नवौं राष्ट्रिय खेलकुदः राष्ट्रिय कीर्तिमानसहित सोम र रमितालाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुष ४ सय मिटर दौडमा विभागीय त्रिभुवन आर्मीका क्लबका सोमबहादुर कुमालले राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितेका छन् ।

पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार भएको स्पर्धामा सोमले निर्धारित दुरी ४७.९५ सेकेन्डमा पूरा गर्दै  स्वर्ण जितेका हुन् । उनले यसअघि आफ्नै नाममा रहेको ४८.२० सेकेन्डको ह्यान्ड टाइमको कीर्तिमान सुधार गरे । 

४ सय मिटर पुरुष दौडमा इलेक्ट्रिक टाइमिङको कीर्तिमान आशाराम चौधरीको नाममा छ  छ । उनले सन् १९९० को बेइजिङ एसियन गेम्समा ४८.३२ सेकेण्डको समय निकाल्दै यो कीर्तिमान कायम गरेका थिए । 

आशारामको भन्दा राम्रो समय निकाले पनि सोमको कीर्तिमानले अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन । यस स्पर्धामा एपिएफका आशिष चौधरीले ४९.४० सेकेन्डमा पूरा गर्दै रजत तथा आर्मीका प्रकाश दनुवारले ४९.९० सेकेन्डको समय निकाल्दै कास्य जिते । 

महिलातर्फको ४ सय मिटर दौडमा एपिएफकी रमिताकुमारी थारुले ह्यान्ड टाइममा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्ने क्रममा निर्धारित दुरी ५८.१० सेकेन्डमा पूरा गरिन् । रमिताले दिलमाया कार्कीको नाममा रहेको ५८.५० सेकेन्डको ह्यान्ड टाइमको कीर्तिमान तोडेकी हुन् । दिलमायाले २०१० मा ढाकामा उक्त कीर्तिमान बनाएकी थिइन् । 

४ सय मिटर महिला दौडमा दिलमाया र प्रमिला रिजालको नाममा ५९.९० सेकेण्डको इलेक्ट्रिक टाइमिङको कीर्तिमान छ । यो स्पर्धामा आर्मीकी निर्मला थापाले १ मिनेट ००.१४ सेकेन्डको समय निकाल्दै रजत तथा एपिएफकी कल्पना श्रेष्ठले १ मिनेट ००.७० सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जिते । 





  • प्रकाशित मिति : कात्तिक १, २०७९ मंगलबार १०:४०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया