पोखराका व्यवसायी आन्दोलित, राष्ट्र बैंक घेर्ने चेतावनी

बैंक तथा वित्तीय संस्थाले अस्वाभाविक रूपमा ब्याजदर बढाएपछि पोखराका व्यवसायी आन्दोलित भएका छन् । होटल संघ पोखराले एकतर्फी रूपमा बढाएको ब्याजदर तत्कालै नघटाए राष्ट्र बैंक र अर्थ मन्त्रालय घेराउ गर्ने चेतावनी दिएको छ ।

संघ अन्तर्गतका व्यवसायी भेला भएर बैंक तथा वित्तीय संस्थाविरुद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् । संघका अध्यक्ष लक्ष्मण सुवेदीले तिहारसम्म कुर्ने र ब्याजदर नघटाए आन्दोलन सुरु हुने बताए ।

 ‘तिहारसम्म हेर्छौं । नभए राष्ट्र बैंक र अर्थमन्त्रालय घेर्ने निर्णय भएको छ,’ उनले भने, ‘७ प्रतिशतमा लिएको ब्याज अहिले १८ प्रतिशत पुग्यो । हामीले कसरी तिर्ने यत्रो ब्याज ?’ कोरोनाले थलिएको व्यवसायमा चर्को ब्याजदरले झनै आक्रान्त पारेको उनको भनाइ छ । 

होटल संघ मात्रै होइन, पोखराका उद्योगी व्यवसायीको छाता संस्था पोखरा उद्योग वाणिज्य संघ पनि बैंकविरुद्ध खनिएको छ । संघले बैठक नै बसेर आन्दोलनका कार्यक्रम तय गरेको छ । संघले ब्याजदर १ अंकमा झार्न माग राखेको छ । उद्योग व्यवसाय कोभिडका कारण थलिएको र अहिले बैंक तथा वित्तिय संस्थाले ब्याजदर बढाएपछि झनै आक्रान्त हुने अवस्था आएको संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बताए ।

‘बैंकहरुले ब्याजदर अस्वभाविक रुपमा बढाए । सबै बाँच्नुपर्छ । तर, यो त अति भएन र ?,’ उनी भन्छन्, ‘आइतबार सरोकारवालाको बैठक राखेका छौं । बैठकले जे निर्णय गर्छ त्यही कार्यान्वयन हुन्छ ।’ 

उनले आन्दोलन गर्नुको विकल्प नभएको बताए । व्यवसायीले आरोप लगाएजस्तो बैंकले ब्याजदर नबढाएको बैंकहरुको भनाइ छ । अहिले डिपोजिटमा पनि दर वृद्धि भएको छ । त्यति मात्रै होइन, बजारमा मुद्रा तरलता नभएका कारण लगानी गर्ने पैसा नभएको उनीहरुले बताए ।



बैंकले आफूखुसी ब्याजदर बढाए पनि नियामक निकाय राष्ट्र बैंक चुप छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज ७ प्रतिशतबाट १५ प्रतिशत हुँदै अहिले १८ प्रतिशतसम्म पुगेको छ । 

वित्तीय संस्थाले ४० प्रतिशत सम्म लाभांश बाँड्दा घाटामा रहेको व्यावसायिक क्षेत्रलाई भने तर्साउने नियतका साथ काम गरिरहेको व्यवसायीको आरोप छ । अहिले यहाँका अधिकांश बैंकको लगानी अनुत्पादक क्षेत्रमा छ ।



  • प्रकाशित मिति : कात्तिक ५, २०७९ शनिबार १९:१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया