आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि उम्मेदवारी दिएकाहरू अहिले आ-आफ्नो निर्वाचन क्षेत्रमा भोट माग्न मा व्यस्त बन्न थालेका छन् । आउँदो निर्वाचनका लागि चिरपरिचित कलाकर्मी र सयौँ स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी मैदानमा छन् । कलाकर्मीहरुको पनि यो निर्वाचनमा बढ्दो रुचि देखिन्छ । चुनावमा जित हासिल गर्नको लागि उम्मेदवारहरू घरदैलो कार्यक्रम गरी रहेका छन् ।
नेपाली चलचित्र मार्फत महिला सशक्तीकरण, सचेतनामूलक सँगै माया प्रेमलगायतका सन्देश फैलाउने अभिनेत्री रेखा थापा अहिले पनि गाउँघरमै छिन् । कहिले महिलाहरूको बीचमा त कहिले बालबालिकासँगका तस्बिर रेखा बेलाबेलामा आफ्नो सामाजिक सञ्जालमा सेयर गर्छिन् ।
उनी जसो गरी चलचित्रमा देखिन्छिन् उसै गरी अहिले पनि गाउँघरमै देखिन्छिन् । तर अहिले पहिला जसो गरी दर्शकलाई समस्या देखाउन नभई समस्या बुझ्न र त्यसको समाधानको लागि लड्न लागिरहेको बताउँछिन् ।
आफ्नो जिन्दगीको लामो समय नेपाली सिनेमा क्षेत्रमा बिताएकी अभिनेत्री तथा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) की नेतृ रेखा थापाले मोरङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी मनोनयन दर्ता गराएपछि अहिले उनी आफ्नो निर्वाचन क्षेत्रको बस्ती - बस्तीमा पुगेर भोट मागिरहेकी छन् ।
‘हामी हरेक भित्र पिडा र वेदना हुन्छन् र तिनीहरूको निवारणको क्षमता पनि हामी भित्रै हुन्छ,’ मतदातासँग उनी भन्छिन्, ‘मलाई एक पटक काम गर्ने मौका दिनुस् । पार्टी भन्दा माथि मेरो क्षेत्र राखेर काम गरेर देखाउँछु । यो पल्ट मोरङलाई जिताऊ ।’
मोरङ ३ मा रेखासँगै नेकपा एमालेका भानुभक्त ढकाल, नेपाली कांग्रेसका सुनिल कुमार शर्मासहित अन्य दल र स्वतन्त्र गरी झन्डै तीन दर्जन उम्मेदवार चुनावमा भिड्दै छन् ।
‘ग्रेटर नेपाल’, ‘बधशाला’ जस्ता चर्चित चलचित्रका निर्देशक मनोज पण्डित पनि चुनावी मैदानमा छन् । मनोजले काभ्रे २ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
‘बदल्नु छ अब’, ‘बदलिन्छ तपाईको मतले’, भन्दै उनी घरदैलोमा छन् । उनी भन्छन्, ‘शब्दमा भोट भने तापनि वास्तवमा मैले माग्न खोजेको चाही अवसर हो । काम गर्ने अवसर । समाधान खोज्ने अवसर । परिवर्तन ल्याउने अवसर ।’
आफूले समस्या समाधानको निमित्त काम गरेर परिवर्तनको अवसर खोजी रहेको बताउने मनोजले भोट भनेको आम मानिसको सपना, चाहना, अधिकार र आत्मसम्मान पनि भएको बताउँछन् ।
‘मलाई यो तथ्यको अनुभूति छ कि भोट माग्नु भनेको वास्तवमा तपाइका सपना, चाहना, अधिकार र आत्मसम्मान माग्नु हो,’ उनले भनेका छन्, ‘जो अत्यन्त संवेदनशील कुरो हो । म तपाइलाई विश्वस्त गराउन चाहन्छु कि म यो संवेदनशील सम्पत्तिको सदैव सुरक्षा गर्नेछु, सम्मान गर्नेछु ।’
नेकपा एमालेका प्रभावशाली नेता गोकुल प्रसाद बास्कोटा, कांग्रेसका शिवप्रसाद हुमागाइँ लगायत गरेर १६ जना मनोजसँगै काभ्रे २ बाट प्रतिनिधिसभाका लागि चुनावी मैदानमा छन् ।
पहिलो कमेडी च्याम्पियन हिमेश पन्तका कमेडी दर्शकलाई मन पर्छन् । उनी व्याङ्य/ठट्टा गरेर मान्छेलाई हँसाइ हाल्छन् । तर अहिले भने उनी हाँस्ने र हँसाउने भन्दा जनताको समस्या बुझ्ने भनेर घरघरमा पुगिरहेका छन् ।
स्ट्यान्ड–अप कमेडी रियालिटी शो कमेडी च्याम्पियनको उपाधि जितेका हिमेश ‘ठूला कुरा गरिन्न, भनेको नगरी छाडिन्न’भन्दै भोट मागिरहेका छन् । तर कुनै उपाधि नभई हिमेशले संसद भित्र प्रवेश गर्नको लागि भोट मागिरहेका हुन् । उनले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् ।
भोट माग्न गाउँ गाउँ, घरघर पुग्ने नेताहरू जितिसके पछि नफर्किने बताउँदै आफूले जितेमा प्रत्येक महिनामा एक चोटी निर्वाचन क्षेत्रमा पुगेर समस्या र ती समस्या समाधानको लागि बहस गर्ने उनी सुनाउँछन् ।
हिमेश भन्छन्, ‘एउटा सांसदले त्यो ठाउँका मान्छेहरूको विचारको प्रतिनिधित्व गर्ने हो। त्यहाँको मुद्दालाई प्रतिनिधित्व गर्ने हो। त्यहाँका मानिसको विचार सुन्नका लागि एउटा अभियान चलाउँछु। महिनाको एउटा कार्यक्रम चलाउँछु। ‘सांसद मेरो साथी’ नामको कार्यक्रम मार्फत उहाँहरूका विचार, त्यो ठाउँका समस्या सुन्छु, खोज्छु। त्यो मुद्दा संसदमा उठाउन सक्छु। माथिल्लो निकायसम्म पुर्याउन सक्छु।’
एकीकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे, एमालेका भूमिप्रसाद त्रिपाठी लगायत १४ जना हिमेश सँगै धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् ।
गायिका तथा एमाले नेतृ कोमल वली यस पटक प्रत्यक्ष निर्वाचन तर्फ चुनावी मैदानमा छिन् । ‘हिजोको समय सञ्चार र गीतलाई, अबको समय जनताको हितलाई,’ भन्दै उनी दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दै छिन् ।
युवा पुस्ताले मन पराएको हास्य टेलिश्रृखंला हो ‘सक्किगोनि’। यो हास्य टेलिश्रृखंलाका एक मुख्य पात्र हुन् मधुसूदन पाठक अर्थात् ‘सीते बा’ । साप्ताहिक रूपमा दर्शकमाझ आउने उक्त टेलिशृंखलाका लागि व्यस्त हुने मधुसूदन अहिले भोट माग्नको लागी घरदैलोमा व्यस्त छन् ।
उनले काठमाडौं क्षेत्र–५ बाट उम्मेदवार दर्ता गराएका छन् । एमालेका इश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल लगायत विभिन्न पार्टी र स्वतन्त्र गरेर २९ जना यो क्षेत्रबाट चुनावी मैदानमा छन् ।
चुनाव नजिकिए सँगै प्रचारप्रसारलाई उम्मेदवारले तीव्रता दिएका छन् । प्रस्तुत कलाकारसँगै देशभरबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि अन्य दर्जनौँ कलाकर्मीहरूले पनि उम्मेदवारी दिएका छन् । सयौँ युवाहरू पनि यो पटकको निर्वाचनमा होमिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।