काठमाडौं प्रहरीले राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न आग्रह गरेको छ । विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले आफ्नो चिनजान भएको ठाउँमा मर्यादित एवं सभ्य तरिकाले राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न आग्रह गरेको हो ।
परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले तिहारमा अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरीलाई खबर गर्न पनि अनुरोध गरेका छन् । परिसरले आफ्नो टोल छरछिमेकमा जुवातास खेलेमा वा पटका पड्काए तत्काल प्रहरीलाई खबर गर्न पनि आग्रह गरेको छ ।
जाँडरक्सी खाएर गाडी नचलाउन, सार्वजनिक ठाउँमा जाँडरक्सी र चुरोट नखान, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्नसमेत प्रहरीले आग्रह गरेको छ ।
यस्तै, छतमा चढेर यात्रा नगर्न, सडकको दायाँबायाँ जथाभावी पार्किङ नगर्न, ट्राफिक नियमको पालना गर्न प्रहरीको अनुरोध छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।