रत्नपार्कमा ‘काग सम्मेलन’ गर्दै कलाकार रमेश दुलालले भने - कागले संसद भवन घेर्ने सोच छ
फाइल तस्बिर

काठमाडौंको रत्नपार्कस्थित शान्ति वाटिकामा १९ औँ ‘काग सम्मेलन’ गरिएको छ । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नपार्कस्थित शान्ति वाटिकामा आज बिहान काग बोलाएर १९ औँ काग सम्मेलन गरिएको हो । 

सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए । दुलालले कागको स्वर निकालेर बोलाएपछि कागहरू उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए । दुलालले विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् । 

काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले यस वर्षको काग सम्मेलनको सन्देश ६० कटेका वृद्ध नेताहरूको बिदाइ र युवाहरूलाई अवसर भन्ने रहेको बताए । 

उनले आगामी वर्ष काग सम्मेलन गरेको २० वर्ष पुग्ने र सो अवसरमा टुँडिखेल वा नारायणहिटीमा ठूलो कार्यक्रम गर्ने बताए । उनले केही समयपछि काग सम्मेलन गरी सिंहदरबार र संसद भवन अवरोध गर्ने सोच रहेकोसमेत बताए । उनले भने, ‘यसपालि बुढापाका नेताहरूलाई घरमै आराम गर्ने सन्देश दिन्छु । युवाहरूको जोस, जाँगरमा ध्यान दिनुपर्छ भन्ने सन्देश । २० वर्षमा ठूलो कार्यक्रम गर्ने सोच बनाएको छु । संसद भवन कागले अवरोध गर्ने भन्ने सोच बनाइरहेको छु । सिंहदरबार पनि घेर्ने सोच छ । अब केही समयपछि संसद भवन घेराउन गर्नुपर्छ ।’

रमेश दुलाल / कलाकार

यमपञ्चक (तिहारको पाँच दिन) मा क्रमशः काग, कुकुर, गाई, गोरु र आफ्ना दाजुभाइको पूजा गरिन्छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरी पाँच दिन मनाइन्छ । यसको सुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ । हिन्दु धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरूको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण पृथ्वी लोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ । 



आकाशबाट उडेर छिटो सन्देश ल्याउन लैजान सक्ने भएकाले यमराजले कागलाई आफ्नो दूत बनाएको धार्मिक विश्वास रहेको छ । त्यसैले काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभर आफ्नो घरमा दुःखद सन्देश ल्याउँदैन भन्ने विश्वास रहेको छ । यस्तै काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । 

त्यसैले कागतिहारमा कागलाई घर आँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । यस दिनमा बिहानैदेखि कागको पूजा गरिन्छ, घरबाहिर पात या दुना, टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ । कागको पूजाआजा गर्दै आउँदो वर्षभर कागले आफ्नो घर आँगनमा राम्रो र सुखद खबर मात्रै ल्याओस् भनेर कामना गरिन्छ । 



  • प्रकाशित मिति : कात्तिक ६, २०७९ आइतबार ९:२०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया