महामारीको लामो छायाँकालपछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबई जाने भएको छ । आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) ब्यान्ड उक्त सहरमा तेश्रोपटक प्रस्तुत हुँदै छ । चाडबाडको बेला आफन्तबाट हजारौँ किलोमिटर पर रहेका नेपाली दाजुभाइलाई दसैं, तिहार र छठको समेत संगीतमय कोसेली बोकेर ब्यान्ड त्यसतर्फ जान लागेको हो ।
विश्व बजारकै महत्त्वपूर्ण थलो बन्दै गइरहेको दुबई सहर नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकमध्येको युनाइटेड अरब इमिरेट्सको व्यापारिक केन्द्र पनि हो । यस सहरमा आयोजित अघिल्ला कन्सर्टहरूको बेला अन्य इमिरेट्सहरु विशेषगरि अबुधाबी, सारजहाँ र रस अल खइमाबाट पनि नेपाली दर्शक उल्लेख्य संख्यामा उपस्थित भएका थिए । अघिल्लापटकहरु झैं यसपाला पनि दुबइस्थित ‘अल नासेर लिजरल्याण्ड’ मै ब्यान्ड प्रस्तुत हुँदै छ ।
‘आइस स्केटिङ लगायत सांगीतिक कार्यक्रम स्थलको रूपमा चिनिने उही स्थलमा प्रस्तुत हुनेगरि यस पटक हामी फेरि पुरै जोश र जाँगरका साथ दुबई आउँदैछौं,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘श्रोता दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीतहरू यस पटक प्राथमिकतामा परेकाछन् ।’
कोरोना महामारीपछि जुर्मुराउँदै गरेको यो सहरमा हालै सम्पन्न छ महिना लामो ‘दुबई एक्स्पो’ का कारण विश्वभरका १ सय ९२ मुलुकबाट दुई करोड चालिस लाख सहभागीले भ्रमण गरेका थिए ।
आफ्नो प्रिय ब्यान्ड नेपथ्य फेरि दुबई आउन लागेको जानकारीले आयुष मान डंगोल हर्षित छन् । ६ वर्षभन्दा लामो समयदेखि एयर अरेबियाका जहाजहरु उडाउँदै आइरहेका पाइलट आयुषका अनुसार नेपथ्यको आगमनले उक्त मुलुकमा ल्याउने हलचल बेग्लै हुने गर्छ । ‘दुबई मा हुने प्रायः नेपाली कार्यक्रम आएगएको अधिकांश नेपालीलाई पत्तै हुँदैन,’ उनी भन्छन्, ‘तर, नेपथ्यले भने आफूलाई उच्चस्तरमा प्रस्तुत गर्ने भएकाले उसको कन्सर्टका बेला एक हिसाबले राष्ट्रिय गौरवकै अनुभूति हुन्छ ।’
बिरानो मुलुकमा आफूलाई नेपाली हुँ भनेर गर्व गर्ने थोरै अवसरहरूमध्ये नेपथ्य प्रस्तुत हुँदाको क्षण पनि बन्ने गरेको आयुषको अनुभव छ । ‘बेग्लै दुनियाँमा व्यस्त भइरहँदा यतै बसोबास गर्ने नेपाली दाजुभाइसँग भेटघाटको अवसर पनि यो कन्सर्टले जुराइदिन्छ,’ उनी भन्छन्, ‘त्यसमाथि आफूले जुन ब्याण्डका गीतहरू सुनेर हुर्किएको हो त्यसले यति पर पनि प्राथमिकताका साथ आफूलाई प्रस्तुत गरिरहेको पाउँदा आनन्दै अर्को हुन्छ ।’ आयुष सारजहाँ सहरमा बसोबास गर्छन् भने अघिल्लो पटक पनि नेपथ्यको कन्सर्ट हेर्न दुबई पुगेका थिए ।
नेपथ्यले २०१५ को महाभूकम्प लगत्तै आफूलाई यस सहरमा प्रस्तुत गरेको थियो । पूर्व निर्धारित कार्यक्रम भएकैले शोकका बेला पनि उपस्थिति जनाउन पुगेको नेपथ्यले त्यति बेला दुबई कन्सर्टबाट प्राप्त रकममध्ये प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोगार्थ जम्मा गरेको थियो । ‘त्योबेला शोककै क्षण आयोजित भएता पनि झण्डै दुई हजार दर्शक उपस्थित भएका थिए,’ गायक अमृत सम्झन्छन्, ‘त्यो कन्सर्टकै भिडियो रेकर्डमा आधारित रहेर हामीले ‘कोशीको पानी यो जिन्दगानी’को म्यूजिक भिडियो पनि तयार पारेका थियौं ।’
त्यसको चार वर्षपछि सन् २०१९को मार्च महिनामा दोश्रोपटक नेपथ्य दुबई पुगेको थियो । ‘नेपथ्य उसका श्रोता दर्शकहरुको मायाकै जगमा अडिएको छ,’ अमृत भन्छन्, ‘अघिल्ला दुवै पटक जाँदा पाइएको आत्मीयताले नै होला, कोरोना महामारीपछिको पहिलो विदेश यात्राका रूपमा दुबई उपस्थित हुने जोग मिल्न गयो ।’
नेपथ्यलाई यस पटक दुबई सहरमा ‘अमृत इभेन्ट्स’ले प्रस्तुत गर्नलागेको हो । ‘बिदेसिएका नेपालीहरूको निम्ति नेपथ्य आउने समाचारले चाडबाडको बेलामा खुसीयाली थपिदिएको छ,’ आयोजक अमृत इभेन्ट्सका आशिष पुरुष भन्छन्, ‘अघिल्लापटक जस्तै यस पटक पनि नेपथ्यले सुनाउने स्वदेशी भाका सुन्नका निम्ति दुबई र आसपासका सहरमा बसोबास गर्ने नेपालीहरूले व्यापक चासो देखाइरहेका छन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।