नेपाल शेख रसेल कप चेसको सुपर लिगमा श्रीलंकासँग पराजित
फरकधार / ३ कात्तिक, २०७९

नेपाल शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसिपको सुपर लिगमा श्रीलंकासँग ३–१ ले पराजित भएको छ । 



बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनसिप अन्तर्गत बुधबार सम्पन्न सुपर लिगको दोस्रो खेलमा नेपालका लागि सिंगेश्वर दासले मात्र जीत हात पारे । 

नेपाली टिमका लागि तेस्रो बोर्डमा प्रतिष्पर्धा गरिरहेका दासले श्रीलंकाविरुद्ध दुबै चरणका खेलमा लगातार व्यक्तिगत स्कोर गरेका हुन् । आफूभन्दा उच्च वरियताका श्रीलंकाली खेलाडी कालुआराचि अचिन्था सामेन विरुद्ध लिग चरणको खेलमा बराबरीको नतिजा निकालेका सिंगेश्वर सुपर लिगमा जित हासिल गर्न सफल भए ।



नेपालका लागि पहिलो बोर्डमा प्रतिष्पर्धा गरेका फिडेमास्टर रिजेन्द्र राजभण्डारी श्रीलंकाली ईन्टरनेशनल मास्टर डि सिल्भा एलएमएसटीसँग पराजित भए । दोस्रो बोर्डको खेलमा नेपाली फिडेमास्टर विलमलाल श्रेष्ठले श्रीलंकाली फिडेमास्टर रनिन्दु दिलसान लियानागेसँग हार व्यहोरे भने चौथो बोर्ड खेलमा राजेन्द्र बज्राचार्यले श्रीलंकाली लिसरा समाधिथ तेनाकुनसँग हार व्यहोरे ।  



मंगलबारबाट शुरु भएको सुपर लिगको पहिलो खेलमा बंगलादेशलाई २–२ को बराबरीमा रोक्न सफल श्रीलंका टोली दुई खेलबाट ३ अंक जोड्दै अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ । त्यसैगरी बंगलादेश १ अंकका साथ दोश्रो स्थानमा रहेको छ भने अंकविहिन नेपाल तेश्रो स्थानमा रहेको छ । सुपर लिगको तेश्रो खेलमा बिहिबार नेपालले बंगलादेशको सामना गर्नेछ ।

नेपाल र बंगलादेशको नतिजाले च्याम्पियनशीपको विजेता टुंगो लगाउनेछ । नेपाल र बंगलादेश बिचको खेल बराबरीमा टुंगीए श्रीलंका च्याम्पियन हुनेछ । तीन ग्राण्डमास्टर तथा दुई ईन्टरनेशनलमास्टर सम्मिलित आयोजक बंगलादेशले यसअघि लिग चरणको अन्तिम खेलमा नेपाललाई ४–० ले पराजित गरेको थियो । 

  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार ८:२:०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया