एजेन्सी– भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई आम निर्वाचन गराउन अन्तर्राष्ट्रिय दवाब बढ्दै गइरहेको छ ।
फ्रान्स जर्मनी र स्पेनसहित युरोपियन युनियनका करिब १६ देश, अमेरिका र बेलायत जुआन गुइदोको समर्थनमा छन् । यी देशले उनलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन् ।
राष्ट्रपति मदुरोले राजनीतिक संकटले देशमा गृहयुद्ध हुन सक्ने भनेर दिएको चेतावनी मदुरोको ‘कल्पना’ भएको भन्दै गुइदोले अस्वीकार गरेका छन् ।
मदुरोले गुइदोलाई जनतामा डर र त्रासको अवस्था सिर्जना गरेको आरोप लगाएका थिए ।
उता, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले मदुरोलाई तानाशाहीको आरोप लगाएका छन् । जस्टिनले मदुरो सरकारले जनताको शान्तिपूर्ण प्रदर्शनमा अत्यधिक बल प्रयोग गरिरहेको बताए ।
करिब एक दशकदेखि भेनेजुएला भयानक आर्थिक संकटबाट गुज्रिरहेको छ । यहाँ औषधि, खानेकुराको अभाव छ । महंगी अत्यधिक छ । भेनेजुएलामा हरेक १९ दिनमा सामानको मूल्य बढेर दोब्बर भइरहेको छ । संयुक्त राष्ट्र संघका अनुसार २०१४ देखि अहिलेसम्म ३० लाख मानिस देश छोडेर गइसकेका छन् ।
भेनेजुएलाका जनता यही मुद्दालाई लिएर लामो समयदेखि प्रदर्शन गरिरहेका छन् । सरकारलाई प्रदर्शनकारी नियन्त्रण गर्न अनावश्यक बल प्रयोग गरेको आरोप लागिरहेको छ ।
हालै देशमा भएको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आरोप लगाएर नेशनल एसेम्बली प्रमुख एवं विपक्षी नेता जुआन गुइदोले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए ।
मदुरो सरकारको पक्षधर रुसले भेनेजुएलामा विदेशी हस्तक्षेपको निन्दा गरेको छ । रुसले निर्वाचित सत्तालाई वैध बनाउन प्रयास गरिरहेको छ ।
गुइदो समर्थित युरोपेली देशहरुले भेनेजुएलालाई अहिले तत्काल आर्थिक समस्या संकटबाट बचाउन खानेकुरा, औषधि आदि दिएर सहयोग गर्ने बताएका छन् । उनीहरुले भेनेजुएलालाई करोडौंको सहयोग गर्ने बताएका छन् ।
कोलम्बियाको सीमाबाट ल्याइने यी सामानहरु जनतासम्म पुर्याउन गुइदोले सेनालाई आग्रह गरेका छन् । तर भेनेजुएलाका सेना अहिलेसम्म राष्ट्रपति निकोलस मदुरोको समर्थनमा छन् ।
मदुरोले युरोपियन युनियनका देशको आर्थिक सहयोग अस्वीकार गर्दै भेनेजुएलाका जनता भिखारी नभएको प्रतिक्रिया दिएका छन् ।
भेनेजुएला मानवीय सहयोगको झुटो आश्वासनमा मख्ख नपर्ने भन्दै उनले भनेका छन् ‘भेनेजुएलाले उत्पादन बढाउने छ र अर्थव्यवस्था मजबुत बनाउने छ । हामी भिखारी होइनौं ।’
राष्ट्रपति निकोलस मदुरोले विदेशी सैनिकको हस्तक्षेप अस्वीकार गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक खुल्ला चिठी लेख्ने बताएका छन् र जसका लागि जनताको हस्ताक्षर संकलन गर्ने काम गरिरहेका छन् ।
निकोलस मदुरोले भेनेजुएलाका जनतासँग शान्ति यात्रामा सहभागी हुन अनुरोध गरेका छन् ।
भेनेजुएला संकटको विषयमा इटलीका सत्ताधारी गठबन्धनको विचार बाझिएको छ । लिग पार्टी जुआन गुइदोको समर्थनमा छ भने उसको सहयोगी फाइभ स्टार मुभमेन्ट यसको विरुद्धमा छ । फाइभ स्टार मुभमेन्टले अर्को देशलाई हस्तक्षेप गर्नु इयुको काम नभएको प्रतिक्रिया दिएको छ ।
फाइभ स्टारका एक सांसदका अनुसार युरोपले अमेरिकाको आदेश मान्न छोड्नु पर्ने बताएका छन् ।
इटालीका राष्ट्रपति सर्गियो मातरेलाले दुई पार्टिलाई जुआन गुइदोको समर्थनमा आउन अनुरोध गरेका छन् । उनले भनेका छन् ‘भेनेजुएला र इटलीको सम्बन्ध निकै राम्रो छ । इटलीका कतिपय मानिस भेनेजुएला र भेनेजुएलाका मानिस कतिपय इटालीमा रहेका छन् । युरोपियन युनियनको साथमा एकमत हुनु हाम्रो जिम्मेवारी हो । जनताको चाहना, लोकतन्त्र र सेनाको लडाइँ तथा जनताको पीडामा कुनै एक रोज्न हामीले संकोच मान्नु हुन्न ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।