नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा नेपाल पुलिस क्लबकी टीकामाया गुरुङले स्वर्ण पदक जितेकी छिन् ।
उनले महिला ५५ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । टीकामायाले स्न्याचमा ६० र क्लिन एण्ड जर्कमा ८० गरी कुल १४० केजी भार बहन गर्दै स्वर्ण जित्न सफल भइन् ।
यस्तै, त्रिभुवन आर्मीकी प्रभा थारुले न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १२९ केजी भार उठाउँदै रजत जित्दा लुम्बिनी प्रदेशकी कृष्णकला विष्टले कास्य जितिन् ।
कृष्णकलाले स्न्याचतर्फ ५६ र क्लिन एण्ड जर्कमा ७२ गरी कुल १२८ केजी तौल उठाउन सकिन् । उनी प्रभाको तुलनामा १ केजीमात्र भार कम उठाउँदा कास्यमा सिमित भएकी हुन् । यो स्पर्धामा १२ जना खेलाडीले भाग लिएका थिए ।
२ कात्तिकसम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान १० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।