बाबुराम भट्टराई भन्छन् - गठबन्धनको मुख्य एजेण्डा भ्रष्टाचार अन्त्य, युवालाई स्वरोजगार
फाइल तस्बिर

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गठबन्धनको आगामी कार्यक्रम सरकारी संस्थाहरूलाई बलियो बनाइ देशमा सुशासन प्रदान गर्नु रहेको बताएका छन् । सोमबार गठबन्धनले आयोजना गरेको बागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

उनले गठबन्धनको मुख्य एजेण्डा भनेको भ्रष्टाचार अन्त्य गर्नु, युवाहरूलाई स्वरोजगार प्रदान गर्नु रहेको बताए । उनले गठबन्धनले देशमा छिटो विकास र समृद्धिको चाहनालाई पूरा गर्ने प्रतिवद्धतासमेत जनाए । अध्यक्ष भट्टराईले नेपालको सन्दर्भमा नेपालले आफ्नै मौलिक विकासलाई प्राथमिकता दिनुपर्ने भन्दै बजार र राज्यको सन्तुलित भूमिका भएको मिश्रित प्रकारको विकासको मोडेल आवश्यक रहेको बताए ।

‘हाम्रो प्रतिबद्धता भनेको संस्थाहरूलाई बलियो बनाएर देशमा सुशासन प्रदान गर्ने हो । भ्रष्टाचार अन्त्य गर्ने हो । सबैभन्दा ठूलो कुरा अहिलेका युवाहरूमा बेरोजगारी छ, विदेश पलायनका जुन समस्या छन्, छिटो विकास र समृद्धिको जुन हाम्रो चाहना छ,’ उनले भने, ‘त्यसको निम्ति पनि गठबन्धन दलको बीचमा विकासको नीति सम्बन्धी मोटामोटी समझदारी भएन भने काम गर्न सकिँदैन । त्यसैले यो गठबन्धनले नेपालको सन्दर्भमा हामीले आफ्नै मौलिक विकासको मोडेल विकास गर्नुपर्छ ।’

उनले वैचारिक, भूराजनीतिक, आर्थिक ढंगले समानता कायम गरेर यो गठबन्धन बनाएको पनि दाबी गरे । उनले अहिलेको गठबन्धनलाई कतिपयले अपवित्र गठबन्धन भन्ने गरेको भन्दै अहिलेको गठबन्धन नै सबैभन्दा पवित्र गठबन्धन भएको बताए । 

‘बजार र राज्यको सन्तुलित भूमिका भएको मिश्रित प्रकारको विकासको मोडेल हाम्रो देशको आवश्यकता हो । वैचारिक, भूराजनीतिक, आर्थिक ढंगले समानता कायम गरेर यो गठबन्धन बनाएका छौँ,’ भट्टराईले भने, ‘कतिपयले भन्ने गर्छन्, यो अपवित्र गठबन्धन भनेर तर यो सबैभन्दा पवित्र गठबन्धन हो । विचार विहीन ढंगले राजावादी, पृथकतावादी, आफूलाई वामपन्थी भनेर चर उग्रवादको नारा दिएर राष्ट्रिय समाजवादको थासीवादीको प्रवर्द्धन गर्ने शक्तिहरू त्यो गठबन्धन अपवित्र गठबन्धन हो ।’

अध्यक्ष भट्टराईले विगतका तीता मीठा कुरा बिर्सिएर आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आवश्यक भएको बताए । उनले देशको विकासका लागि भविष्यमुखी बनेर काम गर्न आवश्यक रहेको जिकिर गर्दै लोकतन्त्र भनेको भद्रगोल हुँदै, अस्तव्यस्त हुँदै अघि बढ्ने प्रक्रिया रहेको बताए ।





  • प्रकाशित मिति : कात्तिक ७, २०७९ साेमबार १६:२१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया