अस्ट्रेलियामा जारी टी–२० विश्वकपमा श्रीलंकाले लगातार दोस्रो जित हात पारेको छ । उसले आजसम्पन्न पहिलो चरणअन्तर्गत समूह‘ए’को आफ्नो अन्तिम खेलमा नेदरल्याण्ड्सलाई १६ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।
यो जितसँगै श्रीलंकाले सुपर १२ मा आफ्नो स्थान सुरक्षित गरेको छ । पराजित नेदरल्याण्ड्स सुपर १२ मा पुग्न युएई र नामिबियाको खेलमा भर पर्नुपर्ने हुन्छ । उक्त खेलमा युएई विजयी भए उसले सुपर १२ मा स्थान बनाउने छ भने नामिबियाले जिते बाहिरिने छ ।
१६३ रनको लक्ष्य पछ्याएको नेदरल्यण्ड्सले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १४६ रन बनायो । उसका लागि म्याक ओडोउडले अविजित रहँदै ५३ बलमा ६ चौका र ३ छक्कासहित ७१ रनको पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।
कप्तान स्कट एडवार्डसले २१, टिम कुपरले १६, बास डि लिडेले १४ रनको पारी खेले । श्रीलंकाका लागि वानिन्दु हसरंगाले ३,महेश तिक्सणाले २ तथा लाहिरु कुमारा र बिनुरा फर्नान्डाले १–१ विकेट लिँदा २ विकेट रन आउटका रुपमा प्राप्त भयो ।
त्यसअघि साइमन्ड्स स्टेडियममा टस जितेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रन बनाएको थियो ।
उसका लागि कुशल मेन्डिसले ४४ बलमा समान ५ चौका र छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए । चरिथ अस्लंकाले ३१,भानुका राजापाक्षेले १९ र पथुम निसन्काले १४ रन जोडे ।
नेदरल्याण्ड्सका लागि बास डि लिडे,पल भान मेक्रेनले २–२ तथा फ्रेड क्लासेन र टिम गुग्टेनले १–१ विकेट लिए । यो निताजासँगै ३ खेलमा ४ अंक जोडेका श्रीलंका शीर्ष स्थानमा उक्लिँदा पहिलो पराजय बेहोरेको नेदरल्याण्ड्स समान खेलबाट समान अंकका साथ दोस्रोमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।