काठमाडौंमा सार्वजनिक शौचालय : सम्भाव्यता २८४, तर छन् ५८ मात्र

काठमाडौं– ५८ वटा मात्रै सार्वजनिक शौचालय रहेको काठमाडौं महानगरभित्र २८४ शौचालय सञ्चालन गर्न सकिने देखिएको छ ।

काठमाडौं महानगरपालिकाले ५ माघमा गठन गरेको कार्यदलले महानगरमा २८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिने देखाएको हो । महानगरमा भएका शौचालयाको स्तरोन्नति गर्ने र केही थप शौचालय निर्माण गर्नुपर्ने सुझाबसहित समितिले प्रतिवेदन बुझाएको छ ।  

महानगरमा हाल सञ्चालनमा रहेका अधिकांश शौचालय पसलले घेरिएका छन् । साधारण मान्छेले शौचालय कहाँ छ, छुट्याउनै सक्दैनन् ।

कतिपय शौचालय पैसा उठाउने भाँडो मात्र बनेका छन् । त्यहाँ न सरसफाइ छ, न पानीको प्रबन्ध । न त बत्तिको व्यवस्था छ । यसरी चलेका शौचालयलाई व्यापारभन्दा सेवाका लागि रुपान्तरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

कहाँ–कहाँ बनाउन सकिन्छ शौचालय ?



प्रतिवेदनले पहिले भएका शौचालयलाई सुधार गर्ने, अनि मात्रै नयाँ शौचालय निर्माण गर्ने सुझाब दिएको छ । नयाँ शौचालय निर्माण गर्दा कर्मचारी सञ्चय कोष, खाद्य संस्थान, सांस्कृतिक संस्थान, गुठी संस्थान, त्रिभुवन विश्वविद्यालयजस्ता निकायसँग समन्वय गरी १२ वटा शौचालय थप्न सकिने देखिएको छ ।

आयल निगमले सञ्चालन गरेका पेट्रोल पम्पहरुमा ७२ वटा शौचालय थप्न सकिने प्रतिवेदनेले देखाएको छ । प्रतिवेदनअनुसार, महानगरभित्रका व्यावसायिक भवन (सपिङ कम्प्लेक्स र मल) मध्ये ६७ वटामा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिन्छ ।



टेकु चोक, सानेपा पुल, कालीमाटी, कलंकी, सीतापाइला, बालाजु, माछापोखरी, गोंगबु प्रहरी चौकी, महाराजगञ्ज, सुकेधारा, चावहिल, मित्रपार्क, जयवागेश्वरी पहिलो चरणमा काम गर्नुपर्ने स्थानका रुपमा सिफारिस भएका छन् । यीसँगै गौशाला, तीनकुने, कोटेश्वर, नयाँबानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, एनएसी, जुद्ध सालिक आसपास, हनुमानढोका, जमल, लैनचौर सोह्रखुट्टे, बल्खु, कुलेश्वरलगायत स्थानमा पनि सार्वजनिक शौचालय निर्माण गर्न सकिन्छ ।

नयाँ निर्माण कि पुरानाकै सुधार ?

प्रतिवेदन बुझ्दै महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले नयाँ शौचालय निर्माणभन्दा पहिले भएका शौचालयलाई सुधार्ने बताइन् । शौचालय वरिपरि भएका पसल हटाएर शौचालयलाई टाढैबाट देखिने बनाउने उनको योजना छ ।

प्रतिवेदन बुझाउँदै समितिका संयोजक एवं सार्वजनिक–निजी साझेदारी इकाइ प्रमुख ध्रुवकुमार काफ्लेले पनि पहिलो चरणमा भएका शौचालय सुधार्नुपर्ने बताए ।अहिले कतिपय शौचालयमा चुकुल नभएको, साबुनको व्यवस्था नभएको, अपांगमैत्री नभएको, प्रकाशको व्यवस्था नभएको, महिलालाई स्यानिटरी प्याड फेर्ने तथा फाल्ने ठाउँ नभएको भन्दै उनले यी आधारभूत सुविधा उपलब्ध गराइसकेपछि मात्रै नयाँ शौचालय निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।

शौचालयको अवस्था बुझ्न महानगर फिल्डमा 

महानगरभित्र सञ्चालनमा रहेका सार्वजनिक शौचालयको अवस्था बुझ्न आइतबार उपप्रमुख खड्गीको नेतृत्वमा समितिका सदस्यहरु (ईश्वरमान डंगोल र न्हुच्छेकाजी महर्जन) को टोली विज्ञसहित सहरका विभिन्न ठाउँमा पुग्यो ।

टोलीले अवलोकन गरेको पहिलो शौचालय वीर अस्पतालअगाडि आकासे पुलमुनिको थियो । 

त्यसपछि टोली बसपार्कभित्र, रत्नपार्क वरिपरि, विद्युत् प्राधिकरणअगाडि, भृकुटीमण्डप बाहिरपट्टिको शौचालय पुग्यो । यी शौचालय हेरिसकेपछि उनीहरुले विष्णुमती लिंकरोडअन्तर्गत परोपकार विद्यालय नजिकको शौचालय, पानी पोखरीस्थित खानेपानी विभागको परिसरमा रहेको निर्माणाधीन ई—ट्वाइलेट र नयाँबसपार्कभित्रका शौचालयमा नजर लगाए । 

अनुगमनका क्रममा शौचालय क्षेत्र व्यापारजन्य क्रियाकलापले छेकिएको र शौचालयमा न्यूनतम पूर्वाधार पनि नभएकोमा सबैको चासो रह्यो ।

वीर अस्पताल अगाडिको शौचालयमा भने महिलाका लागि स्यानिटरी प्याड फाल्ने बिन र शौचालयको हावा बाहिर फाल्ने फ्यान राखिएको पाइयो । भृकुटीमण्डप अगाडिको शौचालय सफा थियो, तर बाहिर भने व्यापारिक संरचनाले छोपिएको थियो । नयाँ बसपार्कभित्रका शौचालयको सफाइ ‘ग्रुप फोर’लाई जिम्मा लगाएको पाइयो । 

  • प्रकाशित मिति : माघ २१, २०७५ साेमबार १९:९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया