बजारमा बढ्यो तिहारको चहलपहल

नेपालीहरुको महान चाड शुभ दीपावली सुरु भएसँगै काठमाडौंलगायत देशभरका बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ । तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरुको भीड देखिएको हो । 

काठमाडौंको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटीलगायतका क्षेत्रमा सर्वासाधारणको चाप उल्लेख्य छ । काठमाडौंका भित्री सहरका गल्लीमा समेत खाने मसलाका आकर्षक प्याकेटहरु सजाइएको छ । 

मखमली र सयपत्री फूलले राजधानीको बजार ढाकिएको देख्न सकिन्छ । बजार घुम्न जानेलाई समेत तिहारको रमझमले आकर्षित बनाएको देखिन्छ । तिहारमा प्रयोग हुने सामानमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, प्लास्टिकका माला, सप्तरंगी टीकालगायत सामग्रीहरु यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् । 

विशेष गरी तिहारमा चाहिने सामान किनमेल गर्न मानिसहरु असन, भोटाहिटी, इन्द्रचोक, न्युरोडलगायतका ठाउँमा आउने भएकाले पनि त्यस क्षेत्रमा बढी भीड भएको हो । लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरंगी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्रीहरु किनमेल गर्नेको चहलपहल बजारमा जताततै देख्न सकिन्छ ।
 
त्यस्तै, भाइटीकाका लागि चाहिने सगुनहरुको पनि किनमेल बढेको छ । यी क्षेत्रलगायत उपत्यकाका अन्य क्षेत्र र देशभरका बजारहरुमा पनि तिहारमा चाहिने सामान किन्नेहरुको चहलपहल सुरु भएको पाइन्छ । 

आजबाट विधिवत् रुपमा यमपञ्चक सुरु भएको छ । आज धनतेरस पर्व पनि मनाइँदै छ । सुन, चाँदीका सामग्रीहरुको पूजा गरेर धनतेरस मनाइने गरिन्छ ।
 
आज बेलुका यमदीपदान सुरु गर्ने र भोलिबाट क्रमशः काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोरु तिहार र भाइटीका मनाउने गरिन्छ ।  





  • प्रकाशित मिति : कात्तिक ५, २०७९ शनिबार १७:५९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया