नेपाली बजारमा सुनचाँदीको अभाव, दसैंपछि दैनिक ३५ किलोसम्म सुन कारोबार

विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको छ । तिज लागेसँगै दसैं, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरे पनि अभाव देखिएको हो । अहिले पनि बजारमा सुनचाँदीको माग उच्च रहेको छ । तर सुनचाँदी व्यवसायीहरूले ग्राहकहरूको माग अनुसार सुनका गरगहनाहरु दिन नसकेको व्यापारीहरू बताउँछन् । 

नेपाल सरकारले गत वैशाखदेखि दैनिक २५ किलोसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० किलोमा झारेकाले अहिले बजारमा सुनको अभाव देखिएको व्यवसायीहरूको गुनासो छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार चलायमान हुने समयमा बजारमा सुनचाँदीको अभाव भएकाले व्यवसायीहरू मारमा रहेको बताए ।  अध्यक्ष शाक्यले बजारमा सुनचाँदीका गरगहना बनाउने कच्चा पदार्थ अभाव रहेकाले ग्राहकहरूको माग अनुसार बजारमा सुनचाँदी दिन सक्ने अवस्था नभएको बताए । 

उनले गत ६ महिनादेखि सरकारले विदेशी मुद्रा सञ्चितिको कमी भएको भन्दै सुन आयातमा कटौती गर्दा व्यवसायीहरू मारमा परेको गुनासो गरे । अध्यक्ष शाक्यले तिहारको विशेष गरेर धनतेरसको दिन ५० केजीसम्म सुनका गहनाहरू बिक्री हुने बताउँदै दसैंपछि दैनिक ३० देखि ३५ किलोको हाराहारीमा सुनको कारोबार भइरहेको बताए । उनले धनतेरसको दिन ४० देखि ५० किलोसम्म सुनको कारोबार हुने विश्वास रहेको बताए  । शाक्यले सुनको आपूर्ति गर्नमा समस्या भएका कारण यसको आपूर्ति बढाउन सरकारसँग माग राखेपनि चासो नदिएको गुनासो गर्दै सरकारले तत्काल सुनचाँदी आयातमा गरिएको कोटा कटौती नबढाए बजारमा विकृति बढ्ने बताए ।

‘चाडपर्वहरू एकपछि अर्को आएता पनि सुनचाँदीको कारोबार बढ्ने समयमा व्यवसायीहरू मारमा रहेका छन् । सुनचाँदीका गरगहना बनाउने कच्चा पदार्थको अभाव भइरहेको छ । सरकारले विदेशी मुद्रा सञ्चिति कम भएको भन्दै गत वैशाखदेखि सुन आयातमा कटौती गरेको छ । पहिला २० देखि २५ केजी सुन आयात भइरहेको थियो । अहिले १० केजी सुन मात्रै आयात भइरहेको छ । तिजपछि सुनचाँदी बजारमा चहलपहल बढ्ने गर्छ,’ उनले भने, ‘विभिन्न धार्मिक परम्परागत अनुसार नेपालमा सुनचाँदीको ठूलो महत्व रहेको छ । तिहारमा नेपालीहरूको आफ्नो गक्ष अनुसार सुन चाँदीका गहना र धातुका भाँडाहरु किन्ने गर्छन् । अहिले मुलुक भर दैनिक ३५ केजी सुनको माग रहेको छ । तर दैनिक १० किलो मात्रै आयात भइरहेको छ । चाडपर्वमा ग्राहकहरूको मागलाई पूर्ति गर्नको लागि बजारमा सुनको अभाव भएर व्यवसायीहरू मारमा परेका छन् । सरकारले तत्कालै सुन आयातको कोटा बनाउन सकेन भने बजारमा सुनको तस्करी बढ्ने,बजारलाई विकृतितिर लैजाने देखिन्छ ।’ 

अध्यक्ष शाक्ले धार्मिक परम्परागत रूपमा मानिसहरूले आफूलाई धनको कमी नहोस् भनेर तिहारको पहिलो दिन धनतेरसको दिन सुनचाँदीका गरगहना राखेर लक्ष्मीको पूजा गर्ने प्रचलन रहेको बताए । उनले भने,‘ नेपालीहरूको दोस्रो महान् पर्व तिहारको यमपञ्चकको दिनदेखि पाँच दिनसम्म श्रद्धाका साथ धनको पूजा गरिन्छ । पूजा गर्ने क्रममा घरमा भएका धनका विभिन्न साधनहरूलाई पूजा गर्ने चलन रहेको छ । सबैको चाहन जीवन समृद्ध होस् । धनको कमी नहोस् । त्यसैको प्रतीक स्वरूपमा लक्ष्मी पूजाको दिन लक्ष्मीको पूजा गरिन्छ । यो नेपालीहरूको धार्मिक परम्परागत रूपमा हजारौँ वर्षदेखि चल्दै आएको प्रचलन हो ।’ 

 उनले धार्मिक आस्था अनुसार मानिसहरूको धनको रूपमा सुन,चाँदीका विभिन्न सामग्रीहरूको बिक्री गर्ने र विशेष गरेर धनतेरसको दिन किन्दा वर्षभर नै धनको कमी नहुने र घरमा लक्ष्मीको वास स्थिर हुने विश्वास रहेको बताए । उनले धनधान्यकी देवी लक्ष्मी मातालाई सेतो धातु मन पर्ने भएकाले विशेष गरेर यो दिन धनतेरसको दिन सुनभन्दा चाँदीमा बढी बिक्री हुने बताए । उनले अहिले दैनिक २ सयदेखि ३ सय किलोसम्म चाँदीको कारोबार भइरहेको बताउँदै १ हजार किलोसम्म कारोबार हुने बताए । उनले यस वर्ष विगतको तुलनामा कारोबार भने कम हुने बताउनु भयो । 



सुनचाँदीको कारोबार तिहारको पहिलो दिन धनतेरसमा सबैभन्दा बढी कारोबार हुने गरेको छ । सुनचाँदीको सामान १० दिन अगाडि अर्डर गर्ने र धनतेरशको दिन किन्ने गर्दछन् । धनतेरसको दिन अन्य वर्षभर हुने जस्तो भन्दा धेरै सुनचाँदीको कारोबार हुन्छ । सुनचाँदीको गरगहना किन्ने मानिसहरूको सुन पसलहरूमा भीड लाग्ने गर्छ । व्यापार पनि धनतेरसको दिन नै सबैभन्दा बढी हुन्छ । पछिल्लो समय नेपाली बजारमा तरलता अभाव भएको भन्दै नेपालीहरूसँग नगद अभाव भएको भनिए पनि बजारमा लाखौंको कारोबार भने भइरहेको छ । 



  • प्रकाशित मिति : कात्तिक ५, २०७९ शनिबार १२:२०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया