नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले यसअघि २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा जम्मा पाँच मतले पराजय भोग्नुप¥यो । त्यसको बदला लिन उनी तनहुँबाट यसपटक प्रतिनिधि सभामा ‘इन्ट्री’ गर्न चाहन्थे । नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट उनलाई उम्मेदवार बनाएर प्रतिनिधि सभामा धमाकेदार प्रवेश गर्ने उनको चाहनालाई बलियो बनाएको छ । पछिल्लो समय चुनावी घरदैलोमा आक्रामक रुपमा लागिरहेका पौडेलले काठमाडौं ५ मा आफ्नो जित सुनिश्चित भएकोसमेत अनुमान गरिसकेका छन् ।
उनीसँग यो क्षेत्रमा प्रतिस्पर्धामा छन्, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल । त्यस्तै, स्वतन्त्रबाट यो क्षेत्रमा उम्मेदवारी दिएकी रन्जु दर्शनाको पनि चर्चा बढ्दो छ ।
काठमाडौं–५ नेपालकै राजधानी काठमाडौं र काठमाडौंको पनि विशेष क्षेत्र भएको भन्दै पौडेलले ‘बिसिडी’ अर्थात् ‘स्टप ब्रेन ड्रेन, फाइट एगेन्स्ट करप्सन र सस्टेनेबल डेभलेपमेन्ट’को मोेडल पनि सार्वजनिक गरिसकेका छन् ।
केही दिन यता जति आक्रामक रुपमा पौडेल घरदैलो अभियानमा जुटिरहेका छन्, नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले पनि यो क्षेत्रमा आफ्नो सक्रियता बढाएका छन् । २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा पोखरेलले यही क्षेत्रबाट नेपाली कांग्रेसका डा. प्रकाशशरण महतलाई १० हजारभन्दा बढी मतले पराजित गरेका थिए । उनी अहिले पनि आफ्नो लिगेसी कायम भएको र त्यसैको आधारमा आफूले यो क्षेत्रमा जित निकाल्नेमा ढुक्क छन् ।
यो क्षेत्रका सबै प्रतिस्पर्धी तथा उम्मेदवारहरुले आफूहरुलाई सहज हुने अनुमान लगाइरहे पनि पछिल्लो समय कांग्रेसका पौडेललाई यो क्षेत्रमा थप सहज हुने अनुमान बढ्न थालेका छन् । आउनुस्, यसका तीन कारणबारे चर्चा गरौँः
सबैभन्दा महत्वपूर्ण के भने यो क्षेत्रका लागि मात्र नभएर नेपालको प्रतिनिधि सभाका लागि पौडेल नयाँ अनुहार हुन् । स्पष्ट विचार भएका कारण पछिल्लो समय नेपाली कांग्रेसमा मात्र नभएर नेपाली राजनीतिक वृत्तमा पौडेललाई रुचाउनेको संख्या बढ्दो छ । तिनै पौडेलले कुनै समय नरहरि आचार्यले जितेको काठमाडौं ५ को नेतृत्व सम्हाल्ने तयारी सुरु गरेका छन् । विचारमा आचार्यसँग निकट देखिने पौडेल अहिलेका मतदाताले चाहेका युवा अनुहार पनि हुन् । त्यस्तै, आम बौद्धिक वृत्तमा पौडेल भिजनसहितका नेता भएको टिप्पणी सुन्न सकिन्छ । यसले गर्दा उनलाई चुनावी प्रतिस्पर्धामा सहज हुने अनुमान गरिएको छ । काठमाडौं ५ मा उनका प्रतिस्पर्धी पोखरेल बारम्बार संसद पुगेका उम्मेदवार हुन् । पोखरेल बारम्बार सांसद भएर पनि उल्लेख्य केही गर्न नसकेको आरोप यही क्षेत्रका मतदाताले समेत लगाउन थालेका छन् ।
काठमाडौं ५ बाट निर्वाचित भएर २०७४ सालमा सांसद बनेका ईश्वर पोखरेलसँग यो क्षेत्रका मतदाताको निकै ठूलो असन्तुष्टि देखिन्छ । यसका लागि एउटा प्रसंग लिऔँ– गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार केशव स्थापितका लागि मत माग्न पोखरेल घरदैलो अभियानमा पुगेका थिए । तर, मतदाताले उनलाई त्यो अभियानमा रुचाएनन् ।
‘हामी सँगै एउटा भोट माग्न घरदैलो गरेका थियौँ,’ त्यति बेला स्थापितसँग मत माग्न काठमाडौं महानगरपालिकाका विभिन्न वडामा पुगेका एक एमाले कार्यकर्ता भन्छन्, ‘एक दिन पोखरेल कमरेड पनि हामीसँग जोडिनु भएको थियो । तर, हामीलाई अचम्म के लाग्यो भने त्यहाँका मतदाताले उहाँलाई रुचाएनन् । मतदाताको नमिठो प्रतिक्रिया पाएपछि पोखरेलले त्यो दिन घरदैलो बीचमा नै छाडेर फर्किनु परेको थियो ।’ एकातिर पोखरेलसँग आम मतदाता सन्तुष्ट देखिँदैनन् भने अर्कोतिर नेकपा एमालेकै एउटा पंक्ति उनीसँग खुस छैन । मतदाता र पार्टी कार्यकर्तालाई नै रिजाउनु पर्ने चपेटामा छन्, पोखरेल । उनी कमजोर हुनु स्वभाविक रुपमा नेपाली कांग्रेसका उम्मेदवार पौडेललाई सहज हुने अवस्थाका रुपमा चित्रण गर्न सकिन्छ ।
४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि टिकट वितरणमा नेपाली कांग्रेसका दुई समूहबीच केही असमझदारी देखिएको थियो । कतिपय ठाउँमा सत्तारुढ गठबन्धनका दलहरुबीच पनि तालमेलको सम्भावना कम देखिएको थियो । तर, काठमाडौं ५ मा जसै प्रदीप पौडेललाई उम्मेदवार बनाउने चर्चा चल्यो, यसले कांग्रेसमा स्वागत पाएको थियो ।
सो क्षेत्रमा पौडेल उम्मेदवार बन्ने निश्चित भए पछि कांग्रेसमा पनि एकजुट देखिएको पौडेलका चुनावी अभियानका एक सहयोगी बताउँछन् ।
‘अरु उम्मेदवार भएको भए के हुन्थ्यो थाहा छैन,’ पौडेलका ती सहयोगीले भने, ‘तर, पौडेलको पक्षमा पार्टी र गठबन्धन नै एक ढिक्का भएको छ, यसले चुनावी अभियान र चुनावमा जित निकाल्न सहज हुने देखिएको हामीले निष्कर्ष निकालेका छौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।