युक्रेन युद्धको विरोध गर्ने पत्रकार रुसबाट भागेकी छन् । राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन आक्रमणको प्रत्यक्ष प्रसारणमा विरोध गर्ने पूर्व रुसी सरकारी टेलिभिजन पत्रकार मारिना ओभ्स्यानिकोभा वान्टेड सूचीमा परेपछि देश छाडेकी हुन् ।
मारिनाले देश छाडेको उनका वकिलले पुष्टि गरेका छन् । ‘ओभ्स्यान्निकोभा र उनकी छोरीले आफू नजरबन्दमा रहेको ठेगानाबाट निस्किएको केही घण्टापछि रुस छाडेकी हुन् । उनीहरू अहिले युरोपमा छन्’ ओभ्स्यानिकोभाका वकिल दिमित्री जाख्भाटोभले एएफपीलाई भने ‘उनीहरू ठीक छन्। तिनीहरू सार्वजनिक रूपमा कुरा गर्न सकिरहेका छैनन्,’ उनले थपे।
‘‘पुटिन एक हत्यारा हुन् । उनका सिपाहीहरू फासीवादी हुन्’, लेखिएको पोस्टर बोकेर क्रेमलिननजिकै जुलाईको मध्यमा एक्लै विरोध प्रदर्शन गरेपछि उनलाई अगस्टदेखि घरमै नजरबन्द गरिएको थियो ।
च्यानल ओनकी पूर्वसम्पादक मारिनाले सन्ध्याकालीन समाचारको समयमा ‘नो वार’ लेखिएको पोस्टर देखाएकी थिइन् । कानुन प्रवर्तन निकायले ४४ वर्षीया मारिनालाई रुसी सशस्त्र सेनाको बारेमा गलत सूचना वितरण गरेको आरोप लगाएको थियो । उक्त आरोप पुष्टि भएमा उनलाई १० वर्षको जेल सजाय हुन सक्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।