टर’ र विशाल रोक्का मगरले निर्देशन गरेको ‘गोर्खा गल्र्स्’ उत्सवमा देखाइने अन्य दुई नेपाली चलचित्रहरू हुन् ।
महोत्सवको सद्भावना दूत नायिका केकी अधिकारी हुनुहुन्छ । केकी अधिकारीले कार्यक्रममा बोल्दै युरोपेली चलचित्रको प्रदर्शनले सिनेमा साक्षरतामा अभिवृद्धि गर्ने र नेपाल र युरोपबीच सहकार्यका ढोका खोल्ने विश्वास व्यक्त गरिन् ।
महोत्सवअन्तर्गत चलचित्र र चलचित्र निर्माणका विभिन्न पक्षहरुसँग सम्बन्धित तीन पूरक क्रियाकलापहरूको पनि आयोजना हुनेछ । २९ अक्टोबरमा नेपालको समय अनुसार अपराह्न २ बजे आयोजना गरिने कार्यक्रममा चलचित्र निर्माणमा आर्काइभ अर्थात् पुराना सामग्रीको प्रयोग कसरी गर्न सकिन्छ भन्ने चर्चा गरिनेछ । यस विषयमा युरोपका विज्ञ गाई बोर्ले र नेपाली विज्ञ उलासा गुरुङ्गले आफ्ना अनुभव साट्नेछन् ।
दोस्रो पूरक कार्यक्रम ‘चलचित्रहरूले वातावरण संरक्षणमा कस्तो योगदान गर्न सक्छन्’ भन्ने विषयको अन्तर्क्रियामा ह्युगो मेज र रोशनी अधिकारी सहभागी हुनेछन् । सो पूरक कार्यक्रम थेरेसा होफेर्ट दे तुरेगानो र अनुप पौडेलले नोभेम्बर १ अर्थात् कार्तिक १५ गते अपराह्न २:०० बजे सञ्चालन हुनेछ । यो कार्यक्रम युरोपमा फिल्म निर्माणको अवस्था र युरोपेली र नेपाली चलचित्र क्षेत्रमा काम गर्ने व्यक्तिहरू बिच सहयोग र सहकार्य सम्बन्धी हुनेछ ।
सुर्खेतमा चलचित्रकर्मी सुजित बिडारीले कात्तिक २२ गते कर्णाली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रक्रमीहरूलाई लागि मास्टरक्लास दिनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।