logo-img

मकवानपुर २ मा पूर्वमन्त्री खतिवडाको जोगिएला बिरासत ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन मकवानपुरमा रोचक बन्ने देखिएको छ । दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको यहाँ क्षेत्र नम्बर १ लाई हार्नेहरुको टक्करलाई लिएर चासोको रुपमा हेरिएको छ भने क्षेत्र नम्बर २ मा सधैँ जितिरहने हेभीवेट उम्मेदवारले आफ्नो साख जोगाउन सफल होलान् कि नहोलान् भन्ने विषयले चर्चा पाइरहेको छ । 

मकवानपुर क्षेत्र नम्बर २ का हेभीवेट नेता पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडा कहिल्यै पराजित नहुने नेताको नामले जिल्लामा स्थापित नाम हुन् । नेकपा एमालेका नेताको रुपमा परिचित खतिवडालाई आगामी निर्वाचनमा आफ्नो साख जोगाउन मुस्किल पर्नुको एउटा कारण हो, पार्टी परिवर्तन । यसपटक उनी एकीकृत समाजवादीबाट सिफारिसमा परेका छन् । खतिवडा ५ पुस २०७७ मा संसद विगठन भएपछि नेकपा एमाले छोडेर एकीकृत समाजवादीमा लागेका थिए । 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका खतिवडालाई यसपालि एमालेसँगै आफ्नो बिरासत जोगाउन उनलाई चुनौती छ । क्षेत्र नम्बर २ मा १० जना (एक स्वतन्त्र)सहितको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये हालसम्म चर्चामा रहेको खतिवडा हुन् भने उनको बिरासत भत्काउने रेसमा नेकपा एमालेका महेश बर्तौला रहेका छन् । खतिवडालाई जसरी पनि पराजित गरेर खतिवडाको बिरासत भत्काउने नेकपा एमाले मकवानपुरको रणनीति छ । 

निर्वाचनमा सफलता

४ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका खतिवडाको यो उम्मेदवारी पाँचौँ हो । २०४८, २०५१ र २०५६ र २०७४ को निर्वाचनमा मकवानपुर–२ बाट निर्वाचित भएका थिए । तत्कालीन नेकपा एमालेका बलियो नेताको रुपमा लगातार उम्मेदवार बनिररहेका उनलाई जनताको साथ पनि उत्तिकै मिलेको थियो ।
 
खतिवडा २०४८ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट जितेका थिए । सो निर्वाचनमा खतिवडाले १६ हजार ८६९ मत ल्याएर नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’लाई पराजित गरेका थिए ।

त्यस्तै, २०५१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उनी १६ हजार १ सय ४४ मत पाएर निर्वाचित भए । उनीसँग राप्रपाका कमल थापा, कांग्रेसकी डिना र स्वतन्त्र उम्मेदवार विश्वराज उप्रेती प्रतिस्पर्धामा थिए । 



खतिवडाको निकटतम प्रतिद्वन्द्वी राप्रपाका थापाले ११ हजार ८ सय ७८ मत पाउँदा कांग्रेसकी डिनाले ३ हजार ७९२ र स्वतन्त्र उम्मेदवार उप्रेतीले ४ हजार ८६६ मत पाएका थिए ।

२०५६ मा भएको आम निर्वाचनमा खतिवडा मकवानपुर–२ बाटै उम्मेदवार बनेका थिए । सो निर्वाचनमा खतिवडाले राप्रपाका दीपक सिंहलाई हराउँदैे १८ हजार २ सय ८१ मतसहित चुनाव जित्दा राप्रपाका सिंहले १५ हजार ९ सय १ मत प्राप्त गरेर पराजित हुन परेको थियो । 



त्यसपछि २०७४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा पनि मकवानपुरको क्षेत्र नम्बर  बाट नै खतिवडाको उम्मेदवारी रह्यो । लगातार तीनपटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्य बनेका उनको २०७४ को निर्वाचनमा पनि उम्मेदवारी दिने मौका पाए । 
सो निर्वाचनमा पनि मकवानपुर क्षेत्र– २ का लागि  एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवार बनका उनले चौथोपटक पनि सफलता हात पारे । उनी ४६ हजार ४ सय ८१ मतका साथ निर्वाचित भएका थिए । 

गतवर्ष मात्रै खतिवडाले ३० वर्षपछि मन्त्री बन्ने अवसर पाए । कोरोना महामारी चलिरहेको चुनौतीपूर्ण स्थितिमा खतिवडाले ८ महिना स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी समेत सम्हालिसकेका छन् । 
 

  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया