प्रदीप पौडेलको संकल्प : विजयी भएमा राजधानी र राजनीति सफा गर्छु

काठमाडौं ५ का नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले आफ्ना मतदातासमक्ष भोट माग्दै राजधानी र राजनीति दुवै सफा गर्ने संकल्प गरेका छन् ।

बिहीबार काठमाडौं ५ का मतदातालाई अपिल जारी गर्दै उनले काठमाडौं ५ मा आफ्नो उम्मेदवारीले यस क्षेत्रको शिक्षा र स्वास्थ्यको हब, आइटीको विकाससहितको रोजगारी, पर्यटन र समग्र विकास साथै राष्टिय राजनीतिको नयाँ चित्र कोर्ने अवसर प्रदान गरेको उल्लेख गरेका छन् ।

‘काठमाडौंलाई विकास मात्र होइन, व्यवस्थित विकास आवश्यक छ । पर्यावरणीयमैत्री राजधानी हामी सबैको चाहना हो । यसैगरी, राजनीतिक निष्ठा र इमान्दारीमाथि उठेका प्रश्न र राजनीतिप्रति घट्दै गएको विश्वासले आमनिरासा छाएको छ । त्यसकारण मेरो संकल्प छ( म राजधानी सफा गर्छु, म राजनीति सफा गर्छु,’ उनले अपिलमा भनेका छन् ।

उनले आफूलाई प्राप्त भएको अवसर खेल नफाल्ने प्रतिबद्धता पनि जनाएका छन् । ‘परिवर्तनसहितको राजनीतिक संस्कार र संस्कृतिको स्थापित गर्छु भनेर विद्यार्थी राजनीतिबाट देशको सक्रिय राजनीतिमा होमिएको हुँ । मेरा नातागोता, पारिवारिक सदस्य र व्यापार व्यावसाय फस्टाउँछ भनेर राजनीतिमा हामफालेको होइन । राजनीतिक इमान र परिवर्तन सम्भव छ भन्ने बुझेर नै मैले सक्रिय राजनीतिक जीवन रोजेको हुँ ।

क्षेत्र नम्बर ५ का मतदाताहरुले खोजेको बेला भेटिने छोरो, भाइ, दाइ, साथी र जनप्रतिनिधिको रुपमा प्रदीप तपाईंहरुमाझ सँगै उभिनेछ । नेतृत्वले चाहने हो भने के–के सम्भव छ भन्ने कुरा म स्थापित गर्न चाहन्छु । आगामी पाँच वर्षको यो अवसरलाई म किमार्थ खेर जान दिने छैन,’ पौडेलले अपिलमा भनेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार १७:२६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया